मान्छे किन घुम्दैन ? 

मान्छे किन घुम्दैन ? 

दुनिया एक विशाल पुस्तक हो यात्रा पुस्तकहरुको खोजि र अध्ययन हो।  घुम्नु भनेको  मौरीले फूलहरुमा घुमेर रस बटुले जस्तै सायद ज्ञान र अनुभव बटुल्नु हो। दुनिया एक विशाल रंगमंच हो र यात्रा त्यो रंगमंचमा फरक भूमिका र विशेषता खोजेर आफ्नै छुटै नाटक भेट्नु हो , घुम्नु भनेको अध्यात्मको खोजि र अन्त्य हो कतै बुद्धहरु ध्यान गरिरहेको भेटिन सक्दछन कृष्णका मुरलिका धुनहरु सुनिन सक्दछन्,  यात्राहरु  कविहरुका निम्ति कविताहरु हुन् , कलाकारहरुका निम्ति कलाहरु हुन् ,उपन्यासकारहरुका निम्ति उपन्यास हुन् , खोजकर्ताहरुका निम्ति इतिहास चिहाउने ऐना हुन् ,अन्वेषण गर्नेहरुका निम्ति भविष्य हेर्ने दर्पण हुन् ,खेलाडीहरुका निम्ति सुन्दर मैदानहरू हुन् पत्रकारहरुका निम्ति खबरहरु हुन्।  यात्राको महिमा अपार छ , अप्रश्नीय छ भिमकाय छ।

पहिलो घुम्ने मान्छे को थियो ?
हामीलाई थाहा छैन पहिलो यात्री को थियो ? पहिलो  मानिस पहिलो पटक किन घुम्यो होला ? मास्लो आफ्नो थेअरि  हाइराकि अफ निड्समा भन्दछन् मानिसको सबैभन्दा पहिलो आवश्यकता शारीरिक आवश्यकताहरु हुन् पहिलो यात्रा सायद मानिसले आफ्नो आधारभुत आवश्यकता पूर्ति गर्न नै गरेको हुनुपर्दछ।   माइकल कोलिन्स आफ्नो पुस्तक जर्नी : एन इलुस्ट्रेटेड हिस्ट्री अफ ट्राभलमा भन्दछन्  पहिलो यात्री गास र कपासको लागि घुम्यो होला , प्रागैतिहासिक युगमा ६० हजार ईशापुर्व मानिसहरु सुस्तरी अफ्रिकाबाट फैलन थाले र यो क्रम हजारौ वर्ष चलिरह्यो ,४० हजार वर्ष  इशापुर्व पुरापाषाण युग(प्यालेओलिथिक ऐरा) मा खेलको खोजीमा मानिसहरुले लामो यात्रा गरेको प्रमाण भेटिएको छ , १० हजार वर्ष इशापुर्वामा खेतीपातीको सुरुवात भयो र मानिसहरुले बसोबास गर्न सुरु गरे ,इशापूर्व ३ हजारमा मिश्र(इजिप्टिसियन )हरुले पहिलो ज्ञात बाटो बनाए ,३ हजार वर्ष इशा पुर्वमा  फोनिशियनहरूले पहिलो नेभिगेसन एड्स विकास गरे र भू-मध्यसागरको अन्वेषण गर्न थाले , ५ सय वर्ष इशापुर्वमा ग्रिक इतिहासकार हेरोडोटसले मिश्र , भारत र पर्सिया  भ्रमणको बारेमा लेखे र यहि काल खण्ड्मा  ग्रिकहरुले पर्यटनको अवधारणा विकास गरे प्राचिन संसारका मानिसहरुलाई  खेल प्रति आकर्षित गरे ,४ सय वर्ष इशापुर्व अगाडि सिल्क रोडको निर्माणले चीनलाई भू-मध्य सागरसँग जोड्यो ,सय वर्ष अगाडि रोमनहरुले विशाल सडक संजाल बनाए ,इस्वी  संवत २ सय साल अगाडि चिनिया बुद्धिस्ट भिक्षु  फाक्सियान ले बुद्ध दर्शनको अध्ययन गर्न भारत यात्रा गरे र आफुले देखेका कुराहरु अभिलेख गरे , सातौ  शताब्दी मा  इस्लामहरुको  हज यात्राले लाखौ मानिसहरुलाई एक ठाउमा यात्रा गराउन र भेला गराउन सुरु गर्यो। १४  औ शताब्दीमा युरोपियन खोज - औपनिवेशीकरण सुरु भयो १८ शताब्दिमा औधोगिक क्रान्तिको सुरुवात भयो र १९ औ शताब्दिमा हवाईजहाजको अन्वेषण सगै मान्छेकोयात्रा छिटो  र सरल भयो।

