व्यक्तिगत मामलाको प्रजनन् अधिकारमाथि बाह्रथरीका ‘टर्चर’

<span class='c1'>व्यक्तिगत मामलाको प्रजनन्</span> <span class='c2'>अधिकारमाथि बाह्रथरीका ‘टर्चर’</span>

इन्दिरा भट्टराई
विराटनगर । सामाजिक सञ्जाल फेसबुकमा एक दम्पतीले राखेको फोटोमा गरिएका कमेन्टमध्ये एउटा थियो–‘छिटो बाउ बन है भाई’ ! भाई प्राथमिकता राखेर गरिएको कमेन्ट झट्ट हेर्दा सामान्य लाग्थ्यो । विवाह गरेर सन्तानलाई जन्म दिएकाहरुले कुनै वास्ता नगर्लान् । तर, विवाहका केहिवर्षसम्म विविध कारणले सन्तान नभएका दम्पतीका लागि सामाजिक सञ्जालमार्फत दिइएको सुझाव उनीहरुको व्यक्तिगत मामलामाथि हमला जस्तो देखिन्थ्यो ।

भाई प्रधान देखिएपनि विवाहपछि स्वास्थ्यका विविध कारणले सन्तान नजन्मिएका बुहारीहरुको पीडा छुट्टै हुन्छ । जसले सामाजिक जमघटमा झेल्नु पर्ने अनावश्यक प्रश्नको जवाफदेखि घरायसी जीवनमा बेहोर्नुपर्ने संस्कारजन्य जमघटमा ‘घोचासोला’ ले बिक्षिप्त पारिरहेको हुन्छ । घरायसी जमघटमा हुने विवाह, व्रतबन्धदेखि अन्य कार्यक्रम नै छल्नु जस्तो अवस्थामा रहेका निसन्तान दम्पतीमध्ये पनि महिलालाई सामाजिक सञ्जालमा लेखिएको कमेन्टको जवाफ फर्काउने हिम्मत कहाँ पुग्ला ?

बैवाहिक बर्षगाँठको २५ औ वर्ष मनाउने क्रममा रहेका विराटनगर १० का एक दम्पती दुबैैजना आर्थिक रुपमा सवल र सफल छन् । सार्वजनिक ब्यक्ति भनेर चिनिएका उनिहरु विवाह बर्षगाँठ मनाउँदा सामाजिक सन्जालमा खासै सार्वजनिक गर्दैनन । दुबैजना एकअर्काप्रति आत्मीय र प्रेमिल भएपनि गोप्य रुपमा खुसी बाड्न चाहन्छन । त्यसको एक मात्र कारण उनिहरुको सन्तान नहुनु र सामाजिक दृष्टिकोण हो । ‘अझै सन्तान जन्माएको छैन, किन ?,कसको कमजोरी हो ? दोस्रो विवाह गर्नुपर्थ्यो नी, ए विचरा टक्र्याकटुक्रुक बुडाबुडी मात्र जस्ता घोचपेच पूर्ण कुराले दिने मानसिक तनाव हो ।

विवाह गरेको १० बर्ष सम्म सन्तान नभएका विराटनगर ३ का एक दम्पतीको पनि उस्तै ब्यथा छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको समयमा भोट माग्न आएको महिला मध्ये एक जना महिलाले सोधिन्—‘यो घरमा केटाकेटी छैनन कि क्या हो, घर त सफा र मिलेको छ त ? चिनजान समेत नभएकी ती महिलाले राम्रै भनेपनि सन्तान नभएका दम्पतीलाई छट्पटाहट भएको सुनाउँछन् ।

प्रजनन् अधिकारले प्रत्येक दम्पतीले कतिजना सन्तान जन्माउने, जन्मान्तर कति राख्ने, बच्चा जन्माउने वा नजन्माउने यौन तथा प्रजनन् अधिकारका लागि स्वतन्त्र र जिम्मेवारीपूर्वक निर्णय लिन पाउने बुझाउँछ । यो अधिकारलाई अन्तराष्ट्रिय मानवअधिकारको रुपमा समेत व्याख्या भईसकेको छ । सन् १९९५ को इन्टरनेसनल प्लान्ड प्यारेन्टाहुड फेडेरेसन (आपीपीएफ) सदस्य सभाले यौन तथा प्रजनन् अधिकार वडापत्र अनुमोदन गरेको थियो । वडापत्रमा १२ वटा यौन तथा प्रजनन् अधिकारहरुमध्ये परिवार बसाउने वा नबसाउने, बच्चा पाउने वा नपाउने र कहिले पाउने भन्ने निर्णय गर्न पाउने अधिकार दिइएको छ ।

