अनुदानले कृषकको अनुहारमा ल्याएको खुसी

अनुदानले कृषकको अनुहारमा ल्याएको खुसी

इनरुवा । सुनसरी बराहक्षेत्र नगरपालिका–२ का धनेन्द्रबहादुर बस्नेत तीन वर्षदेखि तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले चार बिघा जग्गा भाडामा लिएर खेती गर्दै आउनुभएको हो । उहाँले भाडामा लिएको जग्गामा विभिन्न जातका तरकारीखेती गर्दै आउनुभएको छ ।

उहाँले व्यावसायिकरुपमा तरकारीखेती गरे पनि अहिलेसम्म कुनै सरकारी अनुदान पाउनुभएको थिएन । कृषक बस्नेतले १० कठ्ठा जग्गामा तरुल, १० कठ्ठा जग्गामा ओल र बाँकी रहेको जग्गामा विभिन्न जातका तरकारीखेती गर्नुभएको छ । तरकारी खेतीबाट वार्षिकरुपमा २५ देखि ३० लाख रुपैयाँसम्म आम्दनी गर्न सकेको उहाँ बताउनुहुन्छ ।

सुरुसुरुमा तरकारीखेती गर्दा उहाँलाई ठूलै आर्थिक समस्या थियो । सरकारले कृषिमा विभिन्न अनुदानको व्यवस्था गरेको भए पनि उहाँलाई कुनै निकायले पनि सहयोग गरेका थिएनन् । मजदूर अभाव भएका बेलामा खेती गर्नका लागि बस्नेतलाई निकै असहज भएको थियो । उहाँ भन्नुहुन्छ, “आर्थिक अभावका कारण त्यतिबेला व्यवसाय नै छाडेर हिँडौँ जस्तो भएको थियो । कसैले सरसापटसमेत पत्याएनन् ।’’

कृषि ज्ञानकेन्द्र इनरुवा सुनसरीले आर्थिक वर्ष २०७८÷७९ मा नमुना कृषिक फार्म सहयोग कार्यक्रमअन्तर्गत कृषकलाई अनुदान दिएपछि भने बस्नेतलाई तरकारीखेती गर्नका लागि सजिलो भएको छ । कृषक बस्नेतको अदित्य नमो कृषि फर्ममार्फत ज्ञानकेन्द्र इनरुवा सुनसरीले नमूना कृषि फार्म सहयोग कार्यक्रमअन्तर्गत अनुदानबापत ७५ प्रतिशत रकम प्राप्त भएको थियो । यसमा उहाँले २५ प्रतिशत लागत थप गरेर सात लाख रुपैयाँ बराबरको कृषि औजार तथा उपकरण प्राप्त भएको थियो । कार्यालयले दिएको अनुदानबाट बीउबिजन, कृषि यान्त्रीकीकरण गर्नका लागि विभिन्न औजार तथा उपरण खरिद गरेपछि व्यावसायिकरुपमा खेती गर्न सहज भएको उहाँले बताउनुभयो ।

त्यसैगरी सुनसरी रामधुनी–७ का कृष्णकुमार गुरुङले तीन वर्षदेखि आफ्नै एक बिघा जग्गामा ड्रागन फ्रुटखेती गर्दै आउनुभएको छ । उहाँले व्यावसायिकरुपमा ड्रागन फ्रुटखेती गरेको भए पनि अहिलेसम्म अनुदान पाउनुभएको थिएन । उहाँका अनुसार वार्षिक ५० देखि ६० क्विन्टल ड्रागनका फल उत्पादन हुने गरेको र यसबाट करिब ३० देखि ४० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।

उहाँलाई ड्रागन फ्रुटखेती सुरु गर्दा कामदारको अभाव एकातिर थियो भने अर्कोतिर विभिन्न उपकरण नहुँदा समस्या थियो । पछिल्लो समय कृषिज्ञान केन्द्रले आव २०७८÷७९ मा कार्यक्रमअन्तर्गत अनुदान दिएपछि त्यसबाट आवश्यक उपकरण खरिद गर्न सहज भएको उहाँको भनाइ छ ।

