रबिन्द्र बराल
रंगेली । मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा अहिले दुईवटा ढुङ्गा (नाउँ) सञ्चालनमा छन् । पुल बनेको दशबर्ष भएपनि खोला दुई भागमा बाँडिएपछि नाउँको सहारामा लिनु परेको हो ।
रतुवा खोलमा सामान्य पानी आउँदा समेत कहिले नाँउको माध्यमबाट त कहिले भाटाको पुलबाट आवतजावत गर्ने बाध्य छन् स्थानीय ।
झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिकाको बीचमा रहेको रतुवाखोलामा अहिले एउटा खोला दुई भाग बनेर पानी बगिरहेको छ । जुन भागमा पुल बन्यो त्यसलाई बीचमा पारेर खोला पुल दाँया–बाँया विस्तार भएको छ । पूर्वमा ३ सय मिटर र पश्चिममा समेत ३ सय मिटरमा खोला बगिरहेको छ । खोलाको बीच भगमा बलौटे माटो छ । खोलामा अहिले पुलवारी र पुलपारी दुईवटा नाउँमा आवतजावत गर्ने स्थानीयले फरक फरक रकम तिरेर वारपार गर्दछन् ।
झापातर्फबाट एउटा मोटरसाईकल खोला पारी गरेको ७० रुपैयाँ र साईकलको ३० रुपैयाँसम्म बुझाउनु पर्दछ । मोरङतर्फबाट मोटरसाईकलको ५० रुपैयाँसम्म बुझाउनु पर्ने स्थानीय हेमा ताजपुरिया ले बताइन्। उनी गौरिगञ्ज नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत छिन् । दैनिक आवातजावत गर्दा रकम बुझाउने गरेको बताउँछिन् ।
मोरङबाट झापा गौरिगञ्ज जानका लागि यो खोला बाट ३ किलोमिटरमा पुगिने भएता पनि भारत बाट ३० किलोमिटरको दुरी तय गर्नुपर्छ । हुलाकी राजमार्ग को लागि आवतजावतमा सहज होस भनेर निर्माण भएको यो पुल अहिलेसम्म बेकामे बनेको छ ।
२०६५ साउन १ गतेदेखि औपचारिक शिलान्यास गरी निर्माण शुरु गरिएको पुल निर्धारित समयभन्दा झण्डै ५ वर्षपछि २०७२ साल जेठमा सम्पन्न भएको थियो । उक्त पुल १० करोड ४१ लाख ९४ हजार ९ सय २८ रुपैयाँ लागतमा निर्माण गरिएको हो । पुलमा ९ वटा पिल्लर रहेको पुल २ सय ५ मिटर लम्बाइ समेत रहेको छ । पुल अहिले प्रयोगविहीन हुँदा स्थानीय बाँसको पुल र ढुङ्गा बाट लडदै हिडन बाध्य रहेका छन ।
करोडौ रुपैैँया लगानी गरेर निर्माण गरिएको पुल सम्पन्न भएको पनि बर्षो बितिसक्दा समेत सो पुल राम्रोसँग सन्चालनमा आउन सकेको छैन । उक्त पक्कि पुल प्रयोगमा आउन नसकेपछि यहाँका स्थानीय भारत बाट खरिद गरेर नाउ ल्याएर सञ्चालनमा ल्याएका छन । पक्की पुल खोलाका बीचमा भएकाले प्रयोग गर्न नमिलेपछि स्थानी बासिन्दाहरूले आफ्नै पहलमा कहिले पक्की पुल मुनि बाँसको भाटाको माध्यम त कहिले नाउँको साहारा लिन्छन् ,।
नेपाल सरकारले सिमावर्ती क्षेत्रमा रहेको सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा राखेतापनि अहिले त्यो भने अधुरै रहेको पाईन्छ । २०६५ सालमा भौतिक तथा निर्माण मन्त्री रहदा बिजय कुमार गच्छदारले शिलान्यास गरेको सो पुल हालसम्म पनि निर्माण सम्पन हुन सकेको छैन । दुईसय मिटर लम्बाईकोे पुल निर्माण भई सकेता पनि पुलको उचाइ १० फिट अलगोे रहेको हुुुुनाले पूर्व र पश्चिमतर्फ सडक समेत नभएको कारण समस्या परेको स्थानीय बताउछन् । प्रत्येक दिन खोला बाट नाउँ को साहरामा ३ सय देखि ५ सय सम्म आवत जावत गर्ने गरेका छन् ।