इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडामा लामखुट्टेको आतंक बढेपछि नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन सुरु गरिएको छ। हिउँद लागेपछि लामखुट्टेले हैरानी दिएको भन्दै नागरिकको गुनासो बारम्बार दोहोरिएर महानगरपालिकामा आउन थाले पनि नियन्त्रणका लागि कार्यक्रम सुरु गरिएको हो।
महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि मात्रै २५ लाख बजेट छुट्याएको छ । बजेट नै छुट्याएर लामखुट्टे नियन्त्रण प्रयास भएता पनि समस्या भने कायमै रहेको छ । महागरपालिकाका स्वास्थ्य शाखा प्रमुख डा. दिलिप यादवका अनुसार हाल लार्भा खोजी नष्ट गर्ने कार्य भइरहेको छ। लार्भा नष्ट गर्ने कार्यले मात्र नियन्त्रण नभएकोले छिट्टै मालाथिन स्प्रेको प्रयोग गरिने उनले जानकारी दिए ।
केही दिन अघिदेखि विराटनगरको वडा नं. ५, ७, ८, ९, ११, १५ लगायत विभिन्न वडामा लार्भा खोज र नष्ट कार्यक्रम सञ्चालन भइरहेको छ । तर, सबै वडाका नागरिकहरूले लामखुट्टेको आतंक कायमै रहेको भन्दै नियन्त्रणको माग गरिरहेका छन् । तथ्यांक अनुसार विराटनगरमा गत वर्ष डेंगीबाट एक हजार नागरिक संक्रमित भएका थिए । भने चालु आर्थिक वर्षमा २५० जनामा डेंगी संक्रमण भेटिएको छ। यत्रो बजेट खर्च गर्दा समेत लामखुट्टे नियन्त्रणमा चुनौती थपिएको छ। महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ल्याएको कार्यक्रम प्रभावकारी नभएको भन्दै स्थानीयले असन्तुष्ट देखिन्छन् ।
जताततै लामखुट्टेको आतंक कायमै रहेको र यसले साँझ बिहान घरबाहिर बस्न सक्ने स्थिती समेत नरहेको नागरिकको गुनासो छ । यता वल्ड हेल्थ वर्गनाईजेसनले मालाथिन स्प्रेको प्रयोग नगर्न सुझाव दिएको छ । तर यहाँको लामखुट्टे नियन्त्रण नभएको भन्दै आवश्यकतालाई मध्य नजर गरी समय समयमा महानगरले मालाथिन स्प्रेको प्रयोग गर्ने गरेको छ । यसले मानव स्वास्थ्यमा नकारात्मक असर गर्दछ । विशेष गरी वृद्ध,दीर्घकालीन रोगी लगायतलाई यसले असर गर्दछ ।
फोटो:फाइल