मिटर ब्याजमा बिचौलियाले जोड्छन् साहु र ऋणी

<span class='c1'>मिटर ब्याजमा बिचौलियाले जोड्छन्</span> <span class='c2'>साहु र ऋणी</span>

इन्दु साह
विराटनगर । विराटनगरमा मिटरब्याज कारोबार गराउन साहु र ऋणीबीच बिचौलियाले समेत भूमिका खेल्ने गरेका छन् । सामान्य लेनदेन कारोबार बिचौलियामार्फत साहुसम्म ऋणीलाई पु¥याउने र प्रभाव जमाएर जग्गा हत्याउने योजनामा हुने गरेको देखिएको हो ।

सामान्य लेनदेनमा ऋणीको जग्गा ग्यारेन्टीका लागि साहुको नाममा रजिष्ट्रेशन गराउन बिचौलिया भूमिकामा देखिने गरेका छन् । यति मात्रै नभई कारोबारमा बस्ने साक्षी समेत बिचौलिया आफैंले जुटाउने गरेका छन् ।
बिचौलिया हावी भएर भएका कारणमा कपाली तमसुकबाटै पीडित कमजोर बनाइदा घरवास उठ्ने स्थिति देखिने गरेको हो । विराटनगर–१८ का लेटुङ्ग यादवका अनुसार ८ कठ्ठा जग्गा राखेर १४ हजार रुपिँया लिएको ऋणको १ लाख ७० हजार बुझाउँदा समेत जग्गा अझै फिर्ता भएको छैन । गाउँमा बस्ने पञ्यातीले समेत २०६१ सालमा भएको कारोबार एकलाख ७० हजार रुपिँया बुझाएपछि फस्र्यौट हुने निर्णय गर्दा पनि साहुले नमानेपछि यादव अहिले विराटनगर महानगरपालिकाको न्यायिक समिति गुहार्न पुग्नु भएको छ ।

‘जति गरेपनि जग्गा आएन, पैसा पनि गयो’ विराटनगरको कानुन शाखा बाहिर भेटिनु भएका यादवले भन्नुभयो–साहुले डुबाए, त्यो भन्दा धेरै हामीबीच कुराकानी गराएर ऋण दिलाउनेले ।
विराटनगरको दक्षिणी क्षेत्रमा देखिएको मिटरब्याजको विकराल रुपले धेरैको घर उजाड बन्दै गएपछि महानगरपालिकाले पीडक र पीडितलाई कानुनी सचेतना गराउन थालेको छ । शुक्रबार वडा नम्बर १४ र १८ का पीडित भेला गरेर राखिएको छलफलमा अधिकांशको जग्गाको लालपूर्जा साहुसँग भएको गुनासो गरेका थिए ।

‘ऋण लिने, दिने, साक्षी र बिचौलिया समेतको भेला गर्दा सामान्य लेनदेनमै जग्गाको धितो पास गरेको पाइन्छ’ न्यायिक समिति संयोजक शिल्पा निराला कार्कीले भन्नुभयो–घरका पशुचौपायले धान्ने ऋण दिएर जग्गा पास गराउनेहरुको संख्या धेरै छ । दुईवटा वडामा गएर कानुन शाखाका कर्मचारीले पीडित र पीडकलाई कार्यक्रममा निम्ता गर्दा ५५ जनाको उपस्थित भएका थिए । जसमा पीडक भन्दा धेरै पीडित आएका जानकारी दिइएको छ ।

न्यायिक समितिले आयोजना गरेको ‘लेनदेन तथा मिटरब्याजी (कपाली तमसुक) सम्बन्धि कानुनी सचेतना’ कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले अधिकांश पीडित चेकबाट फसेर साहुसँग निहुँरिनु परेको बताउनुभयो । उहाँले लेनदेनको प्रारम्भिक प्रक्रियामै ऋणी चुक्दा कानुनी प्रक्रियामा जाँदा समेत न्याय पाउन नसकेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा जिल्लाभरका ७५७ मुद्दामध्ये २५ प्रतिशत चेक अनादरसँग सम्बन्धित रहेको उहाँले बताउनुभयो । यसमा झुक्यानमा पारेर लेनदेन गर्ने, चेकमार्फत भुक्तानी गर्ने तर बैंकमा पैसा नहुने, पीडितलाई थोरै रकममा जग्गा धितो राख्ने अनि चेकपनि लिने तर नगद बुझाएपनि चेक फिर्ता नदिनेसम्मका रहेका छन् । चेकलाई हतियार बनाएर पीडितसँग जग्गा हडप्नेहरुले त झन् कानुनी उपचारमार्फत उल्टै जेल हाल्ने अवस्था समेत देखिएको छ ।

न्यायिक समिति संयोजक कार्कीका अनुसार अशिक्षित रहेका परिवारलाई कुनै कुरा बुझ्न तेस्रो पक्षसँग नजान भनेर पनि झुक्याएका घटना समेत भेटिएका छन् । परिवारका अन्य सदस्य वा छरछिमेकलाई समेत बुझ्न रोकेर गरिएका कारोबारको तमसुकमा साहु हावी देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्