चिसोबाट बच्चालाई यसरी जोगाउन सकिन्छ

चिसोबाट बच्चालाई यसरी जोगाउन सकिन्छ

जाडो बढेसँगै साना बच्चाहरुलाई चिसो लाग्ने जोखिम धेरै हुन्छ । बच्चाहरुलाई रुघाखोकी समस्याले सताउन सक्छ । अझ पाँचवर्ष मुनीका बच्चाहरु धेरै प्रभावित हुनसक्छन् । रेस्पिरेटरी भाईरस, इन्फ्यूएन्जा भाइरस चिसोमा बढी सक्रिय हुने गर्दछन् । चिसोमा यहि कारणले रुघाखोकीले बच्चाहरुलाई सताउँछ ।

जाडोमा बच्चाहरुलाई रुघाखोकी लाग्दा एन्टिबायोटिक सेवन गराउन नहुने चिकित्सकहरुको सुझाव छ । अहिले बढी भाइरल रुघाखोकी लाग्ने हुँदा तीन दिनसम्म एन्टिबायोटिक प्रयोग नगर्न, नगराउन नोवेल मेडिकल कलेजमा कार्यरत बालरोग बिशेषज्ञ डाक्टर अरुण गिरीको सुझाव छ । पाँचवर्ष मुनीका बच्चाको रोगसंग लड्ने क्षमता ठुलो मान्छेको भन्दा कम हुन्छ । बच्चालाई रुघाखोकी लाग्दा नाक बन्द हुने र दुध चुस्न मान्दैनन् । त्यसले झन् कमजोर बनाउँदै लैजान्छ । डा.गिरीले घरमा कसैलाई रुघाखोकी लागेमा भरसक बच्चाको सामुन्ने नपर्न भनेका छन् । उनले यदि आमालाई नै त्यस्तो भएपनि सावधान अपनाउनु पर्नेमा जोड दिएका छन् ।

चिसोबाट बच्चालाई कसरी जोगाउने ?
१) न्यानो कपडा (टोपि , मोजा , पन्जा , बाक्लो कपडा ) लगाइ न्यानो पारेर राख्ने ।
२) परिवारमा कसैलाई रुघाखोकी लागेको भए बच्चाको छेउछाउ नजाने , जानै परे मास्कको प्रयोग गर्ने ।
३) बाहिरबाट आउँदा साबुन पानीले हात धुने अनि मात्र बच्चालाई समाउने ।
४) कोठाको तापक्रम २८ देखि ३०ं डिग्रीसम्म बनाउने ।
५) तोरीको तेलको सट्टा न्यानो लुगा लगाईदिने ।
६) उमेर अनुसार सरकारले बच्चाहरुलाई दिने खोप लगायत थप फ्लु भाइरसको खोप लगाउने ।
डाक्टर गिरीले बच्चालाई चिसोमा रुघाखोकीबाट जोगाउन सक्दा निमोनियाको जोखिम कम हुने बताएका छन् । चिकित्सकको परामर्शबाट कुनैपनि औषधी बच्चालाई सेवन गराउन मिल्ने बताइन्छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्