देवराज तामाङ
विराटनगर । छठ पर्वका लागि विराटनगरको नहर र पोखरीहरूलाई आकर्षक रुपमा सजाइएका छन्।
विराटनगरलगायत तराई मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व आजदेखि सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको मोरङ, सुनसरी,झापा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी,सर्लाही, रौतहट, बारा, पर्सालगायत देशका विभिन्न स्थानहरुमा धुमधामका साथ मनाइने गरिन्छ ।
छठ पर्व नजिकिएपछि विराटनगर बजारमा आवश्यक सामाग्री किन्नेहरुको भिड बढेको छ । छठ पर्वको मुख्य दिनआउनै लागेकाले अहिले मानिसहरु छठको तयारीमा जुटेका छन् ।
विराटनगरको मुख्य बजार पुरानो गुद्री, महाविर चौक , पन्चमुखी हनुमान मन्दिर चौकमा अहिले पुजाको सामाग्रीहरु किन्ने र बेच्नेको भीड देख्न सकिन्छ । बजारमा विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको बोट , पानी सिगडा, भोगटे, ज्यामिरी, नरिबल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, दियो , माटोको भाडा,माटोको चुलोहरु बेच्न राखिएका छन् ।
बजारमा विराटनगरका लगायत छिमेकी गाउँपालिकादेखी पनि ठूलो संख्यामा आम सर्वसाधरणहरु सामान खरिद गर्न आउने गरेका छन् ।
छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
यता विराटनगरको सिंघिया खोला , केशलिया , मन्टा पोखरी, सुनसरी-मोरङ सिचाई आयोजनाको नहर अहिले सरसफाई तथा सज्जावट गर्ने काम धमाधम भईरहेको छ । छठ पुजाको दिन विराटनगरका विभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना हुने गरेको छ । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज व्रतीहरुले नहा खाय अर्थात् नुहाएर खाने गर्दछन् ।
आज व्रतालुले जीउ चोख्याउने काम गर्दछन् । दोस्रो दिन बुधबार खर्ना मनाइनेछ। खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाइन (विनानुन हालेको) खानेकुरा खाने चलन छ ।
षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अर्घयका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घयका सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घय अर्पण गर्नेछन् ।
त्यसको भोलिपल्ट अर्थात् शुक्रबार बिहानै पुनःछठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातकालीन उदाउँदो सूर्यलाई अर्घय दिइ छठ पर्व सम्पन्न गर्नेछन् । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घय दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । सरकारले यो पर्वका अवसरमा सार्वजनिक बिदा दिने गरेको छ । सूर्यको पूजा, आराधना र उपासनासँग जोडिएको यस पर्व तराईसँगै पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।
विगत ३५ वर्षदेखि छठ पर्व मनाउदै आएको विराटनगर-६ का उपेन्द्र यादव बताउछन। छठ पर्वमा आफुले मागेको कुरा पुरा हुने उनको बुझाई छ।
छठका बर्तालुले कात्तिक शुक्ल चतुर्थीदेखि चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कात्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्ने गरेका छन् ।