विराटनगर । कुनै समय प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदारको बन्दसूचीमा परेको नाम उही बन्दसूचीमा नै सिमित भएर माओवादी केन्द्रकी चम्पादेवी कार्कीको संसदीय यात्रा रोकिएको थियो ।
अहिले एकैपटक राष्ट्रिय सभा चुनावको उम्मेदवार बन्दै गर्दा धैर्यताको एउटा प्रतिबिम्ब रहेको उनी सुनाउछिन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा सोमबार राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता पछि भेटिएकी ओखलढुंगाकी चम्पादेवी यसअघि संविधान सभाको दुई वटा निर्वाचन र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक उम्मेदवार थिए । तर, तीन पटक नै उनको नाम बन्द सूचीमै सीमित रहेको उनले बताइन् ।
ओखलढुंगाको साबिक मुलखर्क गाविस वडा नम्बर ६ बाट २०५४ सालमा एमालेका तर्फबाट वडा सदस्यमा निर्वाचित भएकी उनी त्यसपछि माओवादी जनयुद्धमा होमिएकी थिइन् । राजनीतिक जीवन यात्रामा अनेकन आरोह, अवरोह पार गरेकी उनले जनयुद्धकै क्रममा उनको दाहिने हात समेत गुम्यो । उनी पालिकाको अध्यक्षमा समेत प्रतिस्पर्धाको मैदानमा उत्रिएका थिइन् । तर, उनले सफलता प्राप्त गर्न सकिनन् । अहिले भने उनी गठबन्धनको तर्फबाट राष्ट्रियसभाको उम्मेदवार बनेकी छन् ।
मुख्य प्रतिस्पर्धी एमालेभन्दा सत्ता गठबन्धनसँग मतभार धेरै भएकाले पनि अन्यबाट उम्मेदवारी दिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला र माओवादीकी कार्की दुवैले जितप्रति ढुक्क रहेको बताउछन् । निर्वाचनमा जित हासिल गर्नु या हार्नु राजनीतिक यात्राको सुरुवात पद र सत्ताका लागि नगरेको प्रतिक्रिया दिँदै कार्कीले मुक्ति र स्वतन्त्रताका लागि युद्ध लडेको र त्यसरी लडेर ल्यएको व्यवस्थामा नै जनप्रतिनिधि बन्ने क्रममा रहेकोमा आफू खुशी रहेको बताइन् ।
कोशीमा यस्तो छ राष्ट्रिय सभा निर्वाचनको मतभार
राष्ट्रियसभाको लागि कोशीमा स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी कूल ३६७ मतदाता रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।
प्रदेशमा प्रदेशसभाका ९३ सांसदमा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना छन् । सांसदहरुतर्फ एमालेको २१२०, काँग्रेसको १५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार रहेको छ ।
स्थानीय तहका प्रमुख र उपप्रमुखमा प्रदेशमा रहेका १३७ पालिकाका २७४ मध्ये एमालेका ११०, काँग्रेसका ११५, माओवादीका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना छन् । पालिकामा एमालेको २०९०, काँग्रेसको २१८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार छ ।
प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१०, नेपाली कांग्रेसको ३ हजार ७२२ र माओवादी केन्द्रको १ हजार २७८ रहेको छ । यस्तै एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ । गठबन्धन कायम रहँदा गठबन्धनको पक्षमा ५४८३ मतभार हुनेछ । जुन एमालेको भन्दा १२६४ ले बढी हो ।