विराटनगर बसपार्कबाट शुक्रबारदेखि बस छुट्ने

विराटनगर बसपार्कबाट शुक्रबारदेखि बस छुट्ने

विराटनगर । हरेक वर्ष असोज १ गते बिश्वकर्मा पुजाको तयारीका लागि भदौको अन्तिम दिन रंगिन हुने विराटनगर बसपार्क यो वर्ष सुनसान छ । कोरोना संक्रमणसँगै लकडाउनको पाँच महिना २० दिन गुजारेको यातायात क्षेत्रमा बिश्वकर्मा पुजाको पूर्व तयारी पनि सुस्त देखिएको हो ।


लामो दुरीका सवारी असोज २ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेका यातायात व्यवसायीले मंगलबारदेखि नै गाडी ग्यारेजमा हालेका छन् । लामो समय थन्किएर बसेका बसको मर्मतका लागि ग्यारेजमा पु¥याइएको हो । गाडीको इन्जिन खोलिएका छन् । ग्यारेजमा बस इन्जिन खोलेर मर्मत भईरहेका कारण बसपार्कमा सजाउन नपाएका हुन् ।

सुनौलो पूर्व नेपाल यातायात व्यवसायी प्रा.लि.का अध्यक्ष राजन कँडेलले लामो समयपछि सञ्चालनमा आउन लागेको यातायात क्षेत्र निराशा जनक कारोबारका लागि सडकमा दगुर्ने बताउनुभयो । उहाँले सीट क्षमताको ५० प्रतिशत यात्रु बोकेर लामो दुरीमा चल्ने सवारीको इन्धन खर्च उठ्दैन तर भोकभोकै परेका मजदुरका लागि केहि राहत हुने दावी गर्नुभयो ।

बसपार्कमा गाडी सजाउन त मनमा खुशी र उमंङ्ग हुनुपर्दथ्यो, नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत रहनु भएका कँडेलको भनाई थियो–अभावमा गाडी मर्मतका लागि एक लाख रुपैँया खर्च लाग्नेछ ।
यातायात सञ्चालनमा ल्याउनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड पालना अनिवार्य गरिएको छ । जसका लागि पनि थप खर्चको जोहो व्यवसायीहरुले गर्नुपर्ने छ ।

विराटनगर बसपार्कबाट लामो तथा छोटो दुरीका लागि छुट्ने गाडीमा पहिलो पटक स्यानिटाइज गर्नका लागि न्यूनतम एकलाख रुपैँया खर्च लाग्नेछ । यो पहिलो पटकको खर्च हो । दोस्रो पटकदेखि खर्च घट्ने त छ तर भईरहने छ । पहिलो पटक यातायात व्यवसायीहरुले स्यानिटाइज गर्ने ट्याङ्की (मेशिन), पन्जा, फेसशिल्ड, पीपीई र गमबुट खरिद गरेका छन् । विराटनगरमा स्यानिटाइज गरिएको गाडी गन्तव्यमा पुगेपछि पुनः स्यानिटाइज गरेर मात्रै फर्कने छ ।

दैनिक लामो तथा छोटो दुरीका गरेर ३५० वटा बस छुट्ने बसपार्कमा बिश्वकर्मा पुजा औपचारिक रुपमा गरेर आगामी शुक्रबार असोज २ गतेदेखि सार्वजानिक सवारी सञ्चालनमा ल्याईने छ ।
लामो दुरीका यात्रुले आफ्नो सुरक्षाका लागि आफैं मास्क र स्यानिटाइजर बोकेर जानुपर्ने हुन्छ । व्यवसायीले चालक र सहयोगीलाई मास्क र पन्जा तथा टिकट परीक्षण गर्ने, रुपैयाँ(पैसा उठाउने र यात्रुहरूको सुविधासम्बन्धी ख्याल गर्ने व्यक्ति (कन्डक्टर) लाई मास्क, पन्जा र फेसशिल्ड अनिवार्य गरेका छन् ।

सार्वजानिक सवारी सञ्चालनका क्रममा लामो दुरीको यात्रामा खानपीन गर्ने व्यवस्थापन मिलाउने कुराले व्यवसायीलाई पिरोलेको छ । विराटनगरबाट छुट्ने बसहरुले सप्तरीको बरमझिया र मौलिमध्ये कुनै एक स्थानमा चिया–नास्ता, बर्दिवास वा चन्द्रनिगाहापुरमा खाना र खाजाको लागि रोक्ने गरेका छन् । कोरोना संक्रमणका कारण होटलमा रोकेर खाना खुवाउनका लागि यात्रुलाई जोखिम हुनसक्ने भन्दै व्यवसायीहरुले चिन्तित बनेका छन् ।
यात्रुले गन्तव्यसम्म पुग्नका लागि खाना वा खाजा र पानीको जोहो गरेरै सार्वजानिक यातायातको यात्रा गरिदिए अझै राम्रो हुने व्यवसायीहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्