विराटनगर । मानव भएर जन्मिएपछि प्रायः सबैले दीर्घजीवनको कामना गर्छन् । आफ्नो जीवन सबैलाई प्यारो हुन्छ । तर, चरम निराशा उत्पन्न भएर विकल्पका ढोकाहरु बन्द भएपछि प्रायः मानिसले आत्महत्याको बाटो रोज्छन् ।
विभिन्न किसिमका प्राकृतिक तथा दैवी प्रकोपको तुलनामा यसरी ज्यान गुमाउनेहरुको संख्या ठुलो छ । विश्वमा प्रत्येक ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्छन् भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्छन् । यसरी हेर्दा प्रत्येक बर्ष सरदर ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेका छन् । तर, यो श्रृङ्खला रोक्न संघीयदेखि स्थानीय तहसम्मका सरकारबाट हालसम्म कुनै ठोस पहल भएको देखिँदैन् । ठुलो चूनौतीको रुपमा देखा पर्दै गएको आत्महत्याको ग्राफ घटाउन सरकारी पक्ष उदासीन देखिएको मनोविमर्शकर्ता मञ्जिता उपाध्याय बताउँछिन् । ‘सरकारको काम बजेट बनाउने र खर्च गर्ने मात्र होईन् । समाजमा पनि जानुपर्छ । जनताको समस्या सुन्नुपर्छ । अनि समाधानको प्रयास गर्नुपर्छ,’ उनी भन्छिन्, ‘विभिन्न किसिमका जनचेतनामुलक तथा तनाव व्यवस्थापन सम्बन्धि गतिविधिहरु स्थानीय स्तरबाटै सञ्चालन गरिनुपर्छ । यसले सुसाईड रेट घटाउँछ । एउटा सानो प्रयासले कसैको जीवन जोगाउन सकिन्छ ।’
चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ११ महिनाको अवधिमा मात्रै प्रदेश १ मा १ हजार ३२२ जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन् । साउनमा ८६, भदौमा १०८, असोजमा ११३, कात्र्तिकमा १३९, मंसिरमा ९२, पुषमा १०९, माघमा ११६, फाल्गुणमा १२७, चैत्रमा १४०, बैशाखमा १३० र जेठमा १६२ जनाले आत्महत्या गरी ज्यान गुमाएको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २ वर्षअघि यो संख्या १ हजार २ सयमा सिमित थियो । तर, पछिल्लो केही वर्षयता आत्महत्याका कारण ज्यान गुमाउनेहरुको संख्या श्रृङ्खलाबद्ध रुपमा बढ्दै गएको छ । अन्य विभिन्न कारण भएपनि ९५ प्रतिशत व्यक्तिले मानसिक समस्या अर्थात् डिप्रेशनका कारण आत्महत्या गर्ने गरेको प्रहरीको अध्ययन छ । अध्ययन अनुसार बाँकी ५ प्रतिशतले क्षणिक आवेगमा निर्णयशक्ति गुमाएर आत्महत्या वा आत्महत्याको प्रयास गर्ने गर्दछन् ।
यो मानसिक रोगले नभएर अचानक हुने घटनाक्रम अथवा तनावसँग लड्न नसकेर हुने गरेको १ नं. प्रदेश प्रहरीका कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक नविनराज राई बताउँछन् । महिलाहरुको तुलनामा पुरुषहरुले बढी आत्महत्या वा त्यसको प्रयास गर्ने गरेको उनको भनाई छ । ‘कोभिड पश्चात आत्महत्याको ग्राफ उकालो लागेको छ । त्यसमा पनि पुरुषहरुले बढी आत्महत्या तथा आत्महत्याको प्रयास गरेको हाम्रो अनुसन्धानले देखाएको छ,’ उनी भन्छन्, ‘कोभिड पश्चात सिर्जना भएको बेरोजगारी र आम नागरिकको कमजोर क्रयशक्तिका कारण उत्पन्न पारिवारिक झगडा र विवादले पनि आत्महत्यालाई प्रेरित गरेको देखिएको छ । कोभिड पश्चात उत्पन्न बेरोजगारीको समस्याले परिवारको भोको पेट भर्न समेत हम्मेहम्मे परेपछि धेरैले आत्महत्याको प्रयास गरेका छन् ।’
