विराटनगर । विराटनगर महानगरपालिकामा तीन वटा दमकल मात्र छन् । जापान सरकारले दिएको सबै भन्दा ठूलो एउटा दमकल बिग्रिएर बषौदेखी थन्किएको छ । चालु अवस्थामा रहेको एउटा दमकल धेरै बर्ष पुरानो भएकोले धेरै लामो र चाँडो कुदन सक्दैन । बिग्रिरहने भएकोले गन्तव्यमा पुग्छ कि पुग्दैन भन्ने यकिन नै हुदैन ।
पानी स्टोरेज क्षमता न्यून रहेका पुराना दुई वटा र भर्खरै प्रदेश सरकारले दिएको एउटा गरेर जम्मा तीन वटा दमकल छन् । महानगरपालिकाले दमकल थप्ने योजना बनाएको छैन । बरु भएकै दमकललाई वर्षै मर्मत गरेर व्ययभार बढाउँदै छ ।
नगरबाट उपमहानगर अनि महानगर, प्रदेश १ को राजधानी बन्न सफल विराटनगर आगलागीको उच्च जोखिममा छ । तर, आगो निभाउने दमकलको संरचना र अवस्था पुरानै छ । कामचलाउ दयनीय अवस्थामै रहेको महानगरको दमकल अवस्था विकसित र विस्तार भएको छैन ।
विराटनगर प्रदेश १ को राजधानी मात्र नभएर देशकै दोस्रो ठूलो औधोगिक तथा प्रशासनिक शहर पनि हो । ७६.९९ बर्ग कमी क्षेत्रफलमा ५० हजार हाराहारी घरघुरी छन् । विराटनगरमा अढाई लाख भन्दा धेरै जनसंख्याको बसोबास छ । शिक्षा र स्वास्थ्यको हव बनिसकेको विराटनगरमा दुई ठूला मेडिकल कलेज दुई दर्जन ठूला अस्पताल, र दर्जनौं शिक्षण सँस्थाहरु छन् । प्रदेशको राजधानी भएकोले प्रदेश १ सरकारका १३ वटा मन्त्रालय र प्रदेश सभा पनि छ ।
व्यापरिक मलको रुपमा भाटभटेनी, सेन्ट्रल मल जस्ता आधुनिक ठूला र अग्ला प्रतिष्ठान छन् । बाँकी थप दुईवटा यस्ता मल निर्माणको चरणमा रहेको छ । बसोवास र व्यापार व्यवसायको चाप बढ्दै गएपनि विपद् व्यवस्थापन पूर्व तयारीको अवस्था कमजोर रहेको छ ।
जीवनशैली आधुनिक बन्दै गएपछि शहर पराम्परागत ढाँचामै छ । शहरभरी बिद्युत आपूर्तिका तारहरु अलपत्र र छरपस्ट छ । तर, सरकारी, व्यापारिक तथा निजी घरहरु वातानुकुलित छन् । जसको भार बिद्युत आपूर्ति गर्ने तारहरु थेग्न नसक्दा आगलागीको जोखिम झन् धेरै छ । मापदण्ड बिनाका इन्धन बिक्री केन्द्र जोखिम निम्त्याउन प्रतिक्षामा रहे जस्तो अवस्थामा छन् ।
कंिह कतै अचानक आगलागी भएमा महानगरपालिकासँग भएका साना तीनवटा दमकलले मात्र नियन्त्रण गर्न नसक्ने र विराटनगरमा धेरै ठूलो धनजनको क्षति हुने देखिन्छ ।
पाँचमा जेनतेन चल्छन् तीनवटा
हाल विराटनगर महानगरपालिकाको बारुणयन्त्र शाखामा जम्मा पाँच वटा दमकल छन । तर भएका मध्ये पनि सबै भन्दा ठूलो एउटा दमकल बर्षौदेखी बिग्रिएर थन्किएको छ । दमकल मात्रै नभई महानगरपालिकाको बारुणयन्त्र शाखामा जम्मा २ जना मात्र तालिम प्राप्त जनशक्ति छ । भएका १४ जनामध्ये १२ जना अहए खटाएको गर्ने मात्रै छन् ।
बारुण यन्त्र शाखाका कर्मचारीहरुका अनुसार ठूला अग्ला होटल र मलहरुमा आगलागी भएमा माथि सम्म जानसक्ने क्रेन सहितको दमकलको एकदमै अभाव खड्किएको छ । अर्कोतिर ठूला स्थानमा आगालागी भएमा भित्र कसरी पस्ने र पानी कसरी पुरयाएर छर्केने भन्ने योजना नै छैन । तीन सिफ्टमा काम गर्ने १४ कर्मचारी अचानक आगलागी भएमा बिन्यास गरेर पठाउन समेत असजिलो हुनेछ । एकवटा दमकलमा चालकसहित ६ जना जनशक्ति आवश्यक पर्ने बारुणयन्त्र शाखाका इन्चार्ज भीमबहादुर बिष्टले जानकारी दिनुभयो ।
पुराना दमकलमा योजना र तालिमबिहीन जनशक्तिसहित आगो नियन्त्रण गर्न समस्या पर्ने गरेको बारुणयन्त्र शाखाका कर्मचारीको गुनासो छ । विराटनगर महानगरपालिकाले जोखिम बढदै गएपनि आगलागी बारे सूचना संकलन गर्ने र बुझने प्रणाली पनि परम्परागत छ । अझै सर्बसाधारणले आगालागी भएमा प्रहरी वा जनप्रतिनिधिहरु मार्फत फोन गर्नुपर्ने हुन्छ ।