चतरामा महाकुम्भको मुख्य पण्डालमा सम्मानित भए विराटनगरका करिम अन्सारी

चतरामा महाकुम्भको मुख्य पण्डालमा सम्मानित भए विराटनगरका करिम अन्सारी

विराटनगर । बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा विराटनगर–१ पोखरीया बस्तीका करिम अन्सारीलाई भव्य सम्मान गरिएको छ । महाकुम्भ मेला मूल आयोजक समारोह समितिले मुख्य पण्डालमा अन्सारीलाई राधेराधे लेखेको खादा ओडाएर विशेष सम्मान गरेको हो ।

आर्थिक अभावका कारण वराहक्षेत्रको कुम्भ मेला भर्न विराटनगरबाट जान नसक्ने भक्तजनलाई शनिबार निःशुल्क बस सेवा प्रदान गरेका अन्सारी मुस्लिम धर्मावलम्बी हुन् । अन्सारीले हिन्दूहरूको कुम्भ मेलालक्षित निःशुल्क बस सेवा सञ्चालन गरेर पु¥याएको योगदान अतुलनिय भएको भन्दै जगतगुरु बालसन्त महाराजले नै उनको विशेष सम्मान आयोजना गरेका हुन् ।

करिमलाई दिइएको सम्मान–पत्रमा भनिएको छ ‘२०८० चैत्र २७ गतेदेखि २०८१ वैशाख २८ गते० सम्म आयोजित नेपाल राष्ट्रकै गौरव बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई भव्यता प्रदान गर्न तपाईंले विराटनगरबाट कुम्भस्थलसम्म आउने भक्तजनका लागि दुईवटा निःशुल्क बससेवा सञ्चालन गर्नु भई धार्मिक सद्भाव र साहिष्णुता प्रदर्शन गर्नुभएकोमा तपाईंको अनुकरणीय र अनुसरणीय कार्यको उच्च मूल्याङ्कन गर्दै बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समारोह समितिका तर्फबाट सादर यो सम्मान–पत्र समर्पण गरिएको छ’ अन्सारीलाई प्रदान गरिएको छ ।’

करिमको उदारता धार्मिक सहिष्णुता कोसन्देशले सर्वत्र प्रशंसा पाएको छ । महाकुम्भ मेला स्वागत तथा आवास व्यवस्थापनका सह–संयोजक युवराज भट्टराईले शनिबार दुईवटा बसमा एकसय भक्तजनलाई निःशुल्क मेलास्थल ल्याएर फर्काउने कार्य अतुलनिय भएको बताए । ‘बाल्यकालदेखि हिन्दू–मुस्लिमको पाठ पढ्नु परेन, यहि समाजमा हुर्केपछि मैले धर्मसँग जोडिनु थिएन’ करिमले सम्मानपछि मानव सेवाको भावना भाबुक हुँदै पोखेका थिए ।

अन्सारीले विराटनगरमा गरिब असहायमा दुःख पर्दासमेत सहयोग गर्दै आएका छन् । उनले मलामी जानेका लागि निःशुल्क बस उपलब्ध गराउँदै आएका छन् । उनको सुकर्मले उनको व्यवसाय समेत दैनिक बढिरहेको छ । सहचालकबाट गाडीमा काम सुरु गरेका अन्सारीसँग अहिले चारवटा बस रहेका छन् । भएमध्येका एउटा बस मलामी जानेहरुका लागि निःशुल्क दिदैं आएका छन् ।

करिमको कर्मको प्रशंसा गर्दै कुम्भको मुख्य पण्डालमा जगद्गुरु बालसन्तले उनलाई सम्मान गरेका थिए। जगद्गुरु बालसन्तले अन्सारीजस्ता ठूला हृदय भएका व्यक्तिले सनातनदेखिको धार्मिक सहिष्णुता कायम राख्न भूमिका खेलेको भन्दै प्रसंशा समेत गरेका थिए । चतराको मुख्य मण्डालमा पुगेर सम्मान लिने अवसर थोरै व्यक्तिहरुलाई मात्रै मिल्ने गरेको छ । जसमध्ये करिम एक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्