विराटनगर । गत मंसिर २० गते विराटनगर–७ सातघुम्ती रोडको कवाडी गोदाममा आगलागी भयो । आगलागीमा परेर चारजना नागरिकको ज्यान गएको छ । अझै दुईजना घाईतेको उपचार भईरहेको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार ४० लाख बराबरको क्षति पुगेको छ ।
हिउँद लागेसँगै सुख्खापन बढ्दै जाँदा आगलागीको जोखिम निश्चित बढ्छ । कहाँ, कुन कारणले र कसरी आगो लाग्छ भन्ने यकिन छैन । संभावित जोखिम न्यूनीकरणका पूर्व तयारी व्यक्तिगत वा संस्थागत रुपमा फरक–फरक सावधानीबाट हुनसक्छ । यद्यपी कतै घुर ताप्ने क्रममा, कतै खाना बनाउने क्रममा त कसै विद्युत सर्ट, चुरो सल्काउँदा वा अन्य–अन्य कारणले आगो लाग्छ, भवितव्य बारम्बार फर्कन्छ !
विराटनगरमा भवितव्य आगलागीको घटना भएपछि सधैं एउटै आवाज सुनिन्छ । त्यो हो–‘दमकल समयमै पुगेन, पानी थिएन, क्षतिपछि मात्रै घटनास्थलमा देखियो ।’ गतवर्ष तीनपैनी नजिकै नाङ्लो रेष्टुराँमा आगलागी हुँदा समेत यस्तै प्रतिक्रिया आए र गत हप्ता सातघुम्तीमा समेत यस्तै ।
देखाउने पाँच, चलाउने तीन छन् दमकल
विराटनगर महानगरपालिकामा तीन वटा दमकल मात्र छन् । जापान सरकारले दिएको सबै भन्दा ठूलो एउटा दमकल बिग्रिएर वर्षौदेखी थन्किएको छ । अर्को दमकल पुराना भएकोले काम चल्ने गरि मर्मत गर्न सक्ने अवस्थामा छैन । चालु अवस्थामा रहेकामध्ये एउटा दमकल अहिले पनि मर्मतमै छ । बाँकी दुई दमकल मात्रै स्टेण्ड बाई छन् ।
पानी स्टोरेज क्षमता न्यून रहेका पुराना दुई वटा र भर्खरै प्रदेश सरकारले दिएको एउटा गरेर जम्मा तीन वटा दमकल छन् । महानगरपालिकाले दमकल थप्ने योजना बनाएको छैन । दमकल परिचालनलाई व्यवस्थित बनाउने योजना भर्खरै बुन्दैछ ।
नगरबाट उपमहानगर अनि महानगर, कोशी प्रदेशको राजधानी विराटनगर आगलागीको हरेक कोणबाट जोखिममा छ । खासमा विराटनगर क्षेत्रमा प्रसारण हुने बिद्युतको तार कमजोर छ । त्यसलाई विस्थापित गरेर नयाँ ट्रान्सफर्मर राख्ने र केवल अपग्रेड नहुँदा ‘लाइन सर्ट’को जोखिम छ । त्यसपछि दक्षिणी क्षेत्रमा फुसका घरहरु र हिउँदमा घुर ताप्ने कार्यले आगलागी अर्को जोखिममा छ ।
तर, आगो निभाउने दमकलको संरचना र अवस्था पुरानै छ । कामचलाउ दयनीय अवस्थामै रहेको महानगरको दमकल अवस्था विकसित र विस्तार भएको छैन । केहि परिमार्जन गरेर बिकेन्द्रीत ढंगबाट दमकल विराटनगर–३ पुष्पपाल चौकबाट विराटनगर–१४ मा समेत स्टेण्डबाई राख्न थालिएको छ ।
प्रदेशको राजधानी, औधोगिक तथा प्रशासनिक शहर पनि हो विराटनगर । ७६.९९ बर्ग किमी क्षेत्रफलमा ५० हजार बढी घरघुरी छन् । विराटनगरको जनसंख्या दैनिक बढ्दो दरमा छ । शिक्षा र स्वास्थ्यको हव बनिसकेको विराटनगरमा दुई ठूला मेडिकल कलेज दुई दर्जन ठूला अस्पताल, र दर्जनौं शिक्षण संस्थाहरु छन् । प्रदेशको राजधानी भएकोले प्रदेश १ सरकारका मन्त्रालय र प्रदेशसभा छ ।