आत्महत्यालाई निरुत्साहित पार्ने बिषयमा प्रहरी पनि सक्रिय रहेको प्रहरी उपरीक्षक राई बताउँछन् । बेलाबखतका जनचेतनामूलक र समुदाय प्रहरी साझेदारी कार्यक्रमले यसमा केही हदसम्म सहयोग पुर्याएको उनको अनुभव छ । तर, आत्महत्यालाई निरुत्साहित बनाउन प्रहरीको प्रयास मात्र पर्याप्त नरहेको उनी गुनासो गर्छन् । ‘१ जना प्रहरीमाथि ५०० जना आम नागरिकको सुरक्षाको जिम्मेवारी छ । हामीसँग त्यस प्रकारका सचेतनामुलक कार्यक्रममा लागि पर्याप्त बजेट पनि छैन् । हाम्रो श्रोत साधनले भ्याएसम्म हामीले प्रयास गरिरहेकै छौं । तर, यसमा सरकारको तदारुकताको खाँचो छ,’ उनी भन्छन्, ‘पर्याप्त जनशक्ति र बजेटको अभावमा प्रहरीको मात्र भर परेर आत्महत्याको बढ्दो श्रृङ्खलालाई रोक्न सकिँदैन् ।’
कमजोर क्रयशक्ति, दुव्यर्सन, गरिबी र डिप्रेशन नै आत्महत्याको प्रमुख कारकतत्व रहेको मनोचिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार अन्य रिस्क फ्याक्टरहरुको तुलनामा अधिकांश आत्महत्याहरु डिप्रेशनकै कारण हुने गरेका छन् । डिप्रेशनका बिरामीलाई समाजले गर्ने व्यवहार र हेर्ने दृष्टिकोणले पनि आत्महत्यालाई प्रसय दिईरहेको विराटनगरस्थित कोशी अस्पतालका मनोचिकित्सक डाक्टर आलोक झा बताउँछन् । उनी भन्छन्, ‘ डिप्रेशनको समस्या भएकालाई समाजले पानी मरुवा र लाछीको उपमा दिन्छ । समाजकै डरले धेरै बिरामीले नियमित औषधी समेत सेवन गर्दैनन् । समस्या लुकाउँछन् । पछि रोग बल्झिदै गएपछि आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आउँछ ।’
के हुन् लक्षण ?
दिक्दारीपन, मानसिक असन्तुलन, मेनिया, सोमाटो फर्म डिसोर्डर, मनोत्रास र विकृत तनाव आत्महत्याको मानसिकता तयार पारिसकेका व्यक्तिहरुमा देखिने प्रमुख लक्षणहरु हुन् । नरमाईलो लाग्ने, थकाई बढी लाग्ने, निन्द्रा नलाग्ने अथवा निन्द्रा बढी लाग्ने, भोजन मिठो नलाग्ने, शारिरीक तौल घटने, एकान्त मन पराउने, रुन मन लाग्ने र चाँडै रिस उठने लगायतका सङ्केतहरु देखा परे तुरुन्तै चिकित्सकीय सल्लाह लिनुपर्ने कोशी अस्पतालका मनोचिकित्सक डा. आलोक झाको सुझाव छ । ‘समयमै मानसिक रोग बिशेषज्ञको सल्लाह बमोजिम नियमित औषधी सेवनले यो समस्या समाधान हुन्छ,’ उनी भन्छन्, ‘सबै किसिमको रोगमा लामो समयसम्म औषधी खानुपर्दैन । मानसिक रोगीहरुलाई निश्चित समयका लागी औषधी खुवाईन्छ र मानसिक तवरले पुर्ण रुपमा स्वस्थ भएपछि क्रमशः औषधीको मात्रा पनि घटाईन्छ ।’
नेपाली समाजमा मानसिक रोगीलाई मनोचिकित्सकलाई नदेखाएर धामी झाँक्रीलाई देखाउने प्रचलन अझै पनि विद्यमान छ । यस किसिमका रोग लामा, झाँक्री र पुजाबाट कदापि ठीक नहुने चिकित्सकहरु बताउँछन् । समस्या देखिए बिशेषज्ञको सल्लाह बमोजिम नियमित औषधी सेवन गर्नुपर्ने उनीहरुको सुझाव छ ।