कोरोना कहर :बेखर्ची भए महिला उद्यमी !

कोरोना कहर :बेखर्ची भए महिला उद्यमी !

विराटनगर । मोरङ बुढीगंगा गाउँपालिका–३ को चम्पा शुज–सेन्टर लकडाउन सुरु भएसँगै प्रायः बन्द छ । आठ वर्ष अगाडी पाँच हजार रुपैँया बीउ पूँजीबाट सुरु भएको उद्योगमा अहिलेको लगानी दश लाख रुपैँया पुगेको छ । तर, चालु सिजनमा लकडाउनको प्रभाव परेपछि उद्योगका उत्पादनले बजार पाउन नसक्दा बन्द गर्नुपर्ने बाध्यतामा पुगेको हो ।

 

घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरेर महिला उद्यमी चम्पा नेपालले स्वरोजगारमूलक उद्योग सञ्चालन गर्दै आउनु भएको छ । उद्योगका उत्पादन गुणस्तरीय र आकर्षक भएकोले उपभोक्ताको अभाव झेल्नु पर्ने बाध्यता यस अगाडीसम्म थिएन । दश जना महिला दिदीबहिनीलाई रोजगारीमा समेत जोड्दै आफैं स्वरोजगार बन्नु भएकी नेपाल अहिले आफैं बेखर्ची बनेको बताउनुहुन्छ ।

उद्योग संगठन मोरङ महिला उद्यमी समिति सदस्य समेत रहनु भएकी नेपालका अनुसार लकडाउनका कारण झण्डै पाँचलाख रुपिँयाको उत्पादित सामान भण्डारण छ । तर, बजारको माग घटेका कारण तयारी सामाग्री त्यसै थन्किएका छन् ।


चम्पा सु–सेन्टरबाट उत्पादन भएका जुत्ता–चप्पल अस्टे«लिया पठाउने गरिएको थियो । आफन्तमार्फत त्यहाँ बिक्री गर्नका लागि अल्लो र ढाकाबाट बनेका सामाग्रीको बढी माग रहेको महिला उद्योगी नेपालको भनाई छ । तर, यस पटक माग भएपनि पठाउन समस्या भएको छ ।
विराटनगर–२ सोमबारे हाटमा खाद्य र हस्तकला उद्योग सञ्चालन गर्दै आउनु भएकी महिला उद्यमी लिला रिजालका पनि पीडा उस्तै छन् । शुभ लक्ष्मी खाद्य प्रशोधन उद्योगले उत्पादन गरेर बजारमा पठाउने तितौरा, मस्यौरा र आलुचिप्स र गुन्द्रुकका लागि आवश्यक कच्चा अभावसँगै कामदार परिचालनमा समस्या बेहोर्नु परेको छ । दुवै उद्योगमा झण्डै बीसलाख रुपिँया लगानी गर्नु भएकी रिजालले स्वास्थ्य सुरक्षासँगै सामान अभाव हुँदा रोजगार दिईरहनु भएका कामदार बिदा गरेको जानकारी दिनुभयो ।

खाद्य उद्योगमा धेरै स्वास्थ्य सुरक्षालाई ख्याल गर्नुपर्ने हुन्छ, महिला उद्यमी रिजालले भन्नुभयो–कच्चा पनि सहजै पाउँदैन, उत्पादित बस्तुको माग पनि छैन । उद्योग संगठन मोरङ महिला उद्यमी समिति सह–संयोजक रिजालले हस्तकलाका सामान पछिल्लो चार महिनायता माग नभएको दावी गर्नुभयो । उहाँले स्वरोजगार बनेका महिला उद्यमीहरु बेरोजगारीसँगै आर्थिक अभाव झेल्न बाध्य हुनु परेको गुनासो गर्नुभयो ।

साना तथा घरेलु उद्योगमध्ये ४० प्रतिशतमा महिला आफैं सञ्चालक र स्वरोजगार बन्दै आएका छन् । साना लगानीका यस्ता उद्योगहरुमा महिलाले नै रोजगारी पाउने गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ अन्तर्गत महिला सभापति सरु केसीका अनुसार लकडाउनका कारण महिला उद्यमीको लगानी जोखिममा परेको छ ।

मझौला र ठूला उद्योगमा लगानी गर्नसक्ने हैसियत नराख्ने महिला उद्यमीहरुले सञ्चालन गरेका साना उद्योगका उत्पादन बिक्री नहुँदाका गुनासाहरु सम्बोधन गर्न दिर्घकालिन योजना नै आवश्यक रहेको सभापति केसीको भनाई छ । उहाँका अनुसार राज्यले के–के सुविधा दिईरहेको छ भन्नेदेखि राज्यका निकायमा पहुँच नहुँदाको पीडा लकडाउनमा झन् धेरै खेप्नु परेको छ ।

कोरोना संक्रमण नियन्त्रणको उपाय लकडाउन नै अन्तिम सोच्ने मान्यतालाई तोडेर अगाडी नबढे साना मात्रै नभई ठूला उद्योगका समेत अवस्था नाजुक हुने उद्योग संगठन मोरङ महिला उद्यमी समिति संयोजक सन्तोष जैन बताउनुहुन्छ । साना लगानीमा सञ्चालित कतिपय उद्योगहरुले वैकल्पिक सामाग्री उत्पादनमा लाग्नुपर्ने अवस्था लकडाउनले विकल्पको रुपमा अगाडी सारेको जैनको भनाई छ । उहाँले केहि न केहि नगरि बस्ने अवस्थाले महिला बेरोजगारीलाई बढाउने र त्यसले हिंसाको रुप लिनसक्ने संभावनालाई राज्यले ध्यान दिनुपर्ने माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्