व्यापरिक मलको रुपमा भाटभटेनी, सेन्ट्रल मल जस्ता आधुनिक ठूला र अग्ला घर तथा स्टार होटलहरुको संख्या थपिदो छ । बसोवास र व्यापार व्यवसायको चाप बढ्दै गएपनि विपद् व्यवस्थापन पूर्व तयारीको अवस्था कमजोर रहेको आरोप विराटनगर महानगरपालिकालाई लाग्दै आएको छ ।
जीवनशैली आधुनिक, शहर परम्परागत
जीवनशैली आधुनिक बन्दै गएपनि शहर पराम्परागत ढाँचामै छ । शहरभरी बिद्युत आपूर्तिका तारहरु अलपत्र र छरपष्ट छ । तर, सरकारी, व्यापारिक तथा निजी घरहरु वातानुकुलित छन् । जसको भार बिद्युत आपूर्ति गर्ने तारहरुमा पर्ने गरेको छ । जसले लोड थेग्न नसक्दा आगलागीको जोखिम झन् धेरै छ । मापदण्ड बिनाका इन्धन बिक्री केन्द्र जोखिम निम्त्याउन प्रतिक्षामा रहे जस्तो अवस्थामा छन् । अचानक आगलागी भएमा महानगरपालिकासँग भएका तीनवटा दमकलले मात्र नियन्त्रण गर्न सक्ला की नसक्ला भन्ने दोधारेपन छ । यद्यपी आसपासका स्थानीय तहमा नयाँ दमकल थपिएकोले त्यसले केहि राहात दिने आस बाँचेको छ ।
महानगरपालिकाको बारुणयन्त्र शाखामा तालिम प्राप्त जनशक्ति कम देखिन्छ । गतवर्ष तालिम दिएकासहित अहिले १५ जना कर्मचारी बारुणयन्त्र शाखामा छन् । तर, शहरमा बनेका ठूला अग्ला होटल र मलहरुमा आगलागी भएमा माथिसम्म जानसक्ने क्रेन सहितको दमकल छैन । यदि संरचना भित्र आगो फैलिए त्यहाँ भित्रसम्म कसरी पानी पु¥याउने भन्ने उपकरण समेत छैन । एकवटा दमकलमा चालकसहित ६ जना जनशक्ति आवश्यक पर्दछ ,। १५ जनाले मात्रै पनि अभाव हुने देखिन्छ ।
घटनास्थलको सुचना पहिले की दमकल ?
विराटनगरमा आगोलागी भएको स्थलमा समयमै दमकल नपुग्ने आरोप र आलोचना धेरै हुने गरेको छ । दमकलमै पानी भए नभएको विषय समेत बाहिरबाट हेरेर विश्लेषण र आलोचना गरिन्छ । तर, विराटनगर महानगरपालिकाका नगरप्रहरी प्रमुख राजन पौडेल भने यस्तो आलोचना गैरजिम्मेवारपूर्वक हुने गरेको दावी गर्दछन् । उनको प्रश्न छ–आगलागी भएको स्थानमा भएका नागरिकले दमकल पहिला खोज्ने की आगलागी भएको सुचना पहिले दिने ?
उनका अनुसार सातघुम्तीमा आगलागी भएको सुचना जैन भवनबाट २ बजेर ९ मिनेटमा दिइएको थियो । आगलागी भएको सुचना दिएको १० मिनेटमा घटनास्थलमा दमकल पुगेको उनको भनाई छ । आलोचना गर्नेले जतिसक्दो छिटो सुचना दिन्छन् उति नै छिटो दमकल पुग्नसक्ने अवस्था रहने पौडेलको भनाई छ । नागरिकले आगो लाग्न सुरु गर्दा मोवाइल झिकेर भिडियो खिच्नुभन्दा महानगरपालिका वा प्रहरीमा सुचना दिन उनको सुझाव छ ।
दमकल कहिल्यै आधा पानीमा दौडदैन
