खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी एक लाख एक्काइस हजार मेट्रिक टन चामल मौज्दात रहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार कम्पनीसँग अठार हजार ४३६ र निजी क्षेत्रका उद्योगसँग एक लाख एकाइस हजार छ मेट्रिक टन गरी कुल एक लाख एक्काइस हजार छ मेट्रिक टन चामल मौज्दात छ ।
मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार कम्पनीसँग दुर्गमका २३ जिल्लामा तीन हजार ५६६ मेट्रिक टन चामल, ६१० क्विन्टल फापर र ५३४ क्विन्टल सिमी मौज्दात छ ।
त्यस्तै मुलुकका विभिन्न स्थानमा रहेका ठूला चामल उद्योग र कृषकसँग एकसठ्ठी हजार ५४ मेट्रिक टन धान मौज्दात रहेकाले चामल उत्पादनमा कुनै समस्या नरहेको उहाँले जिकिर गर्नुभयो । मन्त्रालयको तथ्यांकानुसार निजी क्षेत्रका व्यापारीसँग दाल, केराउ र चना सोह्र हजार ८१ मेट्रिक टन मौज्दात छ ।
पाँच हजार मेटन तेल मौज्दात
मन्त्रालयको तथ्यांकानुसार निजी क्षेत्रका तेल उद्योगसँग पाम आयल ४८६ मेट्रिक टन, पामोलिन एक हजार ९१९ मेट्रिक टन र सोयाबिन तेल एक हजार ६१६ मेट्रिक टन मौज्दात छ ।
त्यस्तै सूर्यमुखी तेल ८४६ मेट्रिक टन मौज्दात तथा छ हजार ३४६ मेट्रिक टन आयातका क्रममा छ । कोलकातामा समेत ७० हजार ८६६ मेट्रिक टन तेल मौज्दात छ ।
राहत वितरण
लकडाउनका अवधिमा कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले स्थानीय तहको मागानुसार खाद्य पदार्थको बिक्रीवितरण समेत गरेका छन् । मन्त्रालयको तथ्यांकानुसार कम्पनीले २९ जिल्लामा तीस हजार ८२६ दशमलव ३६ क्विन्टल चामल बिक्रीवितरण गरेको छ ।
त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले पैँसठ्ठी हजार ६५३ किलो नुन, पैँतालीस हजार ६११ लिटर तेल, पाँच लाख छब्बीस हजार २८५ किलो चामल, त्रियानब्बे हजार २३० किलो दाल र त्रिसठ्ठी हजार ६४० किलो चिउरा बिक्री गरेको छ ।
कर्पोरेशनले सत्र हजार चार सय किलो चिनी, सात ब्याग पिठो, त्रिसठ्ठी हजार ८२ साबुन, सय किलो चिया, ५५० किलो मस्यौरा गरी आठ लाख ७५ हजार ५५८ किलो खाद्य पदार्थ र अन्य वस्तु स्थानीय तहहरुलाई राहतस्वरुप बिक्री गरेको छ ।
मौज्दात चिनी ६७ हजार मेटन
कर्पोरेशनका विभिन्न डिपोमा आइतबारसम्म तीन हजार ६०३ मेट्रिक टन चिनी मौज्दात छ । त्यस्तै निजी उद्योगसँग त्रिसठ्ठी हजार २०७ मेट्रिक टन चिनी मौज्दात रहेको छ ।
एक लाख त्रिपन्न सत्चालीस हजार ७४० मेट्रिक टन नून आयात प्रक्रियामा रहेको छ । विभिन्न दुर्गम जिल्लामा दुई हजार ४३० मेट्रिक टन आयोडिनयुक्त नून मौज्दात छ ।
लकडाउनका अवधिमा कम्पनीले काठमाडौँ उपत्यकाका रामशाहपथ, नख्खु, थापाथली, भक्तपुर र ललितपुरस्थित बिक्री केन्द्रका साथै घुम्ती सेवा (मोवाइल भ्यान) र अनलाइनमार्फत उपभोक्ताको माग अनुसार खाद्य पदार्थ बिक्रीवितरण गर्दै आएको छ ।
कम्पनीले देशका आठ अञ्चल कार्यालयसहित आधुनिक चामल कारखाना, राजापुरलगायत देशका विभिन्न स्थानमा २६ शाखा कार्यालयका साथै दुर्गम जिल्लाका विभिन्न स्थानमा ५९ डिपो कार्यालय-बिक्री केन्द्र एवं सहकारी डिलरबाट खाद्य पदार्थ बिक्रीवितरण गर्दै आएको छ ।
साल्ट ट्रेडिङले लकडाउन अवधिमा ललितपुर, कालीमाटी, सतुंगल, कोटेश्वर, भक्तपुर र बनेपास्थित बिक्री केन्द्रका घुम्ती सेवा पसलमार्फत जनघनत्व र उपभोक्ताको माग भएका स्थानलाई प्राथमिकतामा राखेर खाद्य पदार्थ तथा अन्य सामग्री बिक्रीवितरण गर्दै आएको छ । रासस