यसरी गरिदैछ झापा, मोरङ र सुनसरीबाट १५० सहयोगापेक्षी सडक मानवको उद्धार

यसरी गरिदैछ झापा, मोरङ र सुनसरीबाट १५० सहयोगापेक्षी सडक मानवको उद्धार

विराटनगर । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले झापा, मोरङ र सुनसरीबाट १५० जना सहयोगापेक्षी सडक मानवहरुको उद्धार गर्ने भएको छ । आगामी पुस ७ गतेदेखि ११ गतेदेखि सडकमा सहयोगापेक्षी भएर जीवन बिताईरहेका बालबालिका, अपाङ्गता भएका र मानसिक रुपमा अशक्त भई वा अन्य कुनै कारणले बेसाहरा भएका नागरिकको उद्धार गरिने भएको हो ।

आगामी पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौंमा सुभारम्भ गर्नु हुने कार्यक्रम प्रदेश १ मा सञ्चालनका लागि तयारी पूरा गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । लोककल्याणकारी राज्यको अवधारणा अनुसार सरकारले सडकमा आश्रित, सहयोगापेक्षी रहेका नागरिकको उद्धार र संरक्षण गर्ने अभियान राष्ट्रिय रुपमा सञ्चालन गर्न लागेको हो ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा झापा, मोरङ र सुनसरीका सडकबाट सहयोगापेक्षी मानवको उद्धार अभियान पुस ७ गतेदेखि ११ गतेसम्म सञ्चालन गर्नेछ ।

सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री जीवन घिमिरेले ७ र ८ गते तीन जिल्लाका सडकमा रहेका बालबालिकाको उद्धार गरिने जानकारी दिनुभयो । पुस ९, १० र ११ गते क्रमशः झापा, सुनसरी र मोरङमा सडक सहयोगापेक्षी भएर जीवन गुजारीरहेका नागरिकको उद्धार गरिने मन्त्री घिमिरे बताउनुभयो ।

कार्यक्रम तालिका अनुसार तीन जिल्लाका सबै स्थानीय तहले आफ्नो क्षेत्र भित्रका त्यस्ता नागरिकको पहिचान गरेर विवरण संकलन र उद्धार गर्नेछन् । पुस ८ गतेसम्ममा पालिकाहरुले विवरण संकलन गरेर सामाजिक विकास मन्त्रालयमा पठाई सक्नुपर्नेछ ।
त्यसपछि झापाका सबै पालिकाले ९ गते सहयोगापेक्षी नागरिकको उद्धार गरेर कन्काई नगरपालिकाको सुरुङ्गामा जम्मा गर्नेछन् । जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी र पालिकाका प्रमुख सम्मिलित तीन सदस्य समितिले उद्धार गरिएका नागरिकलाई सामाजिक विकास मन्त्रालयले विराटनगरको मानव सेवा आश्रम र झापाको खगेन्द्र नवजीवनमा पुर्नस्थापित गर्नेछ ।
यसैगरी १० गते सुनसरीका पालिकाहरुले आफ्ना नागरिकको उद्धार गरेर इटहरी उपमहानगरपालिका १० स्थित शुभारम्भ पार्टी प्यालेसमा राख्नेछन् भने ११ गते मोरङका सबै पालिकाहरुले विराटनगरमा राख्नेछन् ।

मन्त्री घिमिरेका अनुसार अपाङ्गता भएकाहरुलाई भद्रपुरको खगेन्द्र नवजीवन पुर्नस्थापना केन्द्रमा, बालबालिकालाई इटहरीको भ्वाईस अफ चिल्ड्रेन गृहमा र युवा, वयस्क र बृद्धबृद्धालाई विराटनगरको मानव सेवा आश्रममा संरक्षण गरिने छ ।
पालिकाहरुले उद्धार गरिसकेका नागरिकको स्वास्थ्यकर्मीहरुको टोलिले स्वाथ्य परीक्षण तथा सहयोगीहरुले सरसफाई गरिसकेपछि उनीहरुलाई नयाँ कपडा लगाएर पुर्नस्थापना गृहहरुमा पठाइने छ । मानसिक रुपमा अशक्त भएका नागरिकहरुलाई मानव सेवा आश्रममा उपचार र संरक्षण गरिने, अपाङ्गता भएकाहरुको भद्रपुरमा र बालबालिकालाई इटहरीमा राखिने छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०७७÷२०७८ को नीति तथा कार्यक्रममा बेसाहारा भई सडकमा बस्न बाध्य नागरिकको उद्धार, उपचार र पुर्नस्थापना गर्ने योजनालाई प्राथमिकतामा साथ समेटेको छ । त्यसैका आधारमा प्रधानमन्त्रीले राष्ट्रिय उद्धार कार्यक्रमको पुस ७ गते उघाटन गर्नु भएसँगै एक महिनासम्म यो अभियान देशभर सञ्चालन हुनेछ ।
सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीका अनुसार राष्ट्रिय कार्यक्रम अन्तर्गत सामाजिक विकास मन्त्रालयको पुस ३ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार सडक सहयोगापेक्षी नागरिकको उद्धार अभियान सञ्चालन गरिने भएको हो । त्यसको तयारी स्वरुप तीन जिल्लाका सबै पालिका प्रमुख तथा उपप्रमुखसँग कार्यक्रमको बारेमा छलफल गरिसकिएको छ ।

प्रदेश १ लाई सडक सहयोगापेक्षी मानवमुक्त प्रदेशको रुपमा घोषणा गर्नका लागि पहिलो चरणमा तराईका तीन जिल्लाका सबै पालिकाहरुले सडक मानवमुक्त घोषणा गरिनेछन् । बैशाखसम्ममा प्रदेश १ का १४ जिल्लामा नै यो कार्यक्रम कार्यन्वयनमा आउने छ, मन्त्री घिमिरेले भन्नुभयो–प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷२०७८ को निती तथा कार्यक्रममा उल्लेख भए अनुसार नै सामाजिक संघ र संस्थाको सहयोगमा उनीहरुको संरक्षण गरिने छ र केहि समयपछि पुर्नस्थापना ।

राष्ट्रिय अभियानलाई सार्थकता दिनका लागि पालिकाहरुलाई समेत साझेदारी बनाउँदै खर्चको व्यवस्थापन गरिने भएको हो । उद्धार गरिएका नागरिकको संरक्षणका लागि प्रदेश १ का १३७ स्थानीय पालिकासँग ३० हजार रुपिँयाका दरले लगानी गर्नेछन् ।
प्रदेश १ सरकारले गतवर्ष नै सडक आश्रित बालबालिका र सडक सहयोगापेक्षी नागरिकको उद्धार सुरु गरिसकेको छ । हालसम्म मानव सेवा आश्रममा १८ दिनको शिशु, पाँचजना बालबालिकासहित ९२ जना नागरिकको उद्धारपछि संरक्षण गरिएको छ । यसैगरी अभिभावक बिहीन रहेका बालबालिकालाई समेत उद्धार गरेर इटहरीको भ्वाईस अफ चिल्ड्रेनमा संरक्षण तथा उनीहरुको पुर्नस्थापना गरिदैं आएको मन्त्री घिमिरेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्