क्षयरोग अर्थात् टि वी रोग के हो ? यसरी होऔं सचेत : तारा सुवेदी

क्षयरोग अर्थात् टि वी रोग के हो ? यसरी होऔं सचेत : तारा सुवेदी

क्षयरोग अर्थात् टि वी रोग आँखाले देख्न नसकिने शुक्ष्म किटाणु mycobacterium tuberculosis को संक्रमण वाट हुने सरुवा रोग हो । क्षयरोगका विरामीले खोक्दा वा हाच्छिउ गर्दा निस्केका किटाणुहरु हावाको माध्यमवाट स्वस्थ मानिसमा प्रवेश गर्छन् । यो रोग विश्वमा जनस्वास्थ्य समस्याको कारणको रुपमा रहेको छ । त्यस्तै गरी विश्वमा उच्च मृत्यूदर भएका दश वटा रोग मध्ये क्षयरोग पनि एक हो । विश्व स्वास्थ्य संगठनले सन् 1993 मा क्षयरोगलाई जनस्वास्थ्य समस्याको (प्रति दश लाख जनसंख्यामा 1 जना भन्दा बडी नयाँ विरामी भएको अवस्था) रुपमा घोषणा गरी यसको उचित व्यवस्थापन गर्नको लागि समय समयमा बिभिन्न खालका रणनीतिक योजना तथा कार्यक्रमहरु सञ्चालन गर्न आफ्ना सदस्य राष्ट्रहरुलाई निर्देशित गरिरहेको छ । नेपालको सन्दर्भमा पनि यो रोग जनस्वास्थ्य समस्याकै रुपमा रहेको छ । जसका कारण बर्षेनी धेरै मानिसहरुले ज्यान गुमाउनु परेको छ । नेपालमा कूल जनसंख्याको 50%भन्दा बडी जनसंख्या क्षयरोगवाट संक्रमित भएको अनुमान गरिएको छ । गरिवी, अशिक्षा,पोषणयुक्त खानाको अभाव, असन्तुलित खाना खाने वानी, धुम्रपान मध्यपान गर्ने वानी, सूर्तीजन्य पदार्थको सेवन गर्ने लत ,नसर्ने रोग( मधुमेह,उच्च रक्तचाप)को बड्दो क्रम जस्ता कारणले क्षयरोगवाट संक्रमित हुने दर बड्दो छ भने नियमित क्षयरोगको औषधी नखाने, वीचैमा औषधी खान छोड्ने गर्नाले औषधी प्रतिरोधी क्षयरोग को प्रकोप पनि बड्दो अवस्थामा छ । निजी स्वास्थ्य संस्थावाट गरिएको निदान र उपचार गरिएका विरामीको विवरण मूलधारमा आउन नसक्नु,HIV को संक्रमण दर बढ्नु,अव्यवस्थित शहरीकरण, खुला सिमाना,नसर्ने रोगका विरामीमा हुने क्षयरोगको जोखिम आजको समयमा ठूलो चुनौति भएको छ ।

