विराटनगर । नयाँ वर्षको आगमनसँगै पूर्वी तराईका आदिवासी समुदायमा मुख्य पर्वको सुरुवात हुन्छ ।
नयाँ वर्षको स्वागतसँगै तराईका आदिवासीहरु राजवंशी, ताजपुरिया, गनगाई, हलुवाईलगायतका समुदायले सिरुवा पर्व मनाउने गरेका छन् ।
यस्तै धिमाल समुदायको वैशाख २ गतेदेखि जात्री सुरु हुन्छ जुन जारी छ ।
कसरी मनाईन्छ सिरुवा ?
सिरुवा पर्व वर्षको अन्तिम दिन ग्रामथान तथा महाराजथानमा पान–सुपारी चढाएर पूजा विधि शुरू गरिन्छ । भोलिपल्ट घर घरमा खाने पकवानहरु तयार पारिन्छ ।
यो पर्व पर्षको अन्तिम दिनदेखि मनाइन्छ । चैतमा पकाएर वैशाखमा खाने भएकाले यस पर्वलाई ‘चैतेर नाधा बैशाक’ पनि भनिन्छ । यस पर्वमा पानीमा भिजाईएको पन्थाभात तथा सजिवन, बोडी, पैसाग, पटुवाको सागको तरकारी, घुन्नी–मुरी (चना–भूजा) लगायतका परिवार खाने गरिन्छ ।
नयाँ वर्षको पहिलो दिन घरमूलीले सूर्योदय अघिनै घरका सबै सदस्यलाई पानी छर्किएर वर्ष भर शीतलताको कामना गर्दै पानी सिरुवा मनाइन्छ । सोही दिन अघिल्लो दिन पकाईएका पाकवान खाएपछि एक आपसमा हिलो दलेर काद सिरुवा मनाउने गरिन्छ ।
वैशाख लागे पछि खेतीको समय शुरू हुने र मानव शरीर मृत्युपछि माटोमै मिल्ने भएकाले माटो प्रति सम्मान जनाउँदै शरीरको शीतलताका लागि यो पर्व मनाउने चलन छ ।
धिमाल समुदायको जात्री कसरी मनाउछन्
पूर्वी नेपालको आदिवासी धिमाल समुदायको सबैभन्दा लामो पर्व जात्री शुरू भएको छ । यो पर्व हरेक वर्ष वैशाख २ गतेदेखि असार २ गतेसम्म मनाउने गरिन्छ ।
जात्री पर्वको पहिलो दिन राजारानीमा रहेका ग्रामथानमा माझीबराङ् तथा धामीबराङ्ले पूजा गरेपछि यो पर्व शुरू भएको मानिन्छ ।
टोलैपिछे मेला
सिरुवा तथा जात्रीका अवसरमा टोलटोलमा मेला लाग्ने गरेको छ ।
२ महिनासम्म मनाइने यो पर्वमा लाग्ने मेलामा सामूहिक रुपमा पूजा गरिन्छ भने आफूले भाकल गरेअनुसार वस्तु चढाउने र बली दिने चलन छ ।