विराटनगर । एम्बुलेन्स जस्तो सवेदनशील सवारीको चालक मापदण्ड अन्य सवारी भन्दा फरक छ । चालक अनुमतिपत्र लिएर पाँचवर्ष अन्य सवारीमा चालकको अनुभव लिएपछि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट छुट्टै तालिम समेत लिएको हुनुपर्ने प्रावधान छ । त्यस बाहेक एम्बुलेन्स चालकले पालना गर्नुपर्ने आचारसंहिता समेत अन्य चालक भन्दा विशिष्ट छन् । तर, मोरङमा पछिल्लो समय एम्बुलेन्सका चालक धमाधम मादक पदार्थ सेवन गरेर सवारी चलाईरहेको अवस्थामा पक्राउ पर्न थालेपछि यस बारे चिन्ता र चासो बढ्न थालेको छ ।
गत मंसिर ५ गते को १ च ४१५८ नम्बरको एम्बुलेन्स चालक मोरङ रतुवामाई नगरपालिका–१ का २९ वर्षीय सफल मुर्मु सतार मादक पदार्थ सेवन गरेको अवस्थामा पक्राउ परेका थिए । उनले चलाएको एम्बुलेन्सले विराटनगर अस्पताल चौकमा को २५ प २३६८ नम्बरको स्कुटरसहित मोटरसाइकल र पसलको सटरमा समेत ठक्कर दिएर क्षति पुगेको थियो ।
दुर्घटनापछि मोरङ प्रहरीको नियन्त्रणमा परेका चालक सफलले मादक पदार्थ सेवन गरेको पाइएको थियो । उनी विरुद्ध अभद्र व्यवहार कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय मोरङबाट १० हजार धरौटी माग भएको थियो ।
सुनसरी दुहवी नगरपालिका–४ का २८ वर्षीय सुनिल राजबंशी समेत मंसिर २८ गते मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाईरहेको अवस्थामा पक्राउ परेका छन् । प्रदेश १–०२–००२ च ४६८४ नम्बरको एम्बुलेन्स चालक राजबंशीलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा अभद्र व्यवहार समेत गरेपछि उनी विरुद्ध सात दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।
बिरामी बोक्ने एम्बुलेन्सका चालक मादक पदार्थ सेवन गरेर सवारी हाँकेको अवस्थामा धमाधम पक्राउ पर्न थालेपछि यससँग सम्बन्धित सरोकारावालाहरु भने चिन्तित बनेका छन् । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार प्रदेश र जिल्लास्तरमा यसको नियमन र सञ्चालन समितिहरु रहेका हुन्छन् ।
तर, एम्बुलेन्सका चालकहरुको लापर्वाहीपूर्ण व्यवहारले घटनास्थलदेखि अस्पतालसम्म पु¥याउनु पर्ने बिरामी र आफन्त समेत जोखिममा पर्नसक्ने मादक पदार्थ सेवन गरेका चालकहरु पक्राउ परेसँगै बढाएको हो ।
मोरङ एम्बुलेन्स चालक संघका अध्यक्ष चन्द्र पराजुलीका अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिले यसको नियमन र कारवाही गर्नुपर्ने प्रावधान निर्देशिकामा रहेको छ । ‘बस चलाएर आउने बित्तिकै एम्बुलेन्स चलाउन पाईदैन’ अध्यक्ष पराजुलीले भने–राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट एम्बुलेन्स चालक तालिम लिएको प्रमाणपत्र समेत अन्य कागजातका साथ आवश्यक हुन्छ । त्यसको नियमन जिल्ला ट्राफिक प्रहरीले गर्नुपर्ने भएपनि त्यस्तो नहुने गरेको अध्यक्ष पराजुलीको भनाई छ ।
तालिम लिदाँ २५ वर्ष भन्दा माथि भई पाँचवर्षसम्म सवारी चालकको काम गरिसकेको अनुभव हुनुपर्ने प्रावधान निर्देशिकामा रहेको छ । अध्यक्ष पराजुलीका अनुसार संस्थाले भित्र्याएका एम्बुलेन्स व्यक्तिले भाडामा लिएर चलाउँदा त्यसको नियमन हुननसकेर अहिले विकृति भित्रिएको हो । संस्थाको आफ्नै नियमनमा रहेका एम्बुलेन्स चालकहरु समेत तालिम प्राप्त नहुने र कतिपयको कागजात नविकरण समेत नहुने गरेकोे पराजुलीको आरोप छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने जिल्ला एम्बुलेन्स व्यवस्थापन तथा सञ्चालन समितिमा स्वास्थ्य कार्यालयका प्रमुख सदस्य सचिव, सरकारी अस्पतालका प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालय, रेडक्रस र एम्बुलेन्स चालक संघका प्रतिनिधि सदस्य हुने प्रावधान रहेको छ ।
एम्बुलेन्समा बिरामी नहुँदा चालकले साइरन बजाउन मिल्दैन, त्यस्तै जथाभावी गति दिएर कुदाउन समेत पाइदैन । जुन जिल्लामा दर्ता भएका एम्बुलेन्स हुन् त्यहि जिल्लालाई आधार बनाएर मात्रै सञ्चालन गर्न पाउने प्रावधान समेत रहेको छ । तर, अध्यक्ष पराजुलीका अनुसार अहिले मोरङमा १८ वटा संस्थाका एम्बुलेन्स व्यक्तिले भाडा बुझाएर भित्र्याएका छन् । जुन गैरकानुनी मानिन्छ । यस्ता एम्बुलेन्सहरुलाई सम्बन्धित जिल्लाका स्थानीय तहमा फिर्ता पठाउनु पर्ने माग संघले गर्दै आएको छ ।
मोरङमा सरकारी संस्थाका १४ वटा एम्बुलेन्स रहेका छन् । त्यस बाहेक निजी अस्पताल तथा संघसंस्थाका १२८ वटा एम्बुलेन्स रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता दाहालले संवेदनशील मानिने एम्बुलेन्सका चालकहरुको नियमित निगरानी गर्न जिल्ला प्रहरी कार्यालयबाट विशेष अभियान सुरु गरिएको दावी छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार साहले यसको नितीगत रुपमै सम्बोधन गर्ने गरि प्रहरीमार्फत कार्यन्वयनमा लैजाने बताएका छन् । उनले धेरैवटा समितिको संयोजक हुँदा कतिपय विषयमा ध्यान नपुग्ने गरेको बताए ।