उल्लेखित चुनौतिहरुलाई मध्यनजर गर्दै नेपाल सरकारले विश्व स्वास्थ्य संगठनले सिफारिश गरे अनुसार क्षयरोगीको उपचार DOTS (स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्षयरोगका विरामीलाई औषधी खुवाउने)बिधी को अवलम्वन गरेको छ । त्यसै गरी सरकारी नीजि स्वास्थ्य संस्था सहकार्य,चेतना अभिबृद्धी कार्यक्रम,क्षयरोगका विरामीको सकृय खोज पडताल(Active case finding), औषधी प्रतिरोधी क्षयरोग निदान तथा उपचार सेवा विस्तार,समुदायमा आधारित क्षयरोग व्यवस्थापन, क्षयरोग विरामीको सम्पर्कमा रहेका व्यक्तिहरुको सक्रिय परिक्षण(Screening),बच्चाहरुमा हुने क्षयरोगको व्यवस्थापन TBPT,TB-HIV co-infection जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको आएको छ ।
नेपाल सरकारले सन् 1993 देखि राष्ट्रिय क्षयरोग कार्यक्रम लागू गरेको हो । कार्यक्रमको शुरुमा DOTS उपचार रणनीति त्यसपछि Stop TB रणनीति लागू गर्दै हाल विश्व स्वास्थ्य संगठनले अंगीकार गरेको रणनीति TB Free Nepal (TB free world) The end TB Strategy अवलम्वन गरी पाँच वर्षीय राष्ट्रिय रणनीति तयार गरेको छ ।
नेपाल सरकारले सन् 2050 सम्ममा क्षयरोगलाई निवारण(क्षयरोगको अवस्था :
WHO को सन् 2020 को प्रतिवेदन अनुसार विश्वमा करिव एक करोड क्षयरोगका नयाँ विरामी थपिएका छन् । जस मध्ये 90% TB विरामीहरु विकासशील तथा विकासोन्मुख देशहरुमा छन् । कूल क्षयरोगका विरामी मध्ये 44% दक्षिण पूर्व एशियामा छन् भने केवल भारतमा मात्र 27%TB का विरामी छन् । खुल्ला सिमाना भएको छिमेकी देशमा यती धेरै विरामी हुनु नेपालको लागि निकै जोखिम अवस्था हो । हाल देखिएका बिरामी मध्ये 12% 15 बर्ष मुनिका वालवालिका र वाकी 88% 15 बर्ष र सो भन्दा माथिका रहेका छन् । प्रतिवेदनका अनुसार 32%महिला छन् भने 56 % पुरुष बिरामी छन् । काम गर्ने उमेरका बयस्क मानिसहरु यसरी संक्रमित हुनु त्यसै पनि देशको लागि र परिवारको लागि राम्रो कुरा होईन । यस वाट परिवारको आर्थिक अवस्थामा प्रत्यक्ष असर पर्दछ मने वालवालिकाको शिक्षा स्वास्थ्य जस्ता अति आवश्यकीय कुरामा नराम्रो प्रभाव पर्छ । क्षयरोगका कारण प्रति बर्ष विश्वमा 14 ,8,300 मानिसहरुको मृत्यू हुने अनुमान गरिएको छ । मृत्यू हुने मध्ये HIV positive भएका क्षयरोगीको संख्या 208300 रहेको छ ।
नेपालमा जम्मा जनसंख्याको 50%भन्दा बढी मानिसहरु क्षयरोगवाट संक्रमित भएको अनुमान गरिएको छ । जस मध्ये 60% वयस्कहरु छन् । हालै सम्पन्न राष्ट्रिय प्रिभालेन्स सर्वेले नेपालमा वार्षिक 69 हजार नयाँ विरामी थपिन सक्ने अनुमान गरेको छ
हालका बर्षहरुमा वार्षिक 32 हजार क्षयरोगका नयाँ विरामी पत्ता लगाएर उपचार गरिरहेको तथ्याङ्क छ । उक्त सर्वेक्षण अनुसार आ.व.2075/76 मा 32043 जना नयाँ क्षयरोगका बिरामीहरु पत्ता लागेका छन् भने 91%बिरामीहरु उपचार पूरा गरेर निको भएका छन् । सर्वेक्षणले प्रति बर्ष करिव 5 देखि 7 हजार व्यक्तिहरु को मृत्यू क्षयरोगका कारणले हुने अनुमान गरेको छ ।

क्षयरोगको वर्गीकरण:
सामान्यतया क्षररोगवाट प्रभावित अंग , निदान र उपचारको अवस्था,HIV संक्रमणको अवस्था आदिका आधारमा क्षयरोगको वर्गीकरण निम्नानुसार गरिन्छ ;

1.प्रभावित अंगका आधारमा
(क)फोक्सोमा लाग्ने क्षयरोग (pulmonary TB)
(ख) फोक्सो वाहेक शरिरका अन्य भागमा लाग्ने क्षयरोग (Extra pulmonary TB)

2.निदानका आधारमा(Dignosis)
(क)खकारको रिपोर्ट पोजेटिभ भएका(PBC)
(ख) खकारको रिपोर्ट नेगेटिभ भएका(PCD)

3.उपचार व्यवस्थापनको आधारमा
(क) नयाँ विरामी
(ख)पुन:उपचारमा आएका विरामी
(ग)रोग वल्झिएका विरामी
(घ) उपचार असफल भएका विरामी
(ङ)उपचार छोडेका खोजेर भेटिएका विरामी
(च) अन्य

