सुजता लिम्बु
विराटनगर । दमककी ब्रियाना राई उमेरले २२ वर्षकी भइन् । पाँच वर्ष अगाडी छोराको रुपमा चिनिएकी उनी अहिले आफूलाई छोरीको रुपमा चिनाउन संघर्षरत छिन् । आफ्नो पहिचान खुलाउन परिवारसँगको पहिलो लडाँइ लेडेकी उनी अहिले समाज र सिंगो राज्यसँग लडिरहेकी छिन् ।
विद्यालयमा हुँदा नै आफ्नो हाउभाउको कारण साथीभाईको खिसिट्यूरीबाट आजित बनेकी उनी अहिले सबै कुरालाई बेवास्ता गर्दै निर्धक्क जिउन पाउने अधिकारको लडाईमा होमिएको सुनाउँछिन् ।
आफू समान्य पुरुष हुँ या यौनिक तथा अल्पसंख्यक समुदयाको हुँ भन्ने पहिचान पत्तो नपाउदासम्म उनी बाध्यताले पुरुषको स्वरुपमा नै बाँचेका थिए । जब लिड नेपालको कार्यालयमा आएर आफू को हुँ ? भन्ने प्रश्नको उत्तर स्पष्टसँग प्राप्त गरिन त्यस दिनदेखियता उनी महिलाको रुपमा ब्रियना नामले आफूलाई चिनाउन सुरु गरिन् । त्यसो त उनीसँग पुरुष हुँदाको नेपाली नागरिकता र शैक्षिक प्रमाणपत्र छ । तर, अहिले पुरुषको नागरिकता त्यागेर ब्रियनाको नामको नागरिकता लिने लडाई लडिरहेकी छिन् । यसका लागि कानुनी पाटो सकस रहेको बताउने उनी सामान्य महिला र पुरुषले झैँ आफूहरुले नागरिकता पाए केही सेवामुखी काममा व्यस्त हुने चाहाना रहेको सुनाउछिन् ।
घरको जेठा छोरा त्यसमा पनि एक्लो छोरा परिवारको खुशी उनैमा थियो । तर, एक्कासी छोरीकोरुपमा उनले आफूलाई परिवार माझ उभ्याउदै गर्दा परिवारको खुशीमा पूर्णविराम नै लागेको थियो । १० कक्षा पास गरेपछि उनले आफू छोरा होइन भन्ने पात्तो पाएकी रहेछिन् । बुवाको निधन र आमाले अर्को विवाह गरेर गएपछि जीवनको यात्राले अर्को मोड लिएको बताउने उनी आफू यौनिक तथा लैगिंक अल्संख्यक समुदाय भएकै कारण साथीभाईको खिसिटियुरीले पढाईलाई बीचैमा ‘ब्रेक’ लागेको उनी सुनाउछिन् । उनी भन्छिन्,‘पढ्न त धेरै मन थियो तर के गर्नु मेरो परिचयले मलाई पढ्नबाट नै रोेकिदियो ।’ उनले ११ कक्षासम्म अध्ययन गरेकी रहेछिन् । तर, नागरिकता ब्रियनाको नाममा नभएकाले रोजगारीबाट बन्चित रहेको दुखेसो सुनाइन् ।
‘ मसँग पहिले केटा हुँदाको नागरिकता छ, अहिले म ब्रियना हुँ यही नाममा नागिरिकता बनाउनु छ तर कानुनी पाटो झन्जटिलो छ,’ उनी भन्छिन्,‘नागरिकता नुहँदा जागिर पनि छैन ।’ त्यसो त आफूहरुको अस्तित्व समाजले स्विकार नगर्दा रोजगारीमा मात्रै होइन, विविध कुराहरुमा समस्या भएको बताउदै उनले घर भाडामा पाउन समेत सकस भएको बताइन् । नागरिकता नहुँदा आफू नेपालको नागरिक भएपनि अनागरिक जस्तो महसुस भएको उनले सुनाइन् । उनी अहिले लिड नेपालमा कार्यरत छिन् ।
यस्तै विर्तामोडकी पलवी मगर २३ वर्षकी भइन् । झट्ट अनुहारलाई अध्ययन गर्दा समान्य महिला झैँ देखिए पनि आवाजले गर्दा मानिसहरुले मुखामुख गर्दै कुरा काट्ने गरेको दुखेसो सुनाउछिन् । कक्षा १० पास गरेपछि सार्वजनिकरुपमा आफ्नो परिचय खुलाउदै आएको बताउने उनी परिवारले धेरै साथ दिएको बताइन् । तर, जेठा दाईले अझै पनि आफ्नो अस्तित्व स्विकार गरिनसकेको उनको भनाई छ । कक्षा १२ सम्म अध्ययन गरिसकेकी पलवी आफ्नो पहिचान खुल्ने नागरिकता नहुँदा रोजगारीबाट बिन्चत हुनुपरेको सुनाउछिन् ।
उनी भन्छिन्,‘मसँग पुरुष हुँदाको नागरिकता छ, अहिले म पलवी हुँ अहिलेको नागरिकता छैन त्यसैले पनि अलिक गाह्रो भएको छ ।’ अहिले सहजरुपमा नागरिकता पाउनुपर्छ भन्ने माग सहितको लडाईमा रहेको बताउने उनी सरकारले विभेदकारी कानुन ल्याएको दुखेसो सुनाइन् ।
