सरुवा मागेर आएको हैन, सरुवा खोजेर हिड्ने मनसाय पनि छैन

<span class='c1'>सरुवा मागेर आएको हैन, सरुवा</span> <span class='c2'>खोजेर हिड्ने मनसाय पनि छैन</span>

२०७४ सालमा भएको स्थानीयतहको निर्वाचनपछि विराटनगर महानगरको मेयरको रुपमा नेपाली काँग्रेसका भिम पराजुली र इन्दिरा कार्की उपमेयरमा बिजयी हुनुभयो । त्यस यताका केहि वर्षमै विराटनगरमा करिब आधा दर्जन कार्यकारी प्रमुख महानगरले देखिसकेको छ भने कसैले पनि एक वर्ष भन्दा बढि समय विराटनगरमा टिक्न सक्नु भएको छैन । अहिले पाँचौ कार्यकारी अधिकृतले जिम्मेवारी सम्हालिरहनु भएको छ र उहाँलाई समेत विवादमा तान्ने प्रयास सुरु भएको छ ।
कोरोना महामारीका बिच विराटनगर महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत भइ आउनु भएका इन्द्रमणी पोखरेलसँग विराटनगर महानगरपालिकाको नियमित गतिविधिका साथै यहि विवादका सेरोफेरोमा रहि आवर विराटनगरले गरेको कुराकानी  :

महामारीको बिच मै महानगरको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा विराटनगर आउनु भयो, कस्तो भए सुरुवाती समय ?
म चैत्र ६ गते विराटनगर आएको हुँ र आउँदा देखि नै कोरोनाको कहर सुरु भइसकेको थियो । लकडाउन सुरु भयो । अरु कुरा थाती राखि पहिलो प्राथमिकता राहत वितरण र कोरोना व्यवस्थापनमा केन्द्रित भयौं । कोरोना कै केहि विशेष पुर्वाधार निर्माणको काम भयो । अन्तराष्ट्रिय सिमाना नजिक भएकाले धेरै मानिसहरु आए । बढो चुनौतिपूर्र्वक र अप्ठ्यारोका साथ काम गर्यौं ।

पछिल्लो समय विराटनगरमा कोरोना परीक्षण कम भएका छन् र बजारमा भिड देखिन थालेको छ, विराटनगरमा अहिले कोरोना महामारीको अवस्था कस्तो छ ?
हामीले पिसिआर ल्याब र संकलन केन्द्र बनाएका थियौं त्यो अहिले बन्द गरेका छौं । जरुरी पर्यो भने कोशी अस्पतालको ल्याबमा परिक्षण गर्छौं । संकलन भ्यानबाट संकलन गरिरहेका छौं । तर, अहिले बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस आएको छ भन्ने कुरा समाचारहरुमा आएको छ । त्यसका लागि पनि स्वास्थ्यसम्बद्ध सहकर्मीहरुसँग र जिल्ला प्रशासन कार्यालयसँग् छलफल गरेर विदेशबाट आएका विराटनगरवासीहरुको सुचना लिन थालेका छौं । अब त्यसको व्यवस्थापनमा लाग्नेछौं ।
जहाँसम्म मैले बुझेको छु अहिले विराटनगरमा संक्रमण घटेकै अवस्था छ । र परीक्षणका लागि आउनेहरु पनि कम हुनु भएको छ । केहि उमेर बढि भएका व्यक्तिहरुको भने परीक्षण भइरहेको छ । तर हामीले सचेतना अभियान निरन्तर गरिरहेका नै छौं । संक्रमण घटेपनि तयारीका काम कम भएका छैनन् । महामारी अन्त्य भएको छैन भनेर पुरानो अवस्था सम्झेरै काम गर्नु पर्ने भन्ने विचारका साथ लागि रहेका छौं ।
मैले पनि विराटनगर बजार हेर्दा भिड नै पाउने गरेको छु । तर मास्क प्रयोग गरिरहेको र सेनिटाइजरको प्रयोग गर्नु हुन्छ नै भन्ने लागेको छ । कहिं कतै त्यस्तो गरिदैन भने सम्झाएर अगाडी बढ्नु पर्छ । यो समुहका सबैले लागेर मात्र सम्भव हुन्छ ।

महामारी पछिको अबको समय विकास निर्माणका लागि चुनौतीपुर्ण देखिन्छ, विराटगर महानगरपालिकाले आगामी योजना कस्तो बनाएको छ ?
गतवर्ष कोरोना महामारीका कारण धेरै काम हुन पाएनन् । क्रमागत कामहरु मात्र आवश्यक्ता हेरेर गर्यौं र धेरै काम बाँकि रहेका छन् । ति कामहरु यस वर्ष पुरा गर्नका लागि जिम्मेवारी सारेर ल्याएका छौ । ती कामलाई प्राथमिकताका साथ गर्ने भन्ने योजना छ । यसरी करिब करिब ७२ करोड रुपैयाँको जिम्मेवारी यो वर्ष सारेका छौं । वडागत योजनाका कामहरु पनि बाँकि छ । गत वर्ष आयमा समेत कम भएको छ र यस वर्ष पनि त्यति सन्तोषजनक छैन । जनता स्वयम मारमा परेका छन् र दिनचर्या बिताउनै गाह्रो भएको समयमा करको दायरामा सबैलाई ल्याउन पनि गाह्रो नै हुन्छ । यस्तो समय जबरजस्ति गर्ने अवस्था पनि छैन । साथै राहत व्यवस्थापन जस्ता नियमित गर्नु पर्ने कार्यहरु पनि छन् ।

