एन्जु शिवाकोटी
विराटनगर । असारको दिन, मध्यान्नको गर्मी । विराटनगरको ट्राफिकचोक नजिकै आन्तरिक राजश्व कार्यलय अगाडी सडक पेटीमा जुत्ताचप्पल सिलाउने (बोलिचालीको भाषामा मोची) मानिसहरु सधैं झैं बसिरहेका छन् ।
दैनिक सडक पेटीमा परिश्रम गर्नेमध्ये एक हुन्, मिथलेस राम । सडक पेटीमा मिथलेस ग्राहकको प्रतिक्षारत् छन् । चकटीमाथि जुटको बोरामा बसेर जुत्ता सिलाउने औजार, सफा बनाउन प्रयोग गरिने पोलिस र ब्रस, नजिकै लेस (तुना) र भित्तामा केहि संख्यामा पेटी समेत झुण्डियाएका छन् । नजिकै राखिएको काठको बाकसबाट औजार निकाल्दै भुँईमा राख्छन् मिथलेस, किनकी परबाट कोहि आईरहेको छ । आईरहेको आईनपुग्दै नजिकैको मुडा पनि पुछ्पाछ पार्छन् । आईरहेको बोल्दैन, बस्दैन र सरासर अगाडी बढ्छ ।
बीसवर्षदेखिको पेसा सबभन्दा बढी मिथलेसको अहिल्यै संकटमा परेको हो । विराटनगर–६ मा भाडाको घरमा बस्दै आएका उनी बिहान ८ बजेदेखि सडक पेटीमा पँलेटी कसेर बसेका छन् । किनकी ग्राहक आए मात्रै उनीसँगै आश्रित ६ जनाको परिवारको पेट भरिन्छ ।
सामान्य अवस्थामा नै जेनतेनको दैनिकी रहेको मिथलेस र परिवारको कोरोना संक्रमणपछि गरिएको लकडाउन, कष्टकर दिन निम्त्याउने समयमा परिणत भयो । दैनिक गुजारा चलाउने विकल्प नहुँदा मानसिक पीडा समेत बढ्यो ।
‘सरकारले राहत वितरण गरेको सुने तर मैले एक माना चामल पाइन’ मिथलेसले थप दुःख पोख्दै भने–मलाई सुगर छ, श्रीमती पनि बिरामी । छाक नटरेको बेला औषधीको नाम लिन पनि सकिएन ।
बल्लतल्ल खुकुलो भएको लकडाउनले पनि उनमा खुशी भरेको छैन । मलिन अनुहारमा मनको भावलाई विह्वल रुपमा प्रकट गर्नु बाहेक विकल्प छैन । चिन्तामा छु, कसरी काम पाउने ? कसरी खाने र उपचार कसरी गर्ने ? मिथलेसले भने खान पु¥याउने चिन्ताले सुत्न दिदैंन पापी मन । लकडाउन खुकुलो भएपनि ग्राहक नआउँदाको पीडा उनमा उर्लिरहेको छ ।
धेरै समयसम्म कुरा गरिसकेपछि उनी फिस्स त हाँसे तर त्यो हँसाई धेरैबेर टिक्न सक्ने थिएन । फेरि परबाट कोहि आईरहेको थियो । मुडा पुछ्दै तयार त पा¥यो, तर उ सरासर अगाडी बढ्छ । लामो स्वास तान्दै अनुहार मलिन बनाउँदै आँखा रसिला बनाउँछन् उनी । सबैलाई समस्या छ तर मलाई ऋण छ, त्यहि सम्झेर मानसिक तनावमा परिरहेको छु, उनी भन्छन् ।