२१ शताब्दीमा यात्रा वा घुम्ने माध्यम र बाटाहरु तपाईहाम्रो अगाडी छरपस्ट छन् यसको चर्चा गरिरहन आवश्यक रहेन।

के  यात्रा सुन्दर दृश्यहरुको  खोजि मात्रै हो ?

के घुम्नु सुन्दर दृश्यहरुको खोजि मात्रै हो जिज्ञासा मात्र हो  ?

के बुद्ध दरबार छोडेर घुम्न निस्केर ज्ञान प्राप्त गरेका थिए ? के देवकोटाले पागल कवितामा "भस्मेश्वरबाट फर्कदा सात दिन टोह्लाएको देखेर भूत लागेको भने!" भनेर भस्मेश्वर नपुगी भनेका थिए ? एलेन डे बोटन दि आर्ट अफ ट्राभलमा भन्दछन तीन प्रकारका सौन्दर्य जिज्ञासाहरू हुन्छन  - एउटा ठाउँको सन्दर्भमा, अर्को ठाउँ वा  स्थानमा हुने  वस्तुहरूको सन्दर्भमा र तेस्रो मानिसहरूको सन्दर्भमा- पहिलोले देशका प्राकृतिक दृश्यहरु , विशाल  शहरहरू, सुन्दर वनहरू, सबैभन्दा प्रसिद्ध भग्नावशेषहरू, र पुरातन स्मारकहरू हेर्न  खोज्छ दोस्रोले रमणीय घरहरू, दुर्लभ फर्निचर, कलात्मक सिरेमिक, चर्च र दरबारहरूको भव्यता, काँचका झ्यालहरू, हस्तकलाहरु , टेपेस्ट्रीहरू, पुरातन वस्तुहरू र जिज्ञासाहरूमा चासो लिन्छ। तेस्रोले विभिन्न मानिसहरूका चलनहरू अध्ययन गर्दछ र विगतका स्मारकहरू, लोप भएका जाति र सभ्यताहरूको अवशेषहरू खोज्छ।यात्रा सौंदर्यपरक दृश्यरतिकको लागि अनुभव बटुल्नु मात्रै हैन यात्रा नविननता विलक्षणता र भिन्नताहरु फेला पारेर त्यसको सौन्दर्यमा स्वीकार गर्न सक्नु हो - यसरी आनन्द मुख्य रूपमा सक्रिय भन्दा निष्क्रिय हुन्छ; तपाईलाइ यसले यो गलत छ यो सहि छ यो भएको भए हुन्थ्यो त्यो नभएको भए हुन्थ्यो भनेर  संसारको जिम्मा लिन वा यसलाई परिवर्तन गर्ने इच्छा भन्दा एक प्रकारको ग्रहणशील मनोवृत्तिमा समावेश गर्दछ।  सौन्दर्ययात्री  र जिज्ञासु यात्रीहरू बीचको अर्को मुख्य भिन्नता भनेको उनीहरूले आफ्नो यात्राको पूर्व-योजना गर्ने हद हो। जब जिज्ञासु यात्रीहरू प्रायः नयाँ चीजहरू हेर्न र अनुभव गर्ने तीव्र इच्छाले प्रेरित हुन्छन्, सौन्दर्य यात्रीहरू यसको वास्तविकता भन्दा यात्राको प्रत्याशाले बढी प्रेरित हुन्छन्। तिनीहरूसँग गन्तव्यको अत्यधिक रोमान्टिक वा आदर्श दृष्टिकोण हुन सक्छ र यात्राको वास्तविक अनुभव भन्दा प्रत्याशाको सौन्दर्य आनन्दमा बढी रुचि हुन सक्छ।