पछिल्लो समय यहाँको मेयर तथा उपमेयरसँग विवाद भएको भन्ने कुरा आइरहेका छन्, उहाँहरुको निर्देशन नमान्ने सम्मका आरोप लाग्ने गरेका छन् नि ?
म यहाँ आएको १० महिना हुन लागेको छ । र, हामी दुबै जनाको जिम्मेवारी अलग छन् । नितीगत तहमा निर्णय गराउने काम मेयर उपमेयर लगायत कार्यपालिकाको हो भने कार्यान्वयन हामीले गराउने हो । तर हामीले काम गराउने क्रममा त्यस्तो अप्ठ्यारो , असमझदारीहरु भएको छैन । छलफल गर्दा बिचार सबैको एउटै आउछ भन्ने छैन तर निस्कर्षमा हामी मिलेर एउटै सहमतिमा पुगेका छौं ।
जहाँसम्म निर्देशन नमान्ने भन्ने कुरा छ, महानगरमा नेतृत्व उहाँहरु कै हो । मैले कार्यान्वयन मात्र गर्ने हो । नितीगत निर्णय भएको कुरा मैले गर्दिन भन्न मिल्ने अवस्था नै हुदैन । अझ म तिसौं वर्ष काम गरेर आएको मान्छे । विभिन्न मन्त्रालय र विभागमा काम गर्दा पनि देखेर भोगेर नेतृत्वलाई साथ दिनु पर्छ भन्ने सिकेर र स्कुलिँग भएर आएको मान्छे भएकाले मैले साथ नदिएको वा अप्ठ्यारो पारेको छैन होला नै भन्ने लागेको छ । अझ यो विषयमा उहाँहरुसँग नै सोध्दा स्पष्ट कुरा आउला ।

पछिल्लो विवादसँगै महानगरको स्वास्थ्य महाशाखा प्रमुखको पुनर्नियुक्तिको कुरा उठिरहेको छ, त्यो विषय के हो ?
वास्तविकता के हो भने स्वास्थ्य महाशाखाको प्रमुखमा ९ र १० तहको कर्मचारी हुनुहुन्छ तर विगतमा छैठौं तहको कर्मचारीलाई त्यो जिम्मेवारी दिइएको रहेछ । र, हाम्रो विद्यमान कानुन स्थानीय कर्मचारी व्यवस्थापन ऐन अनुसार उहाँलाई महाशाखा प्रमुख दिन नमिल्ने भएकाले उहाँलाई संयोजकको जिम्मेवारी दिन खोजिएको हो । अर्को कुरा उहाँ भन्दा सिनियर सातौं र आठौं तहको कर्मचारी पनि यहि हुनुहुन्छ । उहाँहरुलाई छाडेर कम तहको कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिइदा अन्याय हुन्छ र कानुनले पनि मान्दैन । यो प्रचलित कानुन बमोजिम व्यवस्थापन गरिएको हो । यो विवादको विषय नै होइन । तर, मिडियामा आएजस्तो उहाँहरुले मलाई कानुन मिचेर काम गर भन्नु भएको पनि छैन । मैले गर्ने काम भनेको नियम मिचेर केहि भएको छ भने त्यसलाई व्यवस्थापन गर्ने हो र त्यसो गर्दा यसै गर भनेर मेयर उपमेयरले मलाई कहिल्यै भन्नु भएको छैन ।

पछिल्लो निर्वाचनपछि जनप्रतिनिधिले जिम्मेवारी सम्हालेदेखि विराटनगर महानगरमा पाँच कार्यकारी प्रमुख परिवर्तन भएर आइसक्नु भएको छ, किन होला ?
यहाँ स्थानीय सरकार बनिसकेपछि निक्कै छिटोछिटो कार्यकारी प्रमुख परिवर्तन भएकै देखें । म पाँचौं रहेछु । म आएको १० महिना भएको छ र सबैभन्दा बढि बस्ने दोस्रो म नै रहेछु । मलाई यहाँ कार्यकारी प्रमुखहरु टिक्न नसक्नुको कारण काम गर्न नसकेर हो भन्ने लाग्दैन । अहिले पनि हामी बिच विवाद छ जस्तो मलाई लाग्दैन । सँगै मिलेर काम गरिरहेकै छौं । उहाँहरुसँग सोध्दा थप स्पष्ट हुन्छ । छिटो हिड्ने वा बस्ने भन्ने कुरा चाँहि कर्मचारीको सरुवा केन्द्र सरकारले गर्ने हो । मेरै सरुवा भयो भने म यहि बस्छु भन्न मिल्दैन, हिड्नै पर्छ । म आउदा पनि सरुवा खोजेर आएको होइन। सरुवा मागेर छोडेर हिड्ने मनसाय पनि छैन। सरकारको काम गर्ने हो , व्यक्तिगत इन्ट्रेस्टले फरक पार्छ भन्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्