इन्दु साह
विराटनगर । विराटनगरमा अझै ६० प्रतिशत बढी घरधुरीले भूमिगत जलस्रोतको प्रयोग गरिरहेका छन् । महानगरपालिका क्षेत्रमा ६० दशमलव ७ प्रतिशत घरधुरीमा अझैसम्म पीउने पानीको धारा जडान भएको छैन । यी घरहरुले ट्युवेलको प्रयोग गरेर दैनिक पानी आपूर्ति गर्दै आएका हुन् ।
विराटनगर महानगरपालिकाको आर्थिक वर्ष २०८०\२०८१ को नीति कार्यक्रम तथा बजेटमा उल्लेखित तथ्यांक अनुसार १९ वडामा ५६ हजार ९१९ घरधुरीमध्ये २९.७ प्रतिशत घरमा मात्रै धारा जडान भएको छ । विराटनगरमा ५.५ प्रतिशत घरधुरीले जार र बोतलको पानी प्रयोग गर्दै आएको तथ्यांक छ । महानगरपालिका भित्रका ३.२ प्रतिशत घरधुरी अन्य स्रोतमा निर्भरत रहेका छन् । घरमा धारा, ट्युवेल र जार तथा बोतल प्रयोग नहुने तर पानीका लागि कुनै न कुनै माध्यममा निर्भर रहनेलाई अन्य स्रोतमा राखिएको छ ।
महानगरपालिका खानेपानी शाखाका अधिकारी मुकेश कामतका अनुसार नेपाल खानेपानी संस्थानसहित विराटनगरमा तीनवटा उपभोक्ता समितिमार्फत धारामा पानी वितरण हुँदै आएको छ । खानेपानी संस्थानबाट १२ हजार ४७७ घरधुरीमा धारा जडान भएको छ ।
विराटनगरमा सबैभन्दा ठूलो खानेपानी वितरण प्रणाली भएको संस्थानको १८ वटा वडामा पानीको पाइपलाइन विस्तार भईसकेको छ । त्यसलाई विस्तार जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाईका)को सहयोगमा नयाँ परियोजना निर्माण प्रक्रिया सुरु भएको छ । खानेपानी संस्थानका सुचना अधिकारी होमप्रसाद चौलागाँईका अनुसार गत माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले विराटनगर–५ कोलरहवामा १३ कठ्ठा २ धुर जग्गा जाईकाको सहयोगमा निर्माण हुने खानेपानी आयोजनाका लागि उपलब्ध गराउन स्वीकृती दिने निर्णय गरिसकेको छ । योसँगै संस्थानको नयाँ परियोजनामा १६ लाख ५० हजार लिटरको ओभरहेड ट्याङ्कीसहितको संरचना बन्नेछ । तर, यो परियोजनाका लागि जाईकाले ग्लोबल टेण्डर आह्वान गर्ने कामका लागि जग्गा उपलब्ध गराउने निर्णयसँगै बाटो खुलेको छ ।
चौलागाँईका अनुसार साविक विराटनगरका वडामध्ये १९ नम्बर वडा पुरानो झापा बैजनाथपुर गाविसबाट मर्ज भएको थियो । त्यस वडा बाहेक संस्थानको पाइप सबैमा छ । विराटनगर महानगरपालिकामा खानेपानी सुधार आयोजनाका लागि जाईकाले २ अर्ब ७ करोडको अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
यसैगरी मानगढ खानेपानी उपभोक्ता समिति, बखरी खानेपानी उपभोक्ता समिति र जामुनगाछी खाने पानी उपभोक्ता समितिमार्फत विराटनरमा पानी आपूर्ति हुँदै आएको छ । महानगरपालिकाको खानेपानी शाखाको तथ्यांक अनुसार मानगढ खानेपानी उपभोक्ता समितिले ६ हजार घरधुरीमा धारामार्फत सुद्ध पानी उपलब्ध गराउँदै आएको छ । यसैगरी जामुनगाछि खानेपानि उपभोक्ता समितिमार्फत वडा नं ४ र ५ मा नौसय घरधुरीले खानेपानीको धारा जडान गरेको जामुनगाछीको महासचिब देबचन्द्र घिमिरेले जानकारी दिनुभयो । बखरी खानेपानी उपभोक्ता मार्फत ६ सय ३८ घरधुरीमा धारा जडान भएको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर खानेपानी सुधार आयोजनाका लागि जाईकाको अनुदान सहयोगमा परियोजनामार्फत सुद्ध पीउने पानीको पहुँच नगरवासीमा बढाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले निजीस्तरबाट समेत लगानी प्रोत्साहन बढाएर सुद्ध पानी वितरणका लागि पहल भईरहेको दावी गर्नु भएको छ ।