इन्दु साह
विराटनगर । उमेरले ६२ वर्ष पुगेपछि डोमाकान्त कामतले सिटी किने । उनी बसपार्कमा बसेर लोड–अनलोडको काम गर्दै जीविकोपार्जन गर्ने गर्दथे । काँध पिलियो, उमेरका कारण भारी उचाल्न नसक्ने अवस्था भएपछि कामतले सहज कमाईको बाटो सिटी चालकको रुपमा रोजेका हुन् ।
उनी दुई महिनादेखि सिटी सफारी किनेर दैनिक चलाईरहेका छन् । उनको अनुभवमा युवा भन्दा पाको उमेरका चालक सडकमा सावधानीपूर्वक सिटी चलाउने गर्दछन् । ‘बसमा होस् वा ट्रकमा या त अन्य कुनै पनि सवारी साधनका चालक युवा भन्दा पाको उमेर भएकाहरु बढी सावधानी देखिन्छन्’ कामतले भने–मैले लामो समय बसपार्कको संगत गरेको छु, त्यसले पनि मलाई यहि अनुभव भएको छ । उनले सिटी चालक रुपमा काम सुरु गरेपछि बसपार्क भन्दा बाहिरको वातावरणलाई पनि बुझिरहेका छन् । आफ्नो हातमा स्टेरिङ्ग छ भनेर मनपरी तरिकाले कुदाउने चालक पाको उमेरका भन्दा युवा उमेरका धेरै रहेको उनको बुझाई छ ।
ओबी मिडिया प्रा.लि.द्वारा आयोजित ‘दुर्घटना न्युनीकरण र ट्राफिक सचेतना’ विषयक कार्यक्रममा सहभागी कामतले विराटनगरका आधाभन्दा बढी सफारी चालकले औपचारिक तालिम नलिएको जसरी सवारी चलाउने गरेको बताए । उनले अनुमतिपत्र नभएकाहरुले ट्राफिकलाई देख्नासाथ गति बढाउने हुँदा सवारीको क्षमता भन्दा बढी दौडाउने गरेको बताए । अनुमतिपत्र नभएका र उमेर नपुगेकाहरूले सवारी साधन चलाउँदा दुर्घटना हुने जोखिम बढी रहेको उनको धारणा थियो ।
यस्तो अवस्थामा, चालकहरूलाई सुरक्षित तरिकाले सवारी साधन चलाउन सिकाउने र सचेत गराउने कार्यक्रमहरू आवश्यक रहेको कामत बताउँछन् । चालकहरुका लागि ज्ञान बाँड्ने कार्यक्रम भएका कारण आफू सहभागी भएको उनले सुनाए । लामो अनुभव भएका व्यक्तिहरूको सहभागिता यस्ता कार्यक्रममा महत्वपूर्ण हुने र उनीहरुले आफ्नो सवारी अनुभव सुनाउनु पर्ने उनको बुझाई थियो । उनीहरूले आफ्नो अनुभव बाँड्न सक्छन् र अरू चालकहरूलाई सुरक्षित तरिकाले सवारी चलाउन प्रेरित गर्न हुन्छन् भन्ने लाग्ने गरेको कामतको भनाई छ ।
स्थानीय प्रशासन र यातायात व्यवस्थापन निकायहरूले पनि कानून लागू गरी अनुमतिपत्र नलिएका व्यक्तिहरूलाई सवारी चलाउनबाट रोक्नुपर्ने उनले सुनाएका थिए । सवारीसाधन चालकहरूमा अनुशासन र जिम्मेवारी बढाउन सके मात्रै सडक प्रयोग व्यवस्थापन उचित हुने र त्यसले दुर्घटनामा कमी ल्याउने उनको भनाई छ ।