कोपमा आयोजित ऊर्जा दिवसबाट नेपालले फाइदा लिन सक्छ

<span class='c1'>कोपमा आयोजित ऊर्जा दिवसबाट</span> <span class='c2'>नेपालले फाइदा लिन सक्छ</span>

काठमाडौँ । स्कटल्याण्डको ग्लास्गोमा हाल जारी जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६औँ सम्मेलन (कोप–२६) को अवसरमा आज आयोजना गरिने ऊर्जा दिवस नेपालका लागि निकै महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

हरितगृह अत्यन्त न्यून मात्र उत्सर्जन गर्ने नेपालले जलविद्युत् तथा नवीकरणीय ऊर्जाको उपयोग गरी देशभित्र ऊर्जाको माग पूरा गर्न र छिमेकी मुलुकहरूमा समेत निर्यात गरी त्यहाँको कोइला र प्राकृतिक ग्यासको खपत घटाई हरित गृह ग्यासको उत्सर्जनलाई न्यूनीकरण गराउन सहयोग गर्न सक्नेबारेमा यो दिवसमार्फत जानकारी गराउने अवसर बन्न सक्ने देखिन्छ ।

ऊर्जा दिवसका अवसरमा सुरु गर्न लागिएको ग्रिन ग्रिड इनिसेटिभ एण्ड पावरिङ पाष्ट कोल एलायन्समा सहभागी हुनुका साथै कोइलारहित प्रतिबद्धतामा हस्ताक्षर हुनेछ । पहिलोपटक आयोजना हुन लागेको यस दिवसमा नेपाललाई विश्व समुदायमा यस क्षेत्रमा भइरहेका कार्यहरुका बारेमा बुझ्न र अवसर मिलेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसुदन अधिकारीले बताउनुभयो ।

यस प्रतिबद्धताले कोपमा हरित ऊर्जा स्रोतहरुको लागि लगानी बढाउन तथा अन्य देशमा हरित ऊर्जाको व्यापार एवं उत्सर्जन घटाउने पहिचान गराउन मद्दत पुग्ने छ । यस दिवसमा कोप सम्मेलनमा सहभागी विश्वका १५० भन्दा बढी मुलुकले सहभागिता जनाउनुको साथै हरित गृह ग्यासको उत्सर्जन कम गर्न स्वच्छ ऊर्जाको विकास र विस्तारमा जोड दिने भएका छन् । यस दिवसमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीसहित विभिन्न उच्च सरकारी अधिकृतहरु ग्लास्गो पुगिसक्नुभएको छ ।

यस अभियानमा राष्ट्रिय प्रसारणलाई एसियादेखि अफ्रिका हुँदै विश्वभर विस्तार गर्न, विद्युत् व्यापारलाई सहजीकरण गर्न र हरित गृह ग्यासको उत्सर्जनलाई न्यूनीकरण गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको बताइएको छ । ऊर्जामा आत्मनिर्भरभन्दा पनि अन्तरनिर्भरता बढाउने र ऊर्जा सुरक्षाको सुनिश्चित गर्ने यस अभियानको उद्देश्य रहेको छ ।

सो अवसरमा हरित ऊर्जा क्रान्ति तथा आर्थिक वृद्धि, समावेशिता र दिगो विकासका उद्देश्यहरू हासिल गर्न स्वदेशमै उत्पादन हुने विद्युत्को खपत वृद्धि गरी महङ्गो मूल्यमा आयात गरिने इन्धनलाई कम गर्न, स्वदेशी स्वच्छ ऊर्जाबाट बढ्दो ऊर्जाको माग पूरा गर्न र छिमेकी मुलुकहरूलाई विद्युत् निर्यात गरी असन्तुलित व्यापार घाटा कम गर्न एवं विदेशी मुद्रा आर्जन गर्न सक्ने सम्भावनाका बारेमा नेपालले आफ्नो धारणा राख्नेछ । यस अभियानमा अब कोइलामा लगानी गरिने छैन भन्ने विश्वव्यापी प्रतिबद्धताले नेपाललाई स्वच्छ ऊर्जामा थप लगानी भित्र्याउन सहयोग पुग्ने डा अधिकारीको भनाइ छ ।

नेपालले जलविद्युत् र नवीकरणीय ऊर्जाका स्रोतहरूबाट अहिले नै ९७ प्रतिशत जनतामा विद्युत्को पहुँच पुगेको छ । हाल उत्पादन भएको दुई हजार मेगावाट विद्युत्बाट विद्युत्मा खाना पकाउने, विद्युतीय सवारी साधन र थप उद्योगधन्दा सञ्चालन गर्नेतर्फ अग्रसर भैरहेकामा सन् २०३० सम्म थप १५ हजार मेगावाट विद्युत् उत्पादन गरी सबैलाई विद्युत् सुविधा पुग्ने छ । यसबाट सन् २०३० सम्म ३० मिलियन मेट्रिकटन कार्बनडाइअक्साइड र सन् २०५० सम्म ५० मिलियन मेट्रिकटन कार्बनडाइअक्साइड प्रतिवर्ष घटाउन सकिने छ ।