4.HIV test गरेका आधारमा
(क) HIV Positive क्षयरोगका विरामी
(ख) HIV Negative क्षयरोगका विरामी

5.औषधीको प्रभावका आधारमा
(क)Drug susceptive
(ख) Drug Resistance

6.संक्रमणको अवस्थाका आधारमा
(क)सुसुप्त अवस्था (Latant TB)
(ख) सक्रिय अवस्था (ActiveTB)

क्षयरोगका लक्षण र चिन्हहरु :
दुई हप्ता वा सो भन्दा बढी समय सम्म लगातार खोकी लागिरहनु क्षयरोगको मुख्य लक्षण (Cardinal sign) हो । प्रभावित अंगका आधारमा देखि अन्य लक्षणहरु निम्नानुसार छन् :
1.फोक्सोको क्षयरोग (Pulmonary TB)
(क) दुई हप्ता वा सो भन्दा बढी समय सम्म लगातार खोकी लागिरहनु
(ख) दैनिक साझ पख हल्का ज्वरो आउनु
(ग) राती पसिना आउनु,छाती दुख्नु
(घ) खाना खान मन नलाग्नु, दुव्लाउदै जानु
(ङ) शरिरको तौल घट्नु

2.फोक्सो बाहेक शरिरका अन्य भागको क्षयरोग भएमा (Extra Pulmonary TB)
(क)ग्रन्थीको टि वी भएमा ग्रन्थीहरु सुन्निने, दुख्ने र पीप आउने हुन सक्छ ।
(ख) हाड जोर्नीको टि वी भएमा जोर्नीहरु दुख्ने र सुन्निने ।
(ग)TB Meningitis भएमा टाउको दुख्ने, ज्वरो आउने,घाटी अररो हुने ।
(घ) Miliary TB भएमा कडा ज्वरो आउने,खोकी लाग्ने ।
(ङ)Laryngial TB भएमा घाटी दुख्ने, स्वर धोद्रो हुने, स्वर बन्द भएर वोल्न नसक्ने हुन सक्छ ।
(च)Pleurisy TB भएमा कोखा दुख्ने,सुत्न गारो हुने र सास फेर्न कठिन हुन्छ ।
(छ) Intestinal ( आन्द्रामा) टि वी भएमा पेट दुख्ने, लामो समय सम्म पखाला लागिरहने र पेट फूल्ने समस्या हुनसक्छ ।
"सावधान ! यदि तपाई मधुमेह, उच्चरक्तचाप,दीर्घ श्वास प्रश्वास,दमखोकी को रोगी हुनुहुन्छ वा एच आई भी पोजिटिभ वा सूर्तीजन्य पदार्थको सेवन गर्नु हुन्छ भने तपाई क्षयरोगको उच्च जोखिममा हुनुहुन्छ त्यसैले बाहिर हिडडुल गर्दा वा भीडभाडमा जादा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु होला । आफ्नो खानपान र सन्तुलित जीवन शैलीमा विशेष ध्यान पुर्याउनु होला ।"

यदि कसैलाई माथि उल्लेखित लक्षणहरु देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्था वा पायक पर्ने अस्पतालमा गई डाक्टर वा स्वास्थ्यकर्मीको सल्लाह सुझाव अनुसार जाँच गराई समयमै औषधी उपचार गराउनु पर्छ । यसो गर्नाले आफू वच्न र अरुलाई रोग सर्नवाट बचाउन सकिन्छ ।
क्षयरोगको जाँच तथा उपचार स्वास्थ्य संस्थामा नि:शुल्क पाईन्छ । समयमै रोग पत्ता लगाएर उपचार गरे यो रोग निको हुन्छ ।

"समयमै क्षयरोगीको खोज पडताल र उपचार,टि वी फ्रि नेपाल घोषणा गर्ने भरपर्दो आधार"

"विश्व क्षयरोग दिवस 2077 तदनुसार March 24, 2021 मिति 2077/12/11 गते" यस अवसरमा विश्वभरी रहेका सम्पूर्ण दाजुभाई तथा दिदीबिहनीहरुमा शुभकामना ।

तारादेवी सुवेदी
जनस्वास्थ्य निरिक्षक (टि वी फोकल पर्सन)
स्वास्थ्य निर्देशनालय,प्रदेश नं 1
धनकुटा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्