त्यति मात्रै नभई नेपालको अन्तरिक संविधान २०६३ को धारा २०(२) ले प्रजजन स्वास्थ्य तथा हकको अधिकार सुनिश्चित गरेको थियो । त्यसलाई अझै मूर्त रुप दिदैं २०७२ मा जारी नेपालको संविधानको धारा ३८(२) मा ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक हुनेछ’ भन्ने वाक्यांश राखिएको छ । यसलाई मौलिक हकको रुपमा संविधानले व्याख्या गरेको छ ।
संविधानले दिएको अधिकार अनुसार नै सन्तानका विषयमा निर्णयमा पुग्ने दम्पतीका लागि पनि बारम्बारका प्रश्नको जवाफ दिनुपर्ने हैरानी बढाउँछ । तर, विवाहपछि सन्तान जन्माउन चाहेर पनि सफल भईनरहेका दम्पतीका लागि सामाजिक जमघटदेखि सामाजिक सञ्जालसम्मको सुझाव र प्रश्नले भने बारम्बार तनाव बढाई दिने गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रजनन स्वास्थ्य भन्नाले बिरामी वा रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक दृष्टिकोणबाट पूर्णरूपमा स्वस्थ्य रहनु हो । साथै प्रजनन प्रणाली, यससको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा निरोगी रहनु हो । मानिस प्रजनन रूपमा पुर्ण स्वास्थ हुनका लागि उसमा प्रजनन अंगहरु ठीक, सबल हुनुमात्र नभई प्रजनन तथा यौन सम्बन्धित मानसिकता, दृश्टिकोण, अवधारणा, सोच आदि पनि सकारात्मक हुनु जरूरी छ । त्यस्तै मानिस सामाजिक रूपमा पनि स्वस्थ हुनु जरुरी छ । अर्काको सम्मानमा ठेस पुग्नेगरी जिस्काउने, छुने, यौन हैरानि गर्ने कार्यलाई पनि प्रजनन अस्वास्थ्यताको संज्ञा दिने गरिन्छ भनिएको छ ।

तर, नेपालमा निसन्तान दम्पती र त्यसमा पनि महिलाहरुका लागि प्रजनन् अस्वास्थ्यताको कारण सामाजिक व्यवहार र पारिवारिसक घोचासोला बन्ने गरेको छ । विवाह गरेको एकवर्षसम्म नियमित यौन सम्पर्कमा रहँदा पनि बच्चा नमन्मिएको अवस्थापछि उनीहरुमा बाँझोपन भएको आशंका समाजले आफैं गर्न थाल्छ । कुरा काट्नेहरुको संख्या बढ्दै जान्छ । एकाध वर्षसम्म ‘हामी तयारीमै छौं’ भनेर जवाफ दिन सहज भएपनि विस्तारै त्यसले थिच्दै लगेर महिलालाई मानसिक समस्या नै सिर्जना गरिदिन्छ ।
बाँझोपन महिलाका कारण मात्र नभएर पुरुषका कारण पनि हुन्छ । तर, यस बारे परिवारमा र समाजमा छलफल कम हुन्छ । नेपालमा ५–७ प्रतिशत जोडीमा बाँझोपन देखिने एक अनुसन्धानले देखाएको छ । जसमध्ये १५ प्रतिशतमा कारण बिनै बाँझोपन हुने गरेको छ । यो समस्या झेल्नुपर्ने महिलाहरुले गर्भ बसाउन धेरै उपचार र विधि अपनाईसकेका हुन्छन् । तर, समाजले त्यसलाई नबुझ्दा बारम्बार दुखाउन भने छोड्दैन ।
विराटनगर अस्पतालका निसन्तान रोग विशेषज्ञ डा.प्रेरणा दाहालले महिला र पुरुषको मनोसामाजिक भावनामा विविध दवावले उनीहरुको स्वास्थ्यमा थप जटिलता निम्त्याउने बताउनुभयो । अहिले निसन्तान समस्या भएका दम्पतीको संख्या धेरै छ । विवाह गरेको धेरै वर्षसम्म पनि सन्तान नभएमा पारिवारिक दवाव, सामाजिक दवाव झेल्नु परेको पीडा चिकित्सकसँग सुनाउने गरेको डाक्टर दाहालको भनाई छ । उहाँले महिला मात्रै नभई पुरुषमा समेत निसन्तानपन हुने गरेकोले दुवैले एकले अर्कोको भावनालाई कदर गर्दै उपचारमा गए असहज भईरहन्छ भन्ने अवस्था नरहने बताउनुभयो ।

निसन्तानपन भएका दम्पतीले अहिलेका विविध प्रविधिको प्रयोगबाट पनि उनीहरु बाबुआमा बन्नसक्ने बताउनुभयो । अहिले सन्तान जन्माउन चाहनेमध्ये ४० प्रतिशत दम्पतीमा कुनै न कुनै असरका कारण यो समस्या देखिने गरेको छ । आईभीएफ सेन्टर समेत रहेको विराट अस्पतालमा आएका दम्पतीमध्ये महिला र पुरुषमा उतिकै संख्यामा निसन्तानपन देखिने गरेको उहाँको भनाई छ ।
सन्तान जन्माउन चाहेर आउनेहरुमध्ये प्रविधिको प्रयोगबाट आमाबुबा बन्ने दर विराटनगरको आईभीएफमा ५० प्रतिशत भन्दा बढी देखिएको उहाँको दावी छ । प्रारम्भदेखिको उपचार गराउँदा गराउँदै प्राकृतिक गर्भधारण गर्नेहरुको संख्या पनि उतिकै रहेकोले सन्तान नभएको भनेर बस्नु भन्दा उपचारमा जानु राम्रो हुने उहाँको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्