सार्वजनिक यातायातमा जेष्ठ नागरिकलाई रुखो व्यवहार

<span class='c1'>सार्वजनिक यातायातमा जेष्ठ</span> <span class='c2'>नागरिकलाई रुखो व्यवहार</span>

सुजता लिम्बू
विराटनगर । यातायात मजदुरको रुखो बोली, गुन्द्रुक झैँ खाँदिएर गन्तव्यमा पुग्नै पर्ने यात्रुहरुको बाध्यता यो दैनिक जस्तो देखिने लामो तथा छोटो दुरीमा कुद्ने सार्वजनिक यातायातको दृश्य हो ।

त्यसो त सार्वजनिक यातायातको अगाडी पट्टीको सिटको भित्तामा अशक्त, महिला र जेष्ठ नागरिकका लागि आरक्षण सिट समेत तोकिएको हुन्छ । तर, त्यही आरक्षण सिट समेत जेष्ठ नागरिकले उपभोग गर्न पाएका हुँदैनन् । भाडा उठाउनैका लागि क्षमताभन्दा धेरै यात्रुहरु राखेर यात्रा गराउदै गर्दा सहचालकको रुखो व्यवहारको मारमा जेष्ठ नागरिक मात्रै होइन अन्य यात्रुहरु पनि पर्ने गरेका छन् ।

सुनसरीको इटहरीबाट धरान जानका लागि सार्वजनिक यातायात चढेका ६८ वर्षीय लालबहादुर वि.क. उभिएर नै तरहरासम्म पुगे । जेष्ठ नागरिक, महिला र अशक्तका लागि छुटाएको आरक्षण सिट पढेलेखेका युवाहरुले ओगटेका थिए । उनीहरुले एकअर्कामा मुखामुख गरे ठाउँ छोड्न चाहेनन् । त्यसो त सहचालकले समेत लालबहादुरलाई बस्नका लागि सिट व्यवस्थापन गर्ने तर्फ ध्यान दिएनन् । उल्टै रुखो स्वरमा ठाउँ सर्न भन्दै झम्टिए ।
सहचालकको व्यवहारले नै तरहराबाट अर्को गाडी फेर्ने उदेश्यले उत्रिएको उनले सुनाए । उनले यातायातको भाडादरमा राज्यले तोकेको
सहुलियत छुट समेत नपाएको गुनासो सुनाए ।

यता, विराटनगरको कन्चनबारीबाट इटहरीसम्म जान गाडी चढेकी ६१ वर्षीया बिनादेबि दाहालले पनि भनेजस्तो सिट पाउ सकेनन् । नत उनले यातायातको भाडामा छुट नै पाइन् । भाडामा ज्येष्ठ नागरिकले पाउने नियम अनुसारको छुट माग गर्दा सहचालकले सबैलाई छुट दिए आफूहरु घाटामा जाने अभिव्यक्ति दिएका थिए । नातीनीको सहारामा इटहरी हिँडेकी उनी सहचालकको व्यवहारले सँधै आजित बन्ने गरेको सुनाइन् ।
उनी भन्छिन्,‘गाडी चढाउने बेलामा म्याउम्याउ गर्छन्, गाडी चढेपछि यात्रुलाई कहाँ राख्ने भन्ने वास्ता नै गर्दैनन् ।’ वृद्ध, अशक्तका लागि छुटाइएको सिटमा समेत युवाहरुले नै ढाकेपछि उनले बराबराउदै भनिन्,‘पढेलेखेकाको त मन छैन अनि के गर्नु ?’ आफू उभिएको छेवैका एक यात्रुले बस्नलाई आग्रह गरेपछि सिटमा सबेर उनको यात्रा अगाडी बढेको थियो । तर, झर्ने समयमा सहचालकले हप्काउदै बसबाट उतार्न खोज्दा केही समय विवाद समेत सृजना भएको थियो । माथि उल्लेखित पात्रहरु शनिबार विराटनगरदेखि तरहरासम्म यात्रा गर्दा भेटिएका प्रतिनिधि पात्रहरु हुन् । सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा सहुलियत दिने सम्बन्धी ऐन, नियम र कार्यविधि बनिसक्दा पनि अझैसम्म छुट व्यवस्था भने नपाएको उनीहरुको गुनासो थियो ।

जेष्ठ नागरिकको आरक्षण सिटमा युवाहरुले ओगट्नुभन्दा पनि नैतिकताको आधारले ठाँउ खाली गर्दिनुपर्ने विराटनगरका युवा कृशल आले बताउन् । यस्तो विषय राज्यको मात्रै दायित्व नभएर सचेत नागरिकको हिसाबले नागरिकस्तरबाट थालनी हुनुपर्ने उनको भनाई छ ।
‘जेष्ठ नागरिक, महिला र अशक्तहरुका लागि छुटाइएको आरक्षण सिटमा युवाहरु नै बसेर अशक्त, जेष्ठ नागरिकहरुलाई बेवास्ता गर्ने गरेको पाइन्छ, यस्तो नैतिकताको विषयमा राज्यले मात्रै नियमन गरेर हुँदैन हामी नागरिक स्तरबाट पनि नियन्त्रण गर्नु सक्नुपर्छ,’ उनी भन्छन्,‘यातायातको क्षेत्रमा पनि सहचालकले यस्तो विषयलाई ध्यानमा राख्नुपर्छ । ’

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सरोज पौडेलले सार्वजनिक यातायातमा जेष्ठ नागरिकले नपाएको छुटको सम्बन्धमा उजुरी आए कारबाही गर्ने गरेको बताउछन् । कहिलेकाँही सार्वजनिक यातायातमा छड्के चेकजाँच समेत गर्ने गरेको बताउदै एसपी पौडेलले चेकजाँज गर्दा आरक्षण सिट नदेखिएमा नियमन गर्ने गरेको बताए ।

‘हामीले सार्वजनिक यातायातमा छड्के चेकजाँच पनि गरेका छौँ र आरक्षण सिट नभेटेमा कार्वाहीको दायरामा पनि ल्याएका छोँ, ‘ उनले भने,‘ हामीलाई जेष्ठ नागरिकले भाडामा छुट दिनुपर्छ भनेर गाडीमा चढाएन भनेर उजुरी गरेको खण्डमा तत्कालै रेसपोन्स गरेर कार्वाही समेत गरेका छौँ ।’ उनी यस्तो विषय नागरिक तहबाट पनि सजक हुनुपर्नेमा जोड दिन्छन् ।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयकाको साउनदेखि पुष १५ गतेसम्मको तथ्याङ्क अनुसार जेष्ठ नागरिकलाई भाडा छुट नदिएको ७ वटा उजुरी परेको छ । विद्यार्थीहरुलाई छुट नदिएको ७ वटा, अशक्त र फरक क्षमता भएकालाई भाडा छुट नदिएको १० वटा गरी जम्मा २४ वटा उजुरी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्