खुल्ला सीमा सधैंका लागि बन्द गर्न विराटनगरका उद्योगी–व्यापारीको माग

खुल्ला सीमा सधैंका लागि बन्द गर्न विराटनगरका उद्योगी–व्यापारीको माग

विराटनगर । कोरोना नियन्त्रणका लागि सरकारले मुख्य नाकाबाट हुने वैध पैठारी बाहेकमा लगाएको रोकले नेपालका सीमा क्षेत्रका बजारमा सकारात्मक प्रभाव परेको छ । सीमा क्षेत्रको बजारको व्यापार उत्साहजनक देखिएपछि उद्योगी–व्यापारीले कोरोना नियन्त्रणका लागि गरिएको सीमा बन्दलाई सधैंका लागि यथावत राखिनु पर्ने माग गर्न थालेका छन् ।

सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन र भदौबाट आवश्यकता अनुसार जाारी निषेधाज्ञाका कारण नेपालबाट सामान किन्नकै लागि भारत जानेहरु रोकिएपछि नेपालका बजार गुल्जार भएको भन्दै सीमा सधैंका लागि बन्द गरिनुपर्ने माग बढ्दै गएको छ। जुत्ताचप्पल, बिस्कुट, मैदा लगायतको व्यापार बढ्दा स्वदेशी उद्योगी समेत हर्षित हुन् ।

सीमा क्षेत्र सील गर्दा त्यसको असर अर्थतन्त्रमा सीधा देखिन थालेको छ । कोरोनाले आर्थिक गतिविधी खुम्चिएको भएपनि सीमाबाट हुने तस्करी रोकिँदा वैध व्यापार फस्टाएको हो।
स्वदेशी उद्योगमा परेको सकारात्मक प्रभावका बारेमा अर्थमन्त्रालयले समेत अध्ययन सुरु गरिसकेको छ । कतिपय उद्योगीलाई बन्द भएको उद्योग खोल्न समेत दबाब बढेको छ। सीमा क्षेत्रमा अवैध रूपमा भित्रिएको सामानका कारण प्रतिस्पर्धा गर्न नसकेर बन्द भएका उद्योग खोल्न प्रेरित गरिरहे पनि सीमा खोल्दा फेरि पुरानै अवस्थामा आउने त्रास समेत उनीहरुमा छ । उद्योगी व्यवसायीले सरकारसँग तत्काल सीमा बन्द हुँदाको यकिन अवस्था विश्लेषण गरेर नेपाल–भारत खुल्ला सीमा व्यवस्थित गरेर स्वदेशी उद्योग प्रवर्द्धनमा लाग्न सरकारलाई सुझाव दिएका छन्।

व्यापार बढेपछि त्यस क्षेत्रका व्यवसायीले सीमा व्यवस्थित गर्नुपर्ने धारणा राख्न थालेका छन्। सिलबन्दीपछि अवैध पैठारीमा ह्रास आएको र नेपालतर्फको व्यवसायमा उत्साहजनक वृद्धि भएको प्रतिक्रिया दिँदै व्यवसायीले यसलाई व्यवस्थित गर्नुपर्ने मोरङमा बहस नै सुरु भएको छ ।
‘लकडाउन र सीमा सिलबन्दी सुरु भएपछि हामीले पास्ता उद्योगको स्थापना गर्‍यौं,ु विशाल मैदा मिलका सञ्चालक एवम् मोरङ व्यापार संघका उपाध्यक्ष विकास बेगवानीले भन्नुभयो उत्पादनसँगै बजार पनि राम्रो छ । नेपाल–भारत सीमा पहिलेझैं खुल्ला भयो भने भारतीय पास्ताले बजार पिट्ने भएकोले लकडाउनमा गरेको लगानी खेरजानसक्ने चिन्ता बेगवानीलाई छ ।

उद्योगी बेगबानीको भनाइ थियो, ‘सीमा क्षेत्रमा क्यारिङको काम गर्नेले नेपालका पास्ता उद्योगले विक्री गर्नेभन्दा सस्तो मूल्यमा ल्याएर स्थानीय पसलेलाई भारतीय पास्ता आपूर्ति गर्छन् । यस्तो व्यापारसित हामी प्रतिस्पर्धा गर्न सक्तैनौं। त्यसैले निश्चित नियम र मापदण्डको निर्धारण गरेर सीमाको सिलबन्दीलाई सधैँका लागि निरन्तरता दिनुपर्छ।

उद्योग संगठन मोरङका कार्यकारी सदस्य विपिन काबरा पनि सीमा क्षेत्रलाई सधैँ कडाइका साथ राख्नुपर्छ भन्ने धारणा प्रकट गर्दछन् ।
‘आखिर सीमा क्षेत्र सिलबन्दी गरेर पनि चल्दो रहेछ,’ उद्योगी काबराले भने, नआई नहुने आइरहेकै छन् र नगई नहुने गइरहेकै छन्। काम परेकालाई कानुनी रूपमा आउन–जान त कसैले रोकेको छैन। त्यसैले तस्करीलाई प्रश्रय दिने खालको सिमानाको खुलापन अब हाम्रै लागि घातक हुनेछ। यो सिलबन्दीलाई कायम राखिनुपर्छ।

काबराले सीमा सिलबन्दीपछि आफ्नो उत्पादन प्रशोधित खानेतेलको बिक्रीमा वृद्धि भएको जानकारी दिए। उद्योगी भावेश राठीले मोरङको कटहरीमा रहेको बोबी बिस्कुट उद्योग ४ वर्षअगाडि ‘पे–अफ’ गरेर बन्द गरेका थिए। लकडाउनपछि उनका पुराना डिलर र बिक्रेताहरू उद्योगलाई पुनः सञ्चालन गर्न आग्रह गरिरहेका छन्।

सुनसरीको दुहबीस्थित क्वालिटी बिस्कुट इन्डस्ट्रीजका सञ्चालक श्याम काबराले लकडाउनपछि आफ्नो उद्योगको उत्पादनको बिक्री बढेको स्वीकार गरे। ‘उनले बिक्री बढेपनि भुक्तानीमा समस्या भएको बताए ।
विराटनगरको सबैभन्दा पुरानो र ठूलो कपडा पसल नारायण स्टोरका सञ्चालक रामचन्द्र तापडियाका अनुसार निरन्तरको लकडाउन र निषेधाज्ञाका कारण देशभरिका कपडा पसलको बिक्रीमा मन्दी आए पनि पसलेहरू निरास छैनन्।‘हामी किन निरास छैनौं भने सीमा सिलबन्दी छ र दसैंतिहारजस्ता चाडबाड नजिकिँदै छन्, तापडियाको कथन थियो, ‘तर हाम्रो माग के छ भने, सिलबन्दी गरिएको सीमालाई फुकाउनु हुँदैन।

उनले विराटनगरसित जोडिएको भारतीय सीमावर्ती बजार जोगबनीमा मात्र नेपाली ग्राहकले दैनिक ३ करोडको मालसामान खरिद गर्ने गरेको र चाडबाडमा जोगबनीको कारोबार १० करोडसम्म पुग्ने गरेको दाबी गरे। तापडियाले भने, ‘सीमा क्षेत्रमा जोगबनीमात्र भारतीय बजार छैन। पूर्व मेचीदेखि महाकालीसम्ममा सीमान्त क्षेत्रनेर भारतीय बजार छन्। सिलबन्दीका कारण ती बजारमा अहिले नेपाली ग्राहक गइरहेका छैनन्। त्यसैले नेपालका बजारको भविष्य उज्यालो देखिएको छ। यसका लागि सिलबन्दीलाई निरन्तरता दिनु आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्