देवराज तामाङ
विराटनगर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधाना गरी अर्घ्य दिई मनाइएको छ ।
निराहर व्रत बसेकाले खोला,नहर,पोखरीको किनारमा सजाइएको घाटमा विभिन्न परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
पूजाआजामा विभिन्न समुदायका मानिसहरु सहभागी थिए । विशेष पूजाको अवसरमा उनीहरुले सूर्य र छठी माताको आराधानासमेत गरेका थिए । छठमा उपवास बसी पूजाआजा गर्नाले परिवारमा सुख, समृद्धिका साथै सन्तान प्राप्ति र रोग ब्याधीसमेत निको हुने श्रद्धालु भक्तजनहरुको विश्वास छ । उनीहरुले पूजा गरी प्रसादका रुपमा आज बासका सामग्रीको अर्घ्य दिइ केरा, ठेकुवा, स्याउ, भसुवा, उखुलगायत परिकार चढाएका थिए ।
सत्य र अहिंसाप्रति मानव रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपतीसहित पाँच पाण्डप अज्ञातवासमा रहँदा उक्त अज्ञातवास सफल होस भनी सूर्य देवलाई आराधाना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनअनुसार सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको विश्वास छ ।
विराटनगरको सिंघिया खोला , केशलिया , मन्टा पोखरी, सुनसरी-मोरङ सिचाई आयोजनाको नहरलगायतका स्थानमा छठका मनाईएको छ । छठ पूजाका लागि विराटनगरका खोला,पोखरी र नहरका किनार झिलिमिल बत्तीसहित आकर्षक रुपमा सजाइएका छन्। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईको मोरङ, सुनसरी,झापा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी,सर्लाही, रौतहट, बारा, पर्सालगायत देशका विभिन्न स्थानहरुमा धुमधामका साथ मनाइने गरिन्छ ।
कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घय दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ। छठ पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा छ ।
उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन भोलि कात्तिक २३ गते पनि कोशी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । सूर्यको पूजा, आराधना र उपासनासँग जोडिएको यस पर्व तराईसँगै पहाडी जिल्लामा पनि मनाउन थालिएको छ।
तस्बिर : सुशील साह/आवर विराटनगर