स्ववियु निर्वाचन : के भन्छन् उम्मेदवार ?

स्ववियु निर्वाचन : के भन्छन् उम्मेदवार ?

सुजता लिम्बू
विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिएसँगै विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस यतिबेला चुनावी माहोलले छोपेको छ । चैत ५ गते हुने स्ववियुको चुनावले गर्दा क्याम्पस परिसरमा आजभोलि विद्यार्थीको आउजाउ पनि उत्तिकै बढ्दै गएको छ ।

त्यसो त महेन्द्र मोरङ क्याम्पस शिर्ष नेताहरू जन्माएको उद्गम स्थलको रुपमा पनि लिइन्छ । जहाँ बाट पूर्व राष्ट्रपति विद्यादेवि भण्डारी देखि प्रदेशका पूर्वमन्त्रीको विद्यार्थी राजनीति उदाएको क्याम्पस हो ।
कोशी प्रदेशको ठूलो क्याम्पस रहेको महेन्द्र मोरङमा आफ्नो जित निकाल्न ठूला विद्यार्थी संगठन कम्मर कसेर लागेका छन ।

महेन्द्र् मोरङमा २०६५ सालसम्म नेविसंघले चार पटक, एमालेनिकट अनेरास्ववियुले तीन पटक र माओवादी निकट अखिल (क्रान्तिकारी)ले एक पटक सभापतिमा जित निकालेसँगै स्ववियुको नेतृत्वमा उभिएका छन् । करिब एक दशकपछि हुन् लागेको स्ववियु निर्वाचनमा एमाले, कांग्रेस र माओवादी केन्द्रको विद्यार्थी संगठनबीच मुख्य प्रतिस्पर्धा हुने विद्यार्थी नेताहरुको आंकलन छ । तर, अनेरास्ववियु र नेविसंघमा आन्तरिक विवाद तीब्र समेत रहेको छ ।

यता, अखिल (क्रान्तिकारी)ले भने विद्यार्थी संगठनमा देखिएको विवाद र आफ्नो संगठनको एकता नै जितको आधार रहेको दाबी गर्छन ।
अखिल (क्रान्तिकारी)ले स्ववियु निर्वाचनमा रोहित यादव (विकास)को नेतृत्वमा प्यानल बनाएर चुनावी मैदानमा छन् । यादवले महेन्द्र मोरङ क्याम्पसको शैक्षिक गुणस्तर सुधारदेखि विद्यार्थीहरूलाई सहज रूपमा अध्ययन हुने व्यवस्था लागू गर्ने एजेन्डा बोकेर चुनावी प्रतिस्पर्धामा उत्रेका छन ।
क्रान्तिकारीले जसपा निकट विद्यार्थी संगठन र सिके राउत नेतृत्वको जनमत पार्टी निकट विद्यार्थी संगठनसँग गठबन्धन गरेको छ ।

आफ्नो संगठन एक ढिक्का रहेको बताउदै यादवले सबैको समर्थनमा जीत निकाल्ने दाबी गर्छन ।

नेविसंघ समस्याको खाल्डोमा

नेपाल विद्यार्थी संघ (नेविसंघ) संस्थापन पक्ष र संस्थापक इतर समूह रहेको छ । स्ववियुको अध्यक्षमा संस्थापन पक्षबाट नेविसंघले अध्यक्षमा जसवन्त पौडेललाई उम्मेदवारी दिदै गर्दा यता संस्थापक इतर समूह भने रुष्ट छन् । पौडेललाई उम्मेद्वार बनाएका कारण असन्तुष्टि समेत चुलिएको इतर समूहका विद्यार्थी नेताहरु बताउछन् ।

आन्तरिक विवाद भए पनि संगठनभित्रको विवादले चुनावलाई प्रभाव नपर्ने समेत संस्थापक स्तरका विद्यार्थी नेताहरू दाबी गर्छन् । नेविसंघले परीक्षा र नीतिगत प्रणाली, संरचनागत सुधार, पाठ्यक्रम निर्माण लगायतका विषयमा सुधार गर्नुपर्ने विषय उठाएको पौडेलको भनाई छ ।

एमाले अनेरास्ववियुलाई आफैं भित्र डर

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुलाई भने अन्तर्घातको डर रहेको छ । गुटबन्दीका कारण निर्वाचनमा आफ्नैबाट अन्तर्घातको डर रहेको अनेरास्ववियुका एक नेता बताउछन् । त्यसो त आफू विद्यार्थीहरुको निकटमा रहेकाले जित निकाल्ने सन्दर्भमा ढुक्क रहेको अनेरास्ववियुका सभापति नवीन पहाडी बताउछन् ।

उनले वृहत् सपना बाँड्न भन्दा पनि क्याम्पसमा विद्यार्थीले भोगिरहेको समस्या समाधान हुने र सुधारको मुख्य विषयलाई एजेन्डा बनाएको बताए ।

छात्रावास र यातातयाको व्यवस्था गरिनुपर्ने र छात्रा शौचालयमा भेन्टिमेसिनसहितको सेनेटरी प्याट अनिवार्य राखिनुपर्ने मुख्य चुनावी एजेन्डा रहेको उनले सुनाए ।
२०६५ सालमा भएको स्ववियू निर्वाचनमा महेन्द्र मोरङमा अखिल (क्रान्तिकारी)का तत्कालिन उम्मेद्वार जयराम सुन्दास विजयी भएका थिए । १४ वर्षपछि हुन लागेको निर्वाचनमा पनि आफ्नो यसअघिको विरासत जोगाउने दाउमा क्रान्तिकारी छन् । निर्वाचनमा उक्त कलेजमा ५ हजार ७ सय ९० जना विद्यार्थी मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्