के सबै यात्राहरु सबै  घुमाईहरु सकारात्मक हुन् जरुरि छ ?
१८ औ शताब्दीको अन्त्य र १९ शताब्दीको सुरुवात तिर अलेक्जेन्डर भोन हम्बोल्टले दक्षिण अमेरिकामा भ्रमण गरे पाच वर्ष बिताए करिब १६०० प्रकारका वनस्पति संकलन गरे , ६०० वनस्पतिका प्रजाति पता लगाए ,पृथीको चुमकत्व पत्ता लगाए दक्षिण अमेरिकाको नक्सा पुन बनाए र आधुनिक विज्ञानमा ठुलो योगदान दिए तेञ्जिङ्ग नोर्गेले सन् १९५३ मा सगरमाथा आरोहण गरेर पुरा मानव जातिलाई नया उचाइ देखाए १९६९ मा निल आर्म्स्ट्रङ्गले  चन्द्रमामा पाइला टेकेर मान्छेको यात्रा लाई पृथ्वी बाट अन्तरिक्षमा पुराए ,२१ औ शताब्दीमा सर डेभिड एटनबराले बिबिसी मार्फत हामीलाई जीवन र जगतका नया रंग देखाए समग्रमा संसार घुम्नेहरुले बदलेका छन् संसारलाइ एक बनाएका छन्। सेन्ट अगस्टाइनले भनेका छन्  जो घुम्दैन उसले पुस्तकको केवल एक पाना मात्र पढेको छ , विश्व प्रसिद्द लेखक मार्क ट्वेन लेख्छन  यात्रा पूर्वाग्रह, कट्टरता र संकीर्ण सोचका लागि घातक हुन्छ अर्थात् यात्राले हामीलाई पूर्वाग्रह, कट्टरता र संकीर्ण सोच बाट मुक्ति दिन्छ के मानव इतिहास मा पूर्वाग्रह, कट्टरता र संकीर्ण सोचका यात्राहरु भएनन त् ? , ब्रिटिस यात्री  सर रिचर्ड बर्टनले भनेका छन्  मानव जीवनको सबैभन्दा खुसीको क्षण, मलाई लाग्छ, अज्ञात भूमिहरूमा प्रस्थान गर्नु हो।, के सबै अज्ञात भूमिका प्रश्थानहरु सकारात्मक रहे त् ? के सबै अज्ञात भूमिका यात्राहरु सुखद रहे त् ?

ईशा पुर्व  ३२३ मा अलेक्जेंडर द ग्रेटले आक्रमण औपनिवेसिकरणको यात्रा गर्दा पर्सियामा लाखौ सैनिक मारिए उनि आफैले हजारौ सेना गुमाए  १३ औ शताब्दीमा जन्गेज खानले घुम्दै भारत लुट्यो  १४९२ मा क्रिस्टोफर कोलम्बस अमेरिकामा पुग्नु , युरोपेलीहरूको  नयाँ संसारको उपनिवेशको सुरुवात भयो ,आदबासिहरुको इतिहास रहेन।  १३औँ र १४औँ शताब्दीमा घुम्दै आएका  कैदु र दुवा खानको नेतृत्वमा मङ्गोलहरूले नेपालमाथि आक्रमण गरे। उनीहरूले काठमाडौं, भक्तपुरलगायत धेरै सहरहरू लुट्न सफल भए। सबै घुम्नेहरूका इतिहास सुखद रहेनन्।