‘ मेरो नागरिकता छ, तर म पुरुष हुँदाको छ अहिले मेरो पहिचान महिला हो त्यसैले पनि मलाई पहिचानको आधारमा नागरिकता हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले सुनाइन्,‘पढाई छ , नागरिकता छैन त्यसैले पनि गाह्रो भएको छ ।’
सरकारले आफूहरु प्रति गरेको विभेदकारी निर्णय प्रति धेरै नै गाह्रो भएको गुनासो सुनाउदै उनले समाजले त झनै तल्लो स्तरको सोँच राख्ने गरेको बताउछिन् ।
आफ्नो पुरानो नागरिकता देखाउदा प्रशासनिक कामै पनि खिल्लि उडाउने जस्तो हिंसात्मक गतिविधि बेहोर्दै आएको उनी बताउछन् ।
‘नागरिकता दखाउदा पनि जिस्काउने हो की भन्ने हुन्छ, कोही त मुखामुख गरेर नै जिस्काउने गर्नुहुन्छ,’ उनी भन्छिन्,‘बार क्लब जाँदा, गाडी चढ्दा समेत हिँसा बेहोर्नुपर्छ गाडी चढ्दा कतै रोजगारीमा जाँदा समेत समयमा तलब नदिने काममा पेल्ने जस्तो क्रियाकलाप हुन्छ । कतै त आफूले नगरेको गल्तिमा समेत प्रहरीले गाली गर्नुहुन्छ ।’ समान्य महिला र पुरुषले झैँ आफूहरु पनि समाजमा सम्मानजनक जीवन जिउने चाहाना रहेको उनी बताउछिन् ।
यता, समुदायको साथीहरु परिवर्तनको लहरमा रहेको लिड नेपालकी प्रमुख चन्चला लिम्बू बताउछिन् । आफूहरुले अवाज उठाउदा नागरिकता माग, लैंगिक पहिचानको सन्र्भमा नै हुने गरेको र विभेदकारी कानुनलाई खारजे गरेर आफूहरुको समुदायलाई स्विकार्य हुने कानुन ल्याउनुपर्नेमा उनी जोड दिन्छिन्सरकारले दिएको अधिकार उपभोगबाट आफूहरु बन्चित रहेको बताउदै उनले
‘नागरिकता फाँटमा पनि हामीलाई सकस छ, समान्य महिला पुरुष र महिलाले सहज तरिकाले नागरिकता पाएपनि हामीलाई कानुनी पाटोले पनि गाह्रो बनाइदिएको छ, उनले भनिन्,‘मेडिक रिपोर्ट लिएर आइज भन्छन्, यो सबैमा सम्भव पनि छैन खर्चालु पनि छ ,हामीले नांगिनुपर्ने सरकारले नै हामीलाई हिंसा गरेको छ ।’
२०६४ पुष ६ गते सर्वच्च अदालतले लैगिंक पहिचानसहितको नागरिकता दिनु भनेर फैसला गरेपनि नागरिकता लिएपछिको प्रावधान सहज तरिकाको नभएको उनको गुनासो छ । नागरिकताको पहँचमा आफ्नो समुदायको नागरिक नपुग्दा वृद्ध भत्ता साथै राज्यले दिने सेवासुविधाबाट बन्चित रहेको उनले बताइन् । सरकारले दिएको अधिकार उपभोगबाट आफूहरु बन्चित रहेको बताउदै उनले निति नियम बनाउनदा आफूहरुको विषयलाई पनि समेटेर निति निर्माण गर्नुपर्नेमा जोड दिन्छिन् । चन्चला यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक, अधिकारको विषयमा वकालत गर्दै आइरहेकी छिन् ।
हालसम्म कोशी प्रदेशमा यौनिक तथा लैंगिक अल्संख्यकको समुदाय जनगणनाको तथ्यांक अनुसार ४२० को हाराहारीमा रहेको छ ।
सरकारको विभेदकारी कानुन परिमार्जित हुनुपर्ने, समान्य महिला र पुरुषले झैँ आफूहरुको समुदायले पनि सहज तरिकाले नागरिकता पाउनुपर्ने माग राख्दै लिड नेपालले कोशी प्रदेशका प्रदेश प्रमुखलाई विज्ञप्ति बुझाएका छन् । उनै लिम्बूको नेतृत्वमा मंसिर २५ गते विज्ञप्ति बुझाएका हुन् । यता, प्रदेश प्रमुख खापुङले यौनिक तथा लैंिगक अल्पसंख्यक समुदायको समस्या र चुनौतीलाई सकारात्मक लिएको बताएका छन् । प्रदेश प्रमुख खापुङले सकारात्मक ढंगले सहयोग समेत प्रतिवद्धता जनाएका छन् ।