उद्योगमा उधारो कारोबारको अंक बढ्दै

उद्योगमा उधारो कारोबारको अंक बढ्दै

विराटनगर । बन्दाबन्दीको समयमा दैनिक उपभोग्य सामाग्री उत्पादन गर्ने उद्योगको उधारो कारोबार अंक झनै बढेको गुनासो गरेका छन् ।
खाद्यन्न र खाद्यवस्तु उत्पादन गर्ने उद्योग–व्यापार सञ्चालनमा सरकारले सहजीकरण गरेपनि कारोबार भने उधारोमा धेरै गर्नुपर्ने बाध्यता आईपरेको उद्योगी–व्यवसायीले गुनासो गरेका हुन् ।

सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन आह्वान गरेपछि आर्थिक गतिविधि न्यून हुँदा त्यसको असर दैनिक आवश्यक खाद्यन्न तथा खाद्यवस्तु उत्पादन गर्ने उद्योग–व्यापारमा देखिएको हो । दैनिक उपभोग्य वस्तुको प्रयोग गर्ने उपभोक्ताले खुद्रा पसलमा, खुद्राले थोकमा, थोकले डिलरमा र डिलरले उद्योगसँग गरेको उधारो कारोबार अहिले फर्याउँनै नसकिने अवस्थामा पुगेको दावी उद्योगीहरुले गरेका हुन् ।

खाद्यन्न र खाद्यवस्तुको उद्योग–व्यापारमा चल्यो तर व्यवहारिक पक्ष हेर्नुपर्ने बाध्यता र मानवीय गुणका कारण उधारो अंक पनि बढ्यो, बोहरा ग्रुपका सञ्चालक अविनाश बोहराले भन्नुभयो–लकडाउन भएपछि त्यस अगाडीको पनि उधारो जाम भयो, त्यसपछिको कारोबारको पनि उधारो बढ्दै गयो ।

नेपाल उद्योग महासंघका केन्द्रीय सदस्य समेत रहनु भएका बोहराले सानो बजार छ, संकटमा मानवीय स्वभावले पनि अंक बढाउन सहयोग पुग्यो । बैशाखदेखि खाद्यन्न र खाद्यवस्तुका उद्योगहरु पूर्ववत नै सूचारु भएपछि ६० देखि ८० दिनसम्मको उधारो कारोबारमा उद्योगीहरुले सामान बजार पठाएको दावी गरेका छन् । उधारो उठाउने बेलाको निषेधाज्ञा र लकडाउनले गर्दा उठाउन सक्ने अवस्था नभएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सदस्य एवं खाद्यन्न उद्योगी श्रवण अग्रवालका अनुसार २०७६ पुस महिनायताको उधारो उठ्न बाँकी छ । तर, चैतमा लागेको लकडाउनसँगै पुरानो उधारो उठाउन संभव भएन बरु थप उधारो थपिदिनुपर्ने अवस्था आयो । उपभोक्तादेखि जोडिदै आएको उधारो उद्योगसम्म जोडिएकोले उद्योगीहरुको पीडा सहिनसक्नु अवस्थामा पुगेको अग्रवालको गुनासो छ ।

लकडाउनमा सञ्चालन छुट पाएका उद्योगहरुको उधारो अंक बढ्दै गएको पीडा जस्तै सञ्चालन गरेका उद्योग पनि पीडा छ । लामो समयसम्म बन्द बसेको उद्योग सञ्चालनका लागि दक्ष जनशक्ति भारतसँग भर पर्नुपर्ने कतिपय उद्योगलाई मजदुर मात्रै राख्नुपर्ने बाध्यता आईपरेको उनीहरुको गुनासो छ ।

काराखाना चलाउने मुख्य प्राविधिक भारतीय नागरिक भएका कारण उनीहरु नआउने र आईहालेपनि उनीहरुलाई दैनिक लाग्ने खर्च व्यहोर्नुपर्ने बाध्यता उद्योगीहरुलाई रहेको स्वस्तिक पोलिमर इन्डस्ट्रिजका सञ्चालक रमेश राठीको गुनासो छ । उहाँका अनुसार चैत यता प्याकेजिङका सामान उत्पादन गर्दै आएको उद्योगको उत्पादन क्षमता २५ प्रतिशत मात्रै चालु छ ।

मदिराको कच्चा पदार्थको उत्पादन र कारोबार गर्दै आएको प्रिमियम डिस्टिलरीका सञ्चालक प्रदिप सारडाले आफ्नो उद्योग नै बन्द रहेको दावी गर्नुभयो । उद्योग बन्दसँगै त्यहाँ आश्रित मजदुर तथा कर्मचारीलाई समेत बिदा बस्नका लागि आग्रह गर्नुपर्ने बाध्यता आईपरेको उहाँको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्