कृषक गुरुङले सञ्चालन गरेको तमु कृष्ण बहुद्देश्य कृषि फार्मलाई कार्यक्रमअन्तर्गत अनुदानबापत ७५ प्रतिशत अनुदान प्रदान गरिएको थियो । त्यसमा उहाँले २५ प्रतिशत रकम थपेर कूल सात लाख रुपैयाँमा थोपा सिँचाइ मेसिन, टनेल हाउस, घाँस काट्नका लागि ब्रसकटर, पानीका लागि बोरिङ, खेती विस्तार, मिनी ट्र्याक्टर, मलचिङ प्लाष्टिक, उत्पादन भएको ड्रागन फ्रुट राख्नका लागि क्रेट, एकपाङ्ग्रे ठेलालगायतको सामग्री खरिद गर्नुभएको थियो । यी सामग्रीले आधुनिक ढङ्गबाट खेती गर्नका लागि सहज भएको गुरुङको भनाइ छ ।

सुनसरी देवानगञ्ज गाउँपालिका–७ का अनिलकुमार चौधरी र मनोजकुमार चौधरी दुवै दाजुभाइ हुनुहुन्छ । दुवैले संयुक्तरुपमा तीन वर्षदेखि सात बिघा जग्गामा फलफूल तथा तरकारीखेती गर्दै आउनुभएको छ । तरकारी तथा फलफूलको खेती सुरु गर्दा लाग्ने खर्च जोहो गर्न उहाँहरुलाई निकै समस्या झेल्नुपरेको थियो । सरकारी वा गैरसरकारी कुनै निकायले अनुदान नदिँदा निकै समस्या झेल्नुपरेको थियो ।

“जिल्लामै नमूना तरकारी तथा फलफूलको खेती गर्दै आएको भए पनि कतैबाट अनुदान पाएका थिएनौँ”, अनिलकुमारले भन्नुभयो, “सुरुसुरुको अवस्था आम्दानी पनि नहुने, खर्च मात्रै हुँदा हामी निरास पनि भयौँ तर पनि हिक्मत हारेनौँ ।” आव २०७८÷७९ मा कृषि ज्ञानकेन्द्रले अनुदान दिएपछि तरकारी तथा फलफूलखेती गर्न हौसला मिलेको छ । उहाँलाई पनि ७५ प्रतिशत अनुदान र २५ प्रतिशत स्वलगानीमा आवश्यक उपकरण र औजार उपलब्ध गराइएको थियो । त्यसबाट उहाँले थोपा सिँचाइ मेसिन, स्पेयर मेसिन, स्प्रिङगल मेसिन, एक थान पावर टिलर, एक थान मिनिटिलर, घाँस काट्नका लागि ब्रसकटर, पानीका लागि बोरिङ, दुई एचपीको दुई थान मोटर, डेढ एचपीको एक थान मोटर, पम्पसेट एक थानलगायतका औजार तथा उपकरण खरिद गर्नुभयो ।

कहिलेकाहीँ कर्मचारीको लापरवाहीका कारण पनि कृषक मर्कामा पर्ने गरेका छन् । सुनसरी बराहक्षेत्र नगरपालिकामा रहेको अभियान कृषि फार्मका सञ्चालक भीष्म अधिकारीले विगत लामो समयदेखि मकैखेती गर्दै आएको र कृषि ज्ञानकेन्द्रमा अनुदानका लागि फार्म भरेको भए पनि कार्यालयका बाली विकास अधिकृत योगेन्द्र यादवले समयमा अनुगमन प्रतिवेदन नबुझाउँदा अनुदान पाउनबाट बञ्चित बन्नुपरेको थियो ।

पछिल्लो समय कृषि ज्ञानकेन्द्र इनरुवाले जिल्लामा रहेका करिब १७ वटा कृषक तथा कृषि फार्मलाई अनुदान उपलब्ध गराएको छ । विगतमा कतिपय नक्कली कृषकले राजनीतिक दबाब तथा कार्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर अनुदान लिँदै आएकामा यसपटक भने वास्तविक कृषकले अनुदान पाउँदा कार्यक्रमप्रति कृषकको विश्वास बढेको मात्रै छैन तरकारी तथा फलफूल खेतीको उत्पादकत्वमा समेत वृद्धि आएको कार्यालयका कर्मचारी बताउँछन् ।

कार्यालयले लामो समयदेखि कृषि पेशा गर्दै आएको तर अनुदान नपाएका कृषकको व्यवसायको अनुगमन, मूल्याङ्कन तथा सम्बन्धित ठाउँमा खेती गरेका आधारमा अनुगमन गरेर पारदर्शी हिसाबले वास्तविक कृषकलाई पहिचान गरेर अनुदान दिइएको कृषि ज्ञानकेन्द्रका प्रमुख नीलकमल सिंहले बताउनुभयो । उहाँले विगतमा अनुदान वितरण हुँदै आएको स्वीकार गर्दै आगामी दिनमा यस्तो हुन दिइने छैन भन्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्