विराटनगरमा मेयरका दाबेदार : काँग्रेसमा ‘फ्याक्टर’ असर, एमाले सिंगल

विराटनगरमा मेयरका दाबेदार : काँग्रेसमा ‘फ्याक्टर’ असर, एमाले सिंगल

विराटनगर । प्रदेश १ को एकमात्रै महानगरपालिका र प्रदेश राजधानी विराटनगर दशदिन पछि हुने स्थानीय निर्वाचनको प्रचारमा केन्द्रीत छ ।

यस पटक १ लाख ३३ हजार १४२ मतदाता भएको विराटनगरमा सत्ता गठबन्धन भनिएको नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँगै यहिं भित्र जन्मिएको स्वतन्त्र लाल्टिन पार्टीदेखि सिंगल भिडिरहेको एमालेका उम्मेदवार आगामी निर्वाचनबाट मेयर र उपमेयरमा निर्वाचित हुने होडमा छन् । औद्योगिक नगरी विराटनगरमा देशका मूलधार मानिएका पार्टीको दावी हुनु स्वभाविक छ । तर, यस पटक विराटनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी उपस्थितिमा कहलिएको छ । त्यस बाहेक गठबन्धनको ‘सहउत्पादन’ मानिएको स्वतन्त्र उमेदवारी दिएका नेताहरु समेत उतिकै चर्चामा रहेका छन् ।

काँग्रेसलाई विरासत जोगाउने चुनौती
विरासत जोगाउने चुनौती लिएर नेपाली काँग्रेसका नागेश कोइराला मेयरका उमेदवार छन् । उनीसँग जनता समाजवादी पार्टीका अमरेन्द्र यादव उपमेयर तालमेलका उम्मेदवार हुन् । निर्वाचन प्रचारमा दुई राजनीतिक पार्टीबाट उम्मेदवार बनेका नेताबीचको ‘केमेष्ट्रि’ मिलेको देखिएको छ । तर, फरक–फरक राजनीतिक पार्टीबाट उमेदवार बनेका दुई पुरुषलाई मेयर र उपमेयरमा निर्वाचित गराउने मतदाताको ‘केमेष्ट्रि’ कस्तो होला निर्वाचनसम्म प्रतिक्षा गर्नु बाहेकको विकल्प छैन । यो मेयर र उपमेयर जोडीका लागि आफ्नै सत्ता गठबन्धनसँग जोडिएको स्वतन्त्र ‘फ्याक्टर’ निक्कै चुनौती मानिएको छ । हिजोसम्म जनता समाजवादी पार्टीमा रहेर आधार तयार गरेका उमेश यावद अहिले स्वतन्त्र लाल्टिन चुनाव चिन्हका उम्मेदवार बनेका छन् । हिजोसम्म माओवादीमा रहेर राजनीति गरेकी नमिता न्यौपाने पनि स्वतन्त्रबाट लाल्टिन चुनाव चिन्हकै उपमेयर उम्मेदवार हुन् । संयोग छ, २०७४ सालको स्थानीय निर्वाचनमा विराटनगरमा काँग्रेस एमालेलाई टक्कर दिने संघीय समाजवादी फोरम र माओवादीका यी दुई उम्मेदवार आज पुनः अघोषित गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् ।

यसको प्रभाव गठबन्धन भनिएको नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका उम्मेदवारलाई पर्ने देखिन्छ । उमेश र नमिताको व्यक्तिगत प्रभाव विराटनगरको राजनीतिमा नागेश र अमरेन्द्रको सरह नै मानिन्छ । यस बाहेक राप्रपा नेपालबाट मेयर पदमा प्रल्लाहद साहको उमेदवारी छ । साहको आफ्नै प्रभाव रहेका कारण काँग्रेसका मतदाता त्यहाँ आकर्षित हुने धेरैको अनुमान छ ।