अहिले नै वर्षायाममा ५०० देखि ७०० मेगावाट विद्युत् छिमेकी मुलुकहरुलाई बिक्री गर्नसक्ने अवस्था रहेको छ भने हाल तीन हजार मेगावाट विद्युत् क्षमताका विद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् र सन् २०३० सम्म थप १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । यसबाहेक नेपालबाट भारत र बङ्गलादेशमा विद्युत् निर्यात गरी ती देशमा कोइला र प्राकृतिक ग्यासको खपत कम गरी प्रतिवर्ष ४० देखि ६० मिलियन मेट्रिक टन कार्बनडाइअक्साइड उत्सर्जिन कम गर्न सकिने सम्भावना रहेकाले नेपालले स्वच्छ ऊर्जाको क्षेत्रमा विश्वव्यापीरूपमै नेतृत्व गर्न सक्ने सम्भावनालाई पनि आजको दिवसमा राखिने बताइएको छ ।

कोप सम्मेलनकै क्रममा हरितगृह ग्यास उत्सर्जन कटौतीमा योगदान गरेवापत ३० करोड अमेरिकी डलर (करिब रु ३६ अर्ब ) प्राप्त गर्ने एक सम्झौतामा नेपालले हस्ताक्षर गरेको छ । अमेरिका, बेलायत र नर्वे सरकारको संयुक्त कार्यक्रमका रूपमा रहेको लोअरिङ इमिसन बाई एक्सेलेरेटिङ फरेस्ट फाइनान्स (लीफ)मा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले हस्ताक्षर गर्नुभएको थियो ।

कोप–२६ मा सहभागी विश्व नेताहरूको शिखर बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०४५ भित्र विशुद्ध शून्य उत्सर्जनमा पुग्ने लक्ष्य नेपालले राखेको र सन् २०३० भित्र कूल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चित गर्ने बताउनुभएको थियो । उहाँले देशको ४५ प्रतिशत भूखण्ड वन क्षेत्रले ढाक्ने पनि उल्लेख गर्नुभएको थियो । यिनै प्रतिबद्धतासहित नेपाली अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउने महत्वाकाङ्क्षी योजनासहितको राष्ट्रिय जलवायु योजना (एनडिसी) नेपालले पेस गरिसकेको छ ।

कोप–२६ मा सहभागी विश्वका सयभन्दा बढी देशका नेताले सन् २०३० भित्र वन विनाश रोक्न सहमति जनाएका छन् । वन विनाशले पृथ्वीलाई तताउने कार्बनडाइअक्साइड ग्यास सोस्ने वनजङ्गल मासिने भएकाले जलवायु परिवर्तनको समस्या तीव्ररुपमा बढ्दै गएको सन्दर्भमा भएको यस सहमतिलाई पृथ्वीमा रहेको वन जोगाउन तथा बढाउन एउटा महत्वपूर्ण उपलब्धिको रुपमा हेरिएको छ ।

वन संरक्षणमा जस्तै स्वच्छ ऊर्जाको क्षेत्रमा पनि नेपालले राम्रो प्रगति हासिल गरिसकेको छ । नवीकरणीय ऊर्जाले प्रयोगले विद्युतीकरणसँगै कार्बन उत्पादनमा समेत विशेष भूमिका खेल्दै आएको छ । हालसम्म नवीकरणीय ऊर्जासँग सम्बन्धित आयोजनाको सञ्चालनबाट उत्पादन भएको कार्बन बिक्रीबाट दुई करोड २६ लाख २४ हजार ८०८ दशमलव ९७ अमेरिकी डलर आम्दानी भएको छ ।

कोपमा ऊर्जा दिवस आयोजना हुँदै गर्दा नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत्् व्यापारका लागि अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत्् व्यापारका लागि स्वीकृति दिने निकायले यही सोमबार नेपाल विद्युत्् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत्् बिक्री गर्न अनुमति दिएको हो । कोइला अभावमा चरम ऊर्जा सङ्कट भोगिरहेको भारतले सोमबार इन्डियन इनर्जी एक्सचेन्जमा प्रतिस्पर्धामार्फत बिजुली बेच्न नेपाललाई अनुमति दिएसँगै नेपालको ऊर्जा व्यापारको ढोका खुला भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्