भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ दिगुली अर्थात दिगुटोलको दिगु भैरव मन्दिर अगाडि साँझदेखिनै मानिसको भीड बढिरहेको थियो ।
आश्विन शुल्क पूर्णिमा अर्थात येँया पुन्हिको दिन आज रात्रिकालीन प्रहरमा मध्यपुरथिमिको लाय्कु दरबार परिसरमा जिब्रो छेडेर थिमिदेखि पशुपति मन्दिरसम्मको यात्रा गरिने भएपछि प्रत्यक्षरूपमा हेर्न हजारौँ मानिसको भीड राति ७ः३० बजेसम्म निकै बाक्लो देखिएको थियो ।
मध्यपुरथिमि नगरपालिकामा दिगु टोलमा तीन सय ५० वर्षभन्दा अगाडिदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा लोपोन्मुख अवस्थाबाट जोगाउँदै यस वर्ष मध्यपुरथिमि–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडेर मध्यपुरथिमिबाट पशुपतिसम्म पुगेर पुनः फर्किएर बालकुमारी मन्दिरसम्म आउने भएपछि प्रत्यक्ष हेर्न र थिमिदेखि पशुपतिसम्मको यात्रालाई साथ दिन हजारौँ स्थानीयवासीको भीड जम्मा भएको थियो ।
मध्यपुरथिमि–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले दिगु भैरव मन्दिर अगाडि बनाएको स्टेजमा बसेर आज राति ७ः४५ बजे हजारौँ मानिसको अगाडि जिब्रो छेडाउनुभएको हो । हजारौँ सर्वसाधारणका अगाडि तीन वटा सियो भएको सुइरोले जिब्रो छेडाएर ४० किलोको महादीप बोकेर थिमिदेखि पशुपतिसम्मको यात्रा सुरु गर्नुभयो ।
जात्रास्थलमा प्रत्यक्षरूपमा जिब्रो छेडेको जात्रा हेरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यसअघि पत्रपत्रिका र टेलिभिजनतिर मात्रै हेरकोमा आज प्रत्यक्ष देख्ने मौका पाएको बताउनुभयो । उहाँले यो जात्रालाई विश्वव्यापी रूपमा ब्राण्डिङ गर्नसके लाखौँ पर्यटक ल्याउन सकिने बताउनुभयो ।
“यो जात्रालाई विश्वव्यापी ब्राण्डिङ गरेर लाखौँ पर्यटक भित्र्याउन पर्ने रहेछ, आउँदो वर्ष सबैसँग सल्लाह गरेर यसलाई अझै भव्य बनाउनु पर्छ”, मन्त्री किरातीले भन्नुभयो, “संस्कृतिलाई जोगाउन सकेन भने अमर नरहन सक्छ, त्यसैले नेपालमा संस्कृतिलाई पर्यटन उद्योगसँग जोडेर लैजानु पर्र्छ, नेपालको संस्कृतिमा पर्यटन मिसाउनु पर्छ, यसबाट व्यापकरूपमा पर्यटक भित्र्याउन सकिन्छ ।”
मन्त्री किरातीसमेत पैदलनै पशुपति मन्दिरसम्म पुगेर पशुपति मन्दिरभित्र चाँदीको कचौरामा सुनको चम्चाले जिब्रो छेड्ने बालकरामको जिब्रोले तेल हालिदिने बताउनुभयो । कार्यक्रममा मन्त्री किराती, सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, प्रतिमा श्रेष्ठ, भुवनकेशरी श्रेष्ठ, पशुपति विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले प्रत्यक्षरूपमा जात्रास्थलमा रहेर जात्राको अवलोकन गर्नुभएको थियो ।
बालकरामले भने जिब्रो छेडेर दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप बोकेर चोडे टोलको कामदेव, महालक्ष्मी, नीलवर्ण गणेश, मन्दिरमा दर्शन गरी सिद्धिकालीमाईको मन्दिर हुँदै सिद्धिकाली चोक, सानोठिमी, सिनामङ्गल, महादेव चोक, पेप्सीकोला चोक, एयरपोर्ट १० नं गेट (पूर्वी गेट), सान बैंकवेट चोक, गुहेश्वरी हुँदै पशुपतिनाथको मन्दिर प्रवेश गरी परिक्रमा गर्दै त्यही मार्ग हुँदै थिमि आएर बालकुमारी मन्दिरमा दर्शन गरी सियो झिकेर आजको जात्रा सम्पन्न गर्ने येयाँ पुनिहया मेंयः तवनेगु जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले जानकारी दिनुभयो ।
जिब्रो छेडाउनु अगाडि बालकरामले भन्नुभयोे, “यसपटक म इतिहास रच्ने लक्ष्यका साथ जिब्रो छेडाएर पशुपतिसम्म जाने निर्णय गरेको हुँ, यसअघि पहिलो पटक मैले विसं २०७५ मा जिब्रो छेडेर थिमि घुमेको थिएँ, यस वर्ष पशुपतिसम्मको यात्रा पूरा गर्ने आँट गरेको छु, माता बालकुमारीकोे शक्तिले त्यो यात्रा पूरा गर्नेछु ।”
मध्यपुरथिमि दिगुटोलदेखि पशुपतिनाथ मन्दिरसम्म जाँदा र आउँदा १७ किलो मिटरको यात्रा पूरा गर्ने उहाँले बताउनुभयो । जिब्रो छेडेर ४० किलो तौलको महादीप बोकेर मध्यपुरथिमिबाट गुहेश्वरी हुँदै पशुपति मन्दिरभित्र प्रवेश गरी दर्शन गर्दै पुनः मध्यपुरथिमिको बालकुमारी आएर सुइरो निकाल्ने गरी जात्रा सुरु भएको हो ।
मध्यपुरथिमिका स्थानीयवासीका साथै भक्तपुर, काठमाडौँ, ललितपुर, कीर्तिपुरलगायत विभिन्न ठाउँबाट जात्रा हेर्न आउनेको धुुइरो लागेको थियो । मध्यपुरथिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले तीन सय ५० वर्षभन्दा अगाडिदेखि जिब्रो छेडिँदै आएको यो जात्रालाई निरन्तरता दिन र यस वर्षको जात्रा सहजरूपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने बताउनुभयो ।
उहाँले जात्राका लागि आवश्यक सहयोग रकम उपलब्ध गराएको, जात्रास्थलमा भीड कम गर्न दुई ठाउँमा प्रोजेक्टर राखेर जात्राको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गरेको र जात्रालाई विजवन्त राख्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक पहिचानलाई यो जात्राले विश्वभर फैलाउने बताउँदै यस्ता जात्रा परम्परा जोगाउन सरकारको पनि साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । ऐतिहासिक यो जात्रा विसं २०२६ देखि लोप भए पनि विसं २०५० देखि मध्यपुरथिमि चोडेटोल निवासी कृष्णनानी श्रेष्ठले तीन पटक जिब्रो छेडाएर जात्रालाई पुनःजीवन दिएको बताउनुभयो ।
त्यसपछि विसं २०६३ देखि सञ्चालन हुन नसकेकोमा विसं २०७४ मा मध्यपुरथिमि–४, बालकुमारी निवासी वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाउनुभएको बताउनुभयो । जात्रामा हजारौँ को सहभागिता रहेको छ ।
फोटो:फाइल