हल्ला जस्तो छैन विराटनगर रानी नाकाको कडाई

हल्ला जस्तो छैन विराटनगर रानी नाकाको कडाई

देवराज तामाङ
विराटनगर । विराटनगर रानी नाकाबाट एक सय रुपैँया भन्दा बढीको मालवस्तु भित्र्याउँदा अनिवार्य भन्सार बुझाउनु पर्ने कडाई रहेको बाहिरी हल्ला चलेपनि त्यस्तो छैन । दैनिक सयौं उपभोक्ता जोगबनी पुगेर सामान लिएर आउँछन् । रानी नाकामा भन्सार, सशस्त्र प्रहरी र नेपाल प्रहरी तीन तहमा बसेर उनीहरुको झोला चेकजाँच गर्दछन् । पहिलो लेयरमा भन्सारका कर्मचारी, दोस्रोमा सशस्त्र र त्यसपछि नेपाल प्रहरीको चेकजाँच देखिन्छ ।

तर, तीनै निकायको चेकजाँचमा सामान लिएर आउने जतिले भन्सार बुझाउनु पर्ने हुँदैन । मन लाग्दा कसैलाई पठाई हाल्ने नलाग्दा छोड्ने परम्परागत शैली बाहेक बाँकी कुरा हल्ला चलेजस्तो छैन । अझै सीमानाका कडाई गरिएको हल्ला भएपछि रिपोर्टिङका लागि पत्रकार पुगे भने त्यसबेलासम्म धमाधम चेकजाँच गरे झैं गर्ने, त्यसपछि पुनः छोड्ने शैली देखिएको हो । अर्को त भन्सार, सशस्त्र र नेपाल प्रहरीले चेकजाँच गरिरहेको अवस्था बीचबीचमा अन्य केहि व्यक्तिहरुले लगातार ओहोरदोहोर गरिरहेको देखिन्छ । ओहोरदोहोर गरिरहनेहरु सामान लिएर आउनेसँग सेटिङ मिलाएर चेकजाँच गर्नेलाई संकेत गर्ने व्यक्तिहरु रहेको दावी छ । त्यसैले कसैले सामान लिएर आउँदा जर्बरजसती भन्सार चेकपोष्ट पठाउने र कसैले लिएर आउँदा वास्ता नगर्ने दुवै किसिमको चेकजाँच हुने गरेको आरोप बारम्बार लाग्ने सुरक्षा संयन्त्रका लागि अहिले पनि उस्तै छ ।

बिहीबार रानी नाकामा कडाई भईरहेको सामाचार संकलन गर्न पुग्दा एकसाथ जोगबनीबाट फर्कनेहरुको लाइन थियो । लाइनमा आउनेहरुलाई खासै कडाई थिएन । कार्यालयमा आईपुग्दा एकजना स्थानीयले रानी नाकामा असाध्यै कडाई भईरहेको भन्दै फोन गरेका थिए । त्यसपछि कडाई भएकी क्या हो ! भनेर शुक्रबार असाध्यै कडाई भईरहेको रानी नाकामा पुग्दा कसैलाई लगालग त कसैलाई भन्सार चेकपोष्ट पठाउने बिहीबारे शैली दोहोरिएको देखिन्थ्यो ।

जोगबनीबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको दैनिक उपभोग्य सामग्री किनेर फर्किने प्रत्येक उपभोक्तालाई रानी नाकामा सुरक्षाकर्मीले भटाभट भन्सार तिर्न लगाउन थालेको भन्ने हल्ला भने अहिले क्यारिङ्ग गरेर सामान भित्र्याउनेहरुले धेरै चलाएको दावी छ । नयाँ गृहमन्त्री आएपछि सीमामा धमाधम कडाई भने जस्तो हल्ला बाहेक फिल्डमा पुग्दा देखिने साविक अवस्था बाहेक छैन ।

विराटनगर भन्दा सस्तोमा दैनिक उपभोग्य सामग्री खरिद गर्न पाउने भएकाले जोगबनी बजारमा धेरै पुग्छन् । पुग्नेहरु दुई केजी चामल लिएर फर्कने पनि हुन्छन् । यसैगरी जोगबनी पुगेपछि छ थान झ्यालका पर्दा एक हजार ५०० मा लिएर फर्कने पनि हुन्छन् । उनीहरु पटके नभएर कहिले काँहि जानेहरु हुन् । क्यारिङ्गको कारोबार चलाउनेहरु दैनिक छ पटकसम्म जोगबनीबाट सामान ल्याउने गरेका छन् । बारम्बार आउजाउ गर्ने र क्यारिङ चलाउनेहरुको अनुहार सुरक्षा संयन्त्रलाई स्पष्ट जानकारी हुन्छ । त्यति मात्रै नभई सामान्य झोलेपोकेलाई सामान भित्र्याएर क्यारिङ चलाउनेहरुको बारेमा पनि सुरक्षा निकायलाई थाहा छ । यसैगरी जोगबनीमा कुनै उपभोक्ताले किनेको सामान विराटनगरसम्म ल्याउने गाडी नम्बर, सिटी सफारी पनि थाहा छ । सिटीमा २०० केजी प्याज बोकेर आउँदै गर्दा भन्सारको चेकपोष्ट जानु पर्दैन तर प्लाष्टिकका झोलामा सामान लिएर आउनेलाई चेकपोष्ट पठाउने गरिएको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्