यौनाङ्ग सफा नहुँदा महिलामा सेतोपानी बग्ने समस्या

यौनाङ्ग सफा नहुँदा महिलामा सेतोपानी बग्ने समस्या

एन्जु शिवाकोटी
विराटनगर । महिलामा सेतो पानी बग्ने, महिनावारीमा अनियमितता एवम् बाँझोपन मुख्य समस्याको रूपमा देखा पर्न थालेको छ । सेतो पानी बग्ने रोगलाई ल्युकोरीया भन्ने गरिन्छ र यो समस्याले भयावह रूप लिँदै गएको सम्बन्धित क्षेत्रका चिकित्सकको भनाई छ । यौनाङ्गको सरसफाईमा लापरवाही, यौन रोगीसँगको शारीरिक सम्पर्क, पटक–पटकको गर्भपतन, शरीरमा संक्रमण, तनाव र पोषण तत्वको कमीका कारण महिलामा सेतोपानी बग्ने समस्या आईपर्छ ।

कोशी अञ्चल अस्पताल अब्ट्रेट्रिसियन एवं गायनोकोलोजिष्ट डा. ममता वर्माका अनुसार महिलामा धेरै किसिमका समस्यामध्ये सतोपानी बग्ने समस्या जटिल बन्दै गएको छ । दश हजार भन्दा धेरै महिलाको प्रसुती गराईसक्नु भएकी डा.बर्माले ‘योनी र पाठेघरमा संक्रमण हुँदा समेत सेतो पानी बग्ने समस्या हुने बताउँदै स्नान गरेपछि भिजेकै शरीरमा अङ्गबस्त्र लगाउने बानीले योनीमा संक्रमणको संभावना धेरै हुने बताउनुभयो ।
विशेषगरी महिलाले आफ्नो संवेदनशील अंगलाई सफा र सुख्खा राख्नु पर्नेमा उहाँको सुझाव छ । डा. वर्माले २४ वर्षको कार्यकालमा सम्पर्कमा आउने बिरामीमध्ये ९० प्रतिशत महिलामा सेतो पानी बग्ने, अनियमित महिनावारी र बाँझोपनाको गुनासो लिएर आउने गरेको दावी गर्नुभयो ।

उनले सेतो पानी बग्ने समस्यापछि महिलामा अनियमित रजस्वलाको समस्या बढी देखिने गरेको जानकारी दिनुभयो । गर्भासायबाट रगत योनी हुँदै शरीर बाहिर सामान्यता २८ दिनको चक्रमा निस्कन्छ । चक्रभन्दा धेरै ढिलो वा चाँडो रजस्वला हुनुलाई अनियमित रजस्वला भन्ने गरिन्छ । अपरिपक्क उमेरमा नै महिनावारी हुने युवतीको चक्र अनियमित हुन सक्छ भने महिनावारी धकेल्न वा रोक्न औषधी सेवन गर्नाले पनि अनियमित रजस्वला हुने गरेको छ ।
डा. वर्मा भन्नुहुन्छ,‘हाम्रो समाजमा रजस्वला भएको महिलाले छोइछाई गर्नु हुँदैन भन्ने मान्यता छ । आधुनिकताको प्रभावमा घरघरमा आजकल बर्थडे, पार्टी, समारोहहरू धेरै हुने गरेका छन् । रमाइलो गर्ने बेलामा महिनावारी भयो भने अलग्गै एक्लै पर बस्नु पर्ने वाध्यता आइपर्न सक्छ, त्यसैले रजस्वला रोक्ने औषधी बीनाकुनै चिकित्सकको सल्लाह महिलाले आपैm खाने गरेका पनि छन् । महिलामा जथाभावी औषधीको सेवनले रजस्वला अनियमित बन्दै गएको छ । अर्को रजस्वलाको बेला प्याड चेन्ज गर्नुपर्ने र बेलाबेला संवेदनशील अंगको सफाई गर्नु पर्ने झन्झटले पनि महिलाहरू रजस्वला हुनै नदिने विकल्प अपनाउने गर्छन् ।

अनियमित रजस्वलाले सरभाइकल क्यान्सर, हल्का तथा जटिल खालको संक्रमण समेत लाग्न सक्ने डा. वर्माले बताउनुभयो ।
यसैगरी महिलामा बाँझोपना पनि जटिल समस्याको रुपमा देखापर्दै गएको छ । पुरूषभन्दा बढी महिलामा बाँझोपना देखिने गरेको डा. वर्माले जानकारी दिनुभयो । ‘शरीरमा भएका विभिन्न हार्मोन्सको गडबडी, थाइराइडको समस्या र डिम्बबाहिनी नली ब्लकका कारण बाँझोपना जटिल समस्या बन्दै गएको छ ।
डा. वर्माले पाठेघरमा संक्रमण हुनु, महिनावारी अनियमित हुनु जस्ता कारणले समेत बाँझोपन निम्तिने बताउनुभयो । उहाँले कसैकसैको पाठेघर पूर्ण रूपले विकसित नहुँदा समेत बाँझोपना हुने जानकारी दिनुभयो । जुनसुकै अवस्थामा महिलाले आफ्नो स्वास्थ्य र सरसफाई प्रति सचेत बन्नै पर्ने उहाँको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्