‘शालिग्राम’को महत्व बुझाउँदै शेरचन

‘शालिग्राम’को महत्व बुझाउँदै शेरचन

कलाकार मिलन शेरचनले नयाँपुस्तालाई शालिग्रामको महत्व चिनाउनका लागि कलात्मक रूपबाट कृत्रिम शालिग्राम तयार गर्नुभएको छ । जापानी भाषा हानानो ओशिबाना अर्थात् झारपातबाट विभिन्न चित्राकृति बनाउँदै आउनुभएकी शेरचनले पछिल्लो समय शालिग्राम महत्वलाई कलामा उतार्नुभएको हो ।

“हिन्दू धर्म परम्परामा शालिग्रामको निकै महत्व छ, तर नयाँपुस्ता यसबारे निकै अनभिज्ञ छन् । कलाको माध्यमबाट शालिग्रामको महत्व बुझाउन सकिन्छ कि भनेर यो तयार गरेकी हुँ”, शेरचनले भन्नुभयो । उहाँले कलाको माध्यमबाट विभिन्न रङरोगन र केमिकलको सहायताले विभिन्न साइजको शालिग्राम तयार गरेको बताउनुभयो । “कलाले कुनै पनि समाजको धर्म संस्कार र संस्कृतिलाई उजागार गरेको हुन्छ, मैले पनि हिन्दू धर्ममा निकै महत्व राख्ने धार्मिक महत्व बोकेका शालिग्रामलाई कलामार्फत उजागार गर्न खोजेकी हुँ”, शेरचनले भन्नुभयो, “शालिग्राम लोप हुँदै गएको छ, यसको महत्व र महिमाबारे आउने पुस्तालाई जानकारी दिन सकिएन भने यो यसै हराएर जानेछ । धर्म संस्कार, संस्कृति हराउनु भनेको आफ्नो पहिचान हराउनु हो ।” शेरचनले आफ्नो भूगोल, परिवेश रहनसहन संस्कृति, धर्म संस्कारका राम्रा कुरालाई संरक्षण र प्रवद्र्धन गर्नु कलाकारको उत्तरदायित्व भएको बताउनुभयो ।

हिन्दू धर्मशास्त्रमा शालिग्राम धार्मिक र आध्यात्मिक गुण रहने भएकाले विशेष खालको शिलाको रूपमा लिइन्छ । यो मुक्तिनाथ क्षेत्रअन्तर्गत कालिगण्डकीमा पाइने विशेष खालको शिला हो । पौराणिक धर्मग्रन्थमा उल्लेख भएअनुसार कुनै समय देवता र राक्षसबीच समुद्र मन्थन हुँदा समुद्रमा १४ रत्न प्राप्त भएका थिए, तीमध्ये एक शालिग्राम गङ्गाजीमा पाइने विशेष रत्न हो । शालिकग्राम स्पर्श गरेर वा बगेको जल नियमित सेवनले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । सनातन वैदिक हिन्दू धर्मावलम्बीले शालिग्राम घरमा राखेर पूजा गर्दै आएको पाइन्छ ।

जापानी कला ‘हानानो ओशिबाना’ अर्थात् झारपातबाट कलात्मक चित्र बनाउने कलाकारका रूपमा परिचित शेरचनले धर्म, संस्कृतिका विभिन्न पक्षलाई कलामा उतार्दै आउनुभएको छ । उहाँका कलाले दर्जन बढी सम्मान तथा पुरस्कारसमेत पाइसकेको छ । पछिल्लो समय शेरचनले तयार गरेको लिपुलेकको कलाकृतिले राष्ट्रिय ललितकला पुरस्कारसमेत प्राप्त गर्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्