सातघुम्तीको कवाडी गोदाममा आगलागी हुँदा महानगरपालिकाको फस्ट रेस्पोन्स दमकलमा आधा ट्याङ्की मात्रै पानी भएको विषय समेत आलोचनाको विषय बनेको थियो । तर, दमकल आधा ट्याङ्की पानी भरेर सडकमा गुड्दा दुर्घटनाको जोखिम हुने भएकोले सधैं पूर्ण ट्याङ्की पानी भरेर स्टेण्डबाई राखिने गरिएको पौडेलको भनाई छ । उनका अनुसार सातघुम्तीमा फस्ट रेस्पोन्समा खटिएको दकमलले एकै पटक तीनवटा पाइपबाट पानी छ्यापेका कारण दश मिनेटमा पानी सकिएको थियो । पाँच हजार लिटर क्षमताको ट्याङ्कीको पानी एउटा पाइपबाट पठाउँदा २० देखि २५ मिनेटमा सकिन्छ । यदि फस्ट रेस्पोन्समा पुगेको दमकलले अवस्था हेरेर नागरिक फसेको अवस्था रहे उनीहरुको उद्धारका लागि तीनवटै पाइपबाट पानी पठाउनु पर्ने हुन्छ । सातघुम्तीमा पहिलो दमकलले पानी छ्यापेर आगो केहि नियन्त्रणमा लिएपछि फसेका नागरिक घाईते अवस्थामा उद्धार भएको पौडेलको जिकीर छ ।
यसरी हुँदैछ सुधार योजना
आलोचनाका बीच महानगरपालिकाले दमकलको संख्या बढाउने भन्दा पनि भएका दमकललाई परिचालनमा सहज बनाउने योजना अगाडी सारेको छ । बढ्दो शहरको जनघनत्व र संरचनालाई ख्याल गर्दै पानी भर्ने स्थानको व्यवस्थापन सुरु गरेको हो । विराटनगरमा आगलागीका घटना हुँदा दमकलमा पानी पठाउन विभिन्न स्थानमा बोरिङ थिए । ती अहिले काम लाग्ने अवस्थामा नभएका कारण अब खानेपानी आयोजना भएका स्थानमा आपत्कालिन आपूर्तिको लागि पाइप राख्ने तयारी भएको हो ।
अहिलेसम्म विराटनगर–१ को मानगढ खानेपानी आयोजना पानी भर्ने स्रोतस्थल थियो । अब तीनपैनी, देवकोटा चौक, विराटनगर–१२ को पानी ट्याङ्की भएको स्थानमा आपत्कालिन पानी आपूर्तिको प्रवन्ध योजना सुरु गरिएको पौडेलले बताएका छन् । स्रोत खोज्ने तयारी भईरहेको छ, कि त खानेपानी आयोजनाहरुबाट विभिन्न स्थानमा चेम्बर राख्ने काम हुन्छ कि त ट्याङ्की भएको स्थानमा दमकल भरिनेछ । त्यसका लागि अहिले समन्वयको काम सुरु गरिएको छ ।
यस्तो छ जोखिम रेखाङ्कन
विराटनगर महानगरपालिकामा अहिलेसम्म सबैभन्दा बढी दक्षिणी क्षेत्र आगलागीको बढी जोखिममा देखिएको छ । विराटनगर १४, १५, १६, १७, १८, १० र ८ लाई लक्षित गरेर फस्टरेस्पोन्स दमकल विराटनगर–१४ मा राखिएको छ । त्यसले प्रारम्भिक रुपमा आगो नियन्त्रणको भरथेग गर्नेछ । त्यसभन्दा बाहेक पुष्पलाल चौकबाट हुनेछ । तर, सुचना आए अनुसार लोकेसन हेरेर जुनसुकै बेला फस्ट रेस्पोन्समा दमकल खटाईने योजना रहेको छ ।
वर्षेनी हुन्छ जनधनको क्षति
मोरङमा २०७६ सालमा आगलागीबाट एक जनाको ज्यान गएको थियो भने ३ जना घाइते भएका थिए । त्यसवर्ष १०२ घर र २१ गोठ समेत आगलागी प्रभावित हुँदा ६ करोड ९१ लख ६४ हजार ५०० रुपिँया बराबरको धनको क्षति भएको थियो । यसैगरी २०७७ सालमा चारजना घाईते र ४६ घर तथा ११ गोठ प्रभावित हुँदा २ करोड २३ लाख ३६ हजार ५०० रुपिँया बराबरको क्षति भएको थियो । २०७८ मा एकजनाको मृत्यु र एकजना घाईते भएका थिए । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको जारी विपद् बुलेटिन अनुसार २६ घर ११ गोठ प्रभावित हुँदा ३२ करोड ८५ लाख ९० हजार बराबरको क्षति भएको थियो । यस्तै २०७९ मा सातजनाको मृत्यु र ६जना घाईते भएको तथ्यांक छ । घटनामा जम्मा ७९ घर र ४२ गाईगोठ प्रभावित हुँदा ३० करोड ७० लाख ५७ हजार बराबरको क्षति भएको देखिन्छ ।