-बिबेक दाहाल
शिक्षा प्रणालीमा निहित सबैभन्दा ठूलो समस्या के हो भने सम्भवतः बच्चाहरूमाथि लादिएको अत्यधिक होमवर्कको भार नै हुनसक्छ। होमवर्कले बच्चाहरूको सिकाई प्रक्रियालाई कठिन र तनावपूर्ण बनाउँछ, जसले उनीहरूको मानसिक स्वास्थ्य र सामाजिक विकासमा गम्भीर असर पार्छ। विषय वस्तु नबुझेको अवस्थामा पनि विद्यार्थीहरूले घरमा गृहकार्य गर्नुपर्छ। कहिलेकाहीं यी गृहकार्यहरू निरर्थक र बोझिला हुन्छन्। विद्यार्थीहरू घरमा आफ्ना अभिभावकहरूसँग समय बिताउन चाहन्छन्, छरछिमेकीसँग खेल्न चाहन्छन्। तर होमवर्कको बोझले उनीहरूलाई यसबाट वञ्चित गरेको छ।
विद्यालयहरूले पाठ्यपुस्तकबाट मात्र पढ्न लगाउने र विद्यार्थीहरूलाई घरमा लामो होमवर्क गर्न लगाउने परम्परागत शिक्षण पद्धतिलाई अझै पनि निरन्तरता दिइरहेका छन्। तर यस्तो शैलीले बच्चाहरूलाई सिकाइको अनुभव बनाउन सक्दैन। विद्यार्थीहरूलाई पढाईमा रूचि राख्न प्रेरित गर्न र ज्ञानलाई लामो समयसम्म स्मरण गर्न सक्षम बनाउन शिक्षणलाई व्यावहारिक र अनुभव जन्य बनाउनु आवश्यक छ।
व्यावहारिक शिक्षाले विद्यार्थीहरूलाई वास्तविक जीवनसँग जोड्न मद्दत गर्छ। उनीहरूले घर, परिवार र समुदायसँग घुलमिल हुन पाउँछन्। बजार, कृषि, उद्योग र विभिन्न व्यवसायहरूको अवलोकन गर्न पाउँदा उनीहरू सिक्न उत्साहित हुन्छन्। सामुदायिक कार्यहरू गर्दा उनीहरूले टोली भावना र नेतृत्व सीप विकास गर्न सक्छन्। खेल, चित्रकला, संगीत र नाटकमा संलग्न हुँदा उनीहरूको सृजनात्मकता र कल्पनाशीलता बढ्छ।
व्यावहारिक शिक्षाले विद्यार्थीलाई केवल बोझिलो होमवर्क नभई रमाइलो र आनन्दित सिकाईको अनुभव दिन्छ। उनीहरूले सिकेका कुराहरू दीर्घकालीन स्मरण गर्न सक्छन् र वास्तविक जीवनमा प्रयोग गर्न सक्छन्। होमवर्कमा समय खेर नगरेर उनीहरूसँग परिवार र साथीहरूसँग बिताउने समय हुन्छ, जसले उनीहरूको मानसिक स्वास्थ्य र व्यक्तित्व विकासमा सहयोग पुग्छ।
यसर्थ, शिक्षालयहरूले विद्यार्थीहरूलाई सिकाईमा उत्साहित गर्न र उनीहरूलाई जीवनका लागि तयार पार्न होमवर्कको बोझभन्दा बढी व्यावहारिक शिक्षण विधिहरू अपनाउनु आवश्यक छ। शिक्षालाई सिद्धान्त र व्यावहारिकताको सन्तुलित मिश्रण बनाउन सकिए मात्रै हामी हाम्रा बच्चाहरूलाई राम्रो भविष्यका लागि तयार गर्न सक्छौं।
स्कुलमा ६-७ घण्टा बिताइसकेपछि विद्यार्थीहरूलाई घरमा अरु होमवर्क दिनु उचित हुँदैन। अभिभावकहरूले पनि विद्यालयहरूलाई होमवर्कको बोझ बढाउन दबाब दिनु हुँदैन। बरु, उनीहरूले व्यावहारिक शिक्षालाई प्राथमिकता दिनुपर्छ।