जलेश्वर । मिथिलाञ्चलमा दाजूभाइ तथा दिदीबहिनीको प्रेमको प्रतिक मानिएको सामा चकेवा पर्व गएराति सम्पन्न भएको छ ।
कात्तिक शुक्लपञ्चमीका दिनदेखि सुरु भई दश दिनसम्म चलेको सामा चकेवा पर्व एघारौँ दिन अर्थात पूर्णिमाको राति (गएराति) धुमधामका साथ विभिन्न नदी, पोखरी तथा तालतलैयामा गएर सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन भएको छ । दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेलेका छन् ।
कात्तिक शुक्ल पञ्चमीका दिन बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर सामा चकेवा बनाउनका लागि दाजुभाइले खनेर ल्याइएको माटोलाई गीलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाउने परम्परा रहेको छ ।
सोही दिन बेलुका सामा चकेवा सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङग भरेर सामा चकेवा रङ्गीचङ्गी बनाएर दिदीबहिनीले सोही रातिदेखि सामा चकेवा पर्वको सुरुवात गर्ने गर्दछन ।
रङ्गीसकेको सामा चकेवा दश दिनसम्म रातिको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियोबाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमासमेत लगेर दश दिनसम्म गीत नाच गर्दै चेलीबेटीले सामा चकेवा खेलेका थिए । समूहगत रुपमा चेलीबेटी तथा छोरीबुहारी “गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय” “सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो” लगायतका गीत गाएर सामा चकेवा खेल्ने तथा समूहमै एक सबैले सबैको दाजुभाइको दीर्घायुको कामना गर्दै सामाचकेवा पर्व खेलेका छन् । मिथिलाञ्चलकी हरेक दिदीबहिनीले सामा चकेवा पर्वलाई निक्कै मन पराउँछन् भने सामा चकेवा पर्वको बेला सबैले माइतीमा गएर यो पर्व मनाउने गर्छन । रासस
फोटो:फाइल