एन्जु शिवाकोटी
विराटनगर । जाडो सुरु भएसँगै भक्का व्यापार पनि सुरु हुन थालेको छ । विषेश गरि तराई क्षेत्रमा हँुदै आएको भक्काको व्यापार मुख्यतः थारु, राजवंशी, ताजपुरिया जातिका महिलाले गर्ने गर्दछन् । मंसिर महिनादेखि सुरु भएको जाडोसँगै भक्का व्यापार सुरु भएपछि फागुन महिनाको अन्त्यसम्म चल्छ ।
चामलको पिठोलाई पानिको बाफमा पकाइने परिकारलाई भक्का भनिन्छ । भक्क–भक्क उम्लिएको बाफमाथि राखि पकाइने परिकार भएकोले नाम पनि भक्का हुन गएको भन्ने भनाई छ । तराईका गाँउ तथा सहरका चौकचौकमा विहान बेलुका भक्का पाक्न सुरु भई सकेको छ । अन्य स्थानमा जस्तै रंगेली नगरपालिका ४ मा रहेको आमतोला चौकमा मंसिर महिनाको सुरु देखि भक्का पाक्न थालेको छ ।
आमतोला चौकको सडक छेउमा २० वर्षदेखि भक्का बेच्दै आउनु भएकी शुसिलादेवि मण्डललाई ७० बर्ष पुग्दा पनि उतिकै भक्का व्यापारको रहर छ । आमतोला चौकमा जाडो महिनामा बिहानबेलुका भक्का बेच्दै आउनु भएको छ । “मलाई भक्का बेच्न सारै रमाइलो लाग्छ, सजिलो पनि छ र राम्रो कमाई पनि हुन्छ–शुसिलाले भन्नुभयो–भक्काको राम्रो कुरा के छ भने मिठो भएन कसैले भन्दैन । जसलाई भक्काको स्वाद मन पर्छ त्यसले खान्छ , जसलाई मन पर्दैन त्यो आउँदै नआउने बृद्ध शुसिलाको भनाई छ ।
दैनिक १० किलो पिठोको भक्का बिक्री गर्दे दावी शुसिलाको छ । पाँच रुपैया प्रति गोटाका दरले भक्का बेच्ने गरिएको हो । दैनिक दुई हजार देखि दुईहजार ५०० सम्मको भक्का बिक्री हुने गरेको शुसिलाको भनाई छ । भक्का बेच्न सजिलो लाग्छ, अब बुढी पनि भए, शुसिलाले भन्नुभयो–बलको काम गर्न पनि सक्दिन । भक्का व्यापारबाट हुने आयले दैनिकी सहज भएको उहाँको दावी छ ।