स्वरुप  परिवर्तन भएको आधुनिक लुट -
घुम्नेहरुले कतै मुर्ति चोरेको छन् त्  कतै धर्म चोरेर ईसाइकरण गरेको छन्।  युनेस्कोको २०१६ को एक  प्रतिवेदन अनुसार सांस्कृतिक सम्पदाको अवैध ओसारपसार एक विश्वव्यापी समस्या हो, जसमा हरेक वर्ष १० अर्ब डलर बराबरको प्राचिन सांस्कृतिक कलाकृतिको अवैध व्यापार हुने गरेको छ। सांस्कृतिक सम्पदाको चोरीले सांस्कृतिक सम्पदा नष्ट गर्ने मात्र नभई स्थानीय वातावरणको क्षयमा पनि योगदान पु¥याउँछ । कतिपय अवस्थामा, लुटेराहरूले बहुमूल्य कलाकृतिहरूको खोजीमा पुरातात्विक स्थलहरूलाई नष्ट गरेका छन्, जसले गर्दा महत्त्वपूर्ण सांस्कृतिक र ऐतिहासिक जानकारीहरू गुम्न पुगेका छन्।संयुक्त राष्ट्र संघको आदिवासी मुद्दाहरूको स्थायी मञ्च(युन पी एफ एफ आइ ) को प्रतिवेदनबाट प्राप्त तथ्याङ्कले देखाउँछ कि विश्वभर करिब ४७ करोड ६० लाख आदिवासी जनजातिहरू छन्, जसले ऐतिहासिक र चलिरहेको उपनिवेश को परिणाम स्वरूप भेदभाव, सीमान्तीकरण र गरिबीको सामना गरिरहनुभएको छ। आदिवासी जनजातिहरूमा औपनिवेशीकरणको प्रभावहरूमा भूमि, संस्कृति, र परम्परागत ज्ञानको क्षति, साथै समुदायहरूको जबरजस्ती स्थानान्तरण र विस्थापन समावेश छ। सन् १९५० सम्म नेपाल मा ईसाई धर्म अज्ञात थियो ,पहिलो चर्च १९५२ मा टुरिस्टहरुले नै स्थापना गरेको थिए भने २०२३ सम्म आइपुग्दा नेपालले  टुरिज्म र इसाइकरण दुवैमा ठुलो फड्को मारेको छ।

यात्रा  र  यात्रीहरु नियमन नगरिदा  सगरमाथा संसारको सबैभन्दा अग्लो फोहोरको थुप्रो भएको छ , सगरमाथामा जम्मा हुने फोहोरले वातावरणमा मात्रै नभई आरोही र स्थानीय समुदायको स्वास्थ्य र सुरक्षामा समेत खतरा पैदा गर्छ । यसले पानीको आपूर्तिलाई दूषित गर्न सक्छ र रोग फैलाउन सक्छ, र हिमपहिरो र अन्य प्राकृतिक प्रकोपहरूमा पनि योगदान गर्न सक्छ र यो तथ्यले सगरमाथाको गरिमालाइ पनि ठोस पुराउदछ।

नघुम्नेहरुले सगरमाथा फोहोर गरेनन , कुनै सास्कृतिक विचलन ल्याएनन कुनै सभ्यताको वस्तुकरण गरेनन वास्तवमा नघुम्नेहरुले राम्रो पनि गरेनन होला तर नराम्रो पनि गरेनन।

व्यस्तताले होला आफ्नै व्यक्तिगत रोजाइहरुले हुनसक्ला कम्फ़र्ट र परिचित ठाउ नछोडेर होला ,चिन्ता र तनावले हुनसक्ला स्वास्थ्य र स्थानतरणको समस्याले  हुनसक्छ वा सकारात्मक रुपमा  नघुम्नेहरु ध्यान गरिरहेका बुद्ध पनि हुनसक्छन , एउटै मन्दिरमा परमात्मा भेटेर त्यसैमा लिन साधु सन्त पनि हुनसक्छन ,आफ्नै जिन्दगी वरिपरिको परिदृश्यको चित्रपटमा रंग भरिरहेका कलाकार हुनसक्छन ,आफ्नै अन्तर आत्माको स्वर साधनामा लिन श्रोता हुनसक्छन हुनसक्छन नघुम्नेहरु नलेखिएका इतिहास हुन् नदेखिएका दृश्य हुन् नखोजिएका कथाहरु हुन  नसनुनिएका संगीतहरु हुन् त्यसैले प्रस्तुत पंक्तिकार सम्पुर्ण नलेखिएका इतिहास र वर्तमान प्रति हार्दिक आभार व्यक्त गर्दछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्