इन्दु साह
विराटनगर । विराटनगर महानगरमा विद्यार्थीहरु कलेज तथा स्कुल ड्रेसमा चुरोट हुक्का गाँजा लगायतका सुर्तिजन्य पदार्थ चिया पसलमा खाने गरेको भेटिएको भन्दै त्यसलाई रोक्न माग बढेको छ । महानगरपालिकाले शुक्रबार सबै चिया पसलका सञ्चालकलाई बोलाएर यस विषयमा गम्भीर बन्न सम्झाएको हो ।
पछिल्ला समय महानगरपालिकामा विभिन्न माध्यमबाट स्कुल ड्रेसमा चुरोट हुक्का लगायतका वस्तु विद्यार्थीहरुले सेवन गर्ने गरेको गुनासो बढ्न थालेको छ । चिया घर समेत उतिकै मात्रामा खुलिरहेका छन् । अभिभावकको गुसानोलाई मध्यनजर गर्दै महानगरपालिकाले विराटनगरका १९ वटै वडामा भएका चिया पसलका संचालकहरुसंग छलफल गरेको हो ।
महानगरपालिकाले बिहीबार ५० जना व्यावसायीलाई महानगरमा उपस्थितीकोलागि पत्र पठाएकोमा केहि व्यावसायीबाहेक सबै उपस्थिती रहेका थिए । शुक्रबारको छलफलमा महानगर प्रमुख नागेश कोईराला र उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितमा चिया पसलका सञ्चालकलाई व्यापार मात्रै नगरी दायित्व सम्झन आग्रह गरिएको छ ।
छलफलमा अब उपरान्त कुनै पनि चिया व्यावसायी संचालकले विद्यालय पोषकमा भएका विद्यार्थी र १८ वर्ष मुनिका बालबालिकालाई चुरोट हुक्का गाँजा लगायतका सुर्तिजन्य पदार्थ विक्री गरे कार्वाहि गरिने निर्णय गरिएको छ ।
यदि कुनै पनि चिया व्यावसाायीले यस्तो कार्य गरेका व्यावसाय दर्ता खारेज गर्नेसम्मको चेतावनी दिइएको छ । महानगरपालिका राजस्व महाशाखाका सरोज गौतमले दर्ता गरेपछि व्यापार गर्दा जे गर्नपनि हुन्छ भन्ने मान्यता नराख्न आग्रह गरिएको जानकारी दिए ।
१९ वटै वडाका व्यावसायीहरु समेटेर महानगर प्रहरी प्रमुख राजन पौडेलको संयोजकत्वमा व्यावसायीसहितको अनुगमन टोली समेत गठन गरिएको छ । उक्त टोलिले आवश्यक परेको खण्डमा चिया पसलहरुका अनुगमन गर्ने मेयर नागेश कोईरलाले बताए । साथै, उपमेयर शिल्पा निरला कार्कीले पहिले विभिन्न समयमा अनुगमन गर्दा उक्तब चियापसलहरुमा विद्यार्थीहरुले विद्यालय पोशाकमै चुरोट, हुक्का लगायतका वस्तु सेवन गरेको पाईएको बताईन । त्यसैले उनले यस छलफल पश्चात फेरी यस्ता घटना नदोहोर्याउन व्यावसायीलाई आग्रह गरिन् । यसका साथै सोहि छलफलमा उपस्थित नगर प्रहरी प्रमुखले चिया व्यावसायीले पार्किङको स्थलको ब्यवस्था संचालक आफैले गर्नु पर्ने बताए ।
व्यवसायीहरुले महानगरको निर्णय बमोजिम व्यवसाय संचालन गर्ने प्रतिवधता जनाएका छन् । सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ११ मा १८ वर्ष नपुगेको व्यक्तिलाई सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नपाईने भनि उल्लेख गरेको छ ।