विराटनगरका सडकमा निर्माण सामाग्री भण्डारण, दुर्घटनाको जोखिम उच्च (भिडियो सहित)

विराटनगरका सडकमा निर्माण सामाग्री भण्डारण, दुर्घटनाको जोखिम उच्च (भिडियो सहित)

विराटनगर । सडक अतिक्रमणका कारण प्रदेश नं. १ को राजधानी विराटनगरमा पछिल्लो समय सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

फुटपाथ समेत मिचेर निर्माणजन्य सामाग्रीहरु सडकमै भण्डारण गर्दा बिशेषगरि बजारक्षेत्रका भित्री सडकखण्डहरुमा दुर्घटनाको जोखिम उच्च हुँदै गएकोे हो । व्यक्तिगत तथा व्यावसायिक निर्माण कार्यमा प्रयोग हुने ढुंगा, गिटी, बालुवा, इँटा र फलामे छड लगायतका सामाग्रीहरु सडकमै थुर्पादा दुर्घटना हुनुका साथै यसले शहरको सौन्दर्यतालाई समेत कुरुप बनाउँदै गएको छ । निर्माण सामाग्रीको उचित व्यवस्थापन नहुँदा दुईचक्के सवारीसाधनहरु चिप्लेर लड्ने तथा घण्टौं ट्राफिक जाम हुने समस्या दिनप्रतिदिन बढ्दै गएको विराटनगर–३ का सुबास ओझा बताउँछन् ।

गत असोज ९ गते शनिबार राती करिब १० बजे विराटनगर–९ भानुटोलस्थित कलेज रोडमा नेपाल ग्रामीण विकास समाज केन्द्रले सडकमा थुपारेको गिटीमा चिप्लेर एक मोटरसाईकल दुर्घटना भयो । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको अवस्थामा मोटरसाईकल चिप्लिँदा घोघापुल चोक बस्ने वर्ष २९ का सुनिल शाह गम्भीर घाईते भए । ७ दिन नोबेल र १५ दिन न्युुरो अस्पतालमा उपचार गरेपछि बल्ल उनलाई होस आयो । रिकभर हुँदै गएपछि कात्तिक १८ गते अस्पतालले उनलाई डिस्चार्ज दिएको छ । तर, हालसम्म उनी पुर्ण रुपमा हिँड्डुल गर्नसक्ने अवस्थामा छैनन् । उनको शरीरको दाहिनेपट्टीको भाग चल्दैैन् ।

यो एक प्रतिनिधिमुलक घटना मात्र हो । सडकमा भण्डारण गरिएको निर्माण सामाग्रीका कारण विराटनगरमा हरेक महिना ३ देखि ४ वटा सामान्यदेखि गम्भीर प्रकृतिका सवारी दुर्घटना हुने गरेका छन् । साँघुरो सडकमा निर्माण सामाग्री थुर्पादा आवतजावतमा समस्या हुनुका साथै यसले अनावश्यक ट्राफिक जाम समेत हुने गरेको छ । स्थानीयलाई सम्झाई बुझाई गर्दा पनि समस्याको दीर्घकालीन निकासको अभावमा अवस्था ज्युँको त्यूँ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख चन्द्र खड्काको भनाई छ ।

नगरक्षेत्रभित्रको सडक र फुटपाथ क्लियर गर्ने तथा अतिक्रमण हुनबाट जोगाउने सम्पुर्ण दायित्व र जिम्मेवारी विराटनगर महानगरपालिकाको हो । प्राप्त जिम्मेवारी अनुसार महानगरले सडक तथा फुटपाथ अतिक्रमण गर्नेलाई सम्झाई बुझाई तथा कानुन बमोजिम दण्ड जरिवाना गर्दै आएको छ । अटेरी गर्नेलाई महानगरले १ हजारदेखि १० हजारसम्मको जरिवाना गर्ने गरेको छ । तर, आम नागरिक स्वयंम संवेदनशील नबन्दा महानगरको प्रयास पनि बालुवामा पानी हालेझैं भएको महानगरका नगरप्रहरी प्रमुख राजन पौडेल बताउँछन् ।

मोरङमा चालु आर्थिक वर्षको पछिल्लो ३ महिनाको अवधिमा मात्रै ८८४ वटा सवारी दुर्घटना भएका छन् । जसमा १२ देखि १५ वटा सवारी दुर्घटना सडकमा थुपारिएका निर्माण सामाग्रीका कारण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्