गठबन्धनको किचलो काँग्रेसलाई घाटा
केन्द्रमा राजनीतिक पार्टीबीच चुनावी गठबन्धन गर्ने सहमति भईसक्दा समेत विराटनगरमा गठबन्धन नगर्ने काँग्रेसको मनसाय विरुद्ध माओवादीले अघोषित मोर्चाबन्दी गर्ने अनुमान गरिएको छ । जसको स्पष्ट संकेत माओवादीबाट स्वतन्त्र उपमेयर उम्मेदवार न्यौपानेलाई अहिलेसम्म पार्टीले कारवाही नगर्नु ।
माओवादीप्रति अनुदार बनेका डा.शेखर कोइरालाले आफ्नो पक्षका नेता नागेशलाई मेयरको टिकट दिलाएपनि काँग्रेसको आन्तरिक सन्तुलन र अन्य पार्टीसँगको सन्तुलन मिलाउने भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना सुरु भएको छ । निर्वाचनमा आन्तरिक पार्टी जीवनलाई सुदृढ र बाह्य पार्टीसँगको सम्बन्धमा ध्यान दिनुपर्ने कुरालाई काँग्रेसको विराटनगर महानगर समितिले समेत इन्कार गर्दै आएको छ । जसको प्रभाव पनि सत्ता गठबन्धन अस्वीकार गरेको काँग्रेसका मेयरलाई पर्ने अनुमान गरिएको छ ।

विराटनगरमा एमाले सिंगल दौडमा
बहुसंख्यक ‘फ्याक्टर’ जोडिएको प्रमुख दावेदारी मानिएका काँग्रेस–जसपाका उम्मेदवार नागेश र अमरेन्द्रसँग एमालेबाट मेयरमा सारिएका सागर थापा र उपमेयर शिल्पा निरौला कार्की एकल दौडमा देखिएका छन् । उनीहरुसँग कुनै उल्झन छैन । जसले निर्वाचनको मतपरिणामलाई अदलबदल बनाउन सकोस् । सामान्य आर्थिक अवस्था रहेका थापा विराटनगरको राजनीतिमा महेन्द्र मोरङ क्याम्पसको दुई कार्यकाल सभापति भएसँगैको साइनो गाँसेका उम्मेदवार हुन् । उनीसँगै उपमेयरको उमेदवार रहेकी शिल्पा कार्की औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानदेखि सीपमूलक व्यवसायको क्षेत्रमा सफल मानिएकी महिला नेतृ मानिएकी छिन् ।


यी दुवै उम्मेदवार विराटनगरका सबै खाले मतदातासम्म पुग्ने जमर्को गर्दै घरदैलोमा क्रियाशिल छन् । राजनीतिमा स्पष्ट देखिएका उनीहरु सत्ता गठबन्धन भनिएको काँग्रेस–जसपाका नागेश र अमरेन्द्रका पछि देखिएको लाल्टिन पार्टी उमेश र नमिता फ्याक्टरको लाभ लिने दाउमा छन् । तर, एमालेबाट मेयरका उम्मेदवार बनेका थापाले आफ्नो पार्टी सिंघल नै बलियो आधारसहित निर्वाचनमा होमिएकोले अन्य फ्याक्टरमा भर नपरेको दावी गरे । थापाले विराटनगरका मतदाताले आफ्ना कार्यालयमा प्रवेश गर्दा सहज हुने मेयर खोजिरहेकोले त्यसको एकमात्रै प्रतिनिधि आफु रहेको दावी गरे । मूलधारको पार्टीबाट एकमात्रै महिला उपमेयर उम्मेदवार बनेकी शिल्पा कार्की विराटनगरका मतदाताले आफ्नो विवेक प्रयोग गर्नेमा विश्वस्त छिन् ।

कस्तो छ २०७४ को मतपरिणाम
काँग्रेसले गठबन्धन भाँडेको विराटनगरमा नागेश र अमरेन्द्रलाई पछ्याएका जसपाका विद्रोही उमेश र माओवादी विद्रोही नमिताले २०७४ सालमा राम्रो प्रभाव छोडेका थिए । अहिले लाल्टिन चुनाव चिन्हमा स्वतन्त्र उम्मेदवार दिएका उनीहरुमध्ये तत्कालिन सङ्घीय समाजवादी फोरमबाट उमेश यादवले १४ हजार ९५८ मत ल्याएका थिए । माओवादीकी न्यौपानेले उपमेयरमा ११ हजार ५२४ मत पाएकी थिइन् ।

विराटनगरमा २०७४ मा मेयर निर्वाचित काँग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत र उपमेयर इन्दिरा कार्कीले २० हजार १४६ मत पाएकी थिइन् । एमालेका विनोद ढकालले १७ हजार ३२१ र लोकतान्त्रिक फोरमबाट उपमेयर बनेकी सुची चौधरीले १० हजार ५३६ मत ल्याएकी थिइन् ।
काँग्रेसलाई त्यसबेलाको लोकतान्त्रिक फोरम अहिले काँग्रेसमा समाहित भएको फाइदा छ । त्यसबेला पार्टीगत रुपमा रहेको संघीय समाजवादी फोरमको मतसँग अहलिे काँग्रेसको मतको तालमेल गरिएको छ । त्यस बाहेक राप्रपाको सुनिल थापा समूह समेत काँग्रेसमै समायोजन भएको छ । यसैमा टेकेर काँग्रेसले विराटनगरमा माओवादीलाई चिड्याएको आरोप पनि उतिकै छ ।

विराटनगर कसको आधार ?
नेपाली काँग्रेसले आफ्नो प्रभाव क्षेत्र मान्ने विराटनगर अहिलेसम्म कुनै खास राजनीतिक दलको आधार भने मानिएको छैन । निर्वाचनपछि यहाँका मतदाताले दल फेरेर मतदान गर्दै आएका छन् । विराटनगरमा काँग्रेस मात्रै एकछप्पा भन्नु विगतका निर्वाचनको मतपरिणामले गलत सावित गरिदिन्छ ।
विराटनगरमा २०४३ सालमा वामपन्थी उम्मेदवार ध्रुवनारायण श्रेष्ठ, २०४८ सालमा काँग्रेसका उमेदवार अशोक कोइराला मेयरमा निर्वाचित भएका थिए । पुनः २०५४ सालको निर्वाचनमा एमालेका रमेशचन्द्र पौडेल मेयरमा निर्वाचित भएका थिए । उनै पौडेलको पालामा तयार पारिएको विराटनगर विकास प्रारुप अहिले कार्यन्वयनमा आएको मानिन्छ । त्यसपछि २०७४ को निर्वाचनमा पुनः नेपाली काँग्रेसका भीम पराजुलीले मेयरमा जितेका थिए । पराजुलीको पाँचवर्षे कार्यकाल सन्तोषजनक नभएको भन्दै विराटनगरका मतदाताले पार्टी फेरेर मत हाल्ने आंकलन पनि धेरैको छ । मेयर पराजुलीका निकटतम प्रतिद्वन्दी बिनोद ढकाल विराटनगर वामपन्थीहरुको उर्वर भूमि रहेकोले यस पटक चुनावी मतपरिणाम फर्कनेमा आसावादी हुनुहुन्छ । २०७४ सालमा आफैं उम्मेदवार हुँदा केहि प्राविधिक कारणले पराजय भोग्नु परेपनि यस पटक त्यस्तो समस्या नरहेको ढकालको बुझाई छ ।

सत्र वर्षमा काँग्रेस प्रभावको स्थिति
विराटनगरसँग जोडिएरका तीन केन्द्रीय निर्वाचन क्षेत्रमा काँग्रेसको स्थिति कमजोर देखिन्छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा विराटनगर जोडिएको ५, ६ र ७ मा काँग्रेस पराजित भएको थियो । तत्काल मधेश आन्दोलनमा जोडिएको मधेशी जनअधिकार फोरमले जीत हाँसिल गरेको थियो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काँग्रेसका डा.शेखर कोइरालाले ७ र महेश आचार्यले ६ नम्बर निर्वाचन क्षेत्रबाट जीत हाँसिल गरेका थिए । ५ नम्बर निर्वाचन क्षेत्रमा माओवादीका शिवकुमार मण्डल निर्वाचत भएका थिए ।

त्यसपछि २०७४ मा भएको स्थानीय तह निर्वाचनमा काँग्रेसले मेयर र उपमेयर दुवैमा जीत हाँसिल गरेको थियो । तर, त्यसको छ महिनापछि भएको निर्वाचनमा विराटनगरसँग जोडिएको ४, ५ र ६ नम्बर संघीय निर्वाचन क्षेत्र र प्रत्येक भित्र रहेका दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा काँग्रेस कमजोर देखियो । निर्वाचन क्षेत्रनम्बर ४ मा माओवादीका अमनलाल मोदी र ५ मा शिवकुमार मण्डल तथा ६ मा एमालेका लालबाबु पण्डित निर्वाचित भए । प्रदेशसभा निर्वाचनमा पनि काँग्रेसका केदार कार्की बाहेक अरु सबै पराजित भए । बाँकी स्थान अन्य पार्टीको नाममा गयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्