विराटनगर । पाँच गतवर्षपछि कोरियाबाट घर फर्केका इलाम सुर्योदय नगरपालिका–६ कन्यामका बिराज तामाङ यतिबेला पाखाबारीमा पौरख जगाई राख्नु भएको छ । कोरियामा सिकेको सीप र ज्ञानलाई गतवर्षदेखि आफ्नै जन्मस्थानमा जाँगरसँग जोड्न थाल्नु भएका तामाङले गाउँमा आधुनिक कृषि खेति प्रणालीको विकास भित्र्याउन सफल मात्रै बन्नु भएको छैन, छोटो अवधीमै उत्पादकत्वको शैलीलाई उदाहरणको रुपमा पेश गर्नु भएको छ ।
अम्लिसो विस्थापित (उखेलेर) गरेर गत फागुनमा अकबरे खोर्सानी रोप्नु भएका तामाङले दुई महिना भित्रै उत्पादन बजारमा पठाउने तयारी गर्नु भएको हो । बीस रोपनी जग्गामा यतिबेला अकबरे, स्क्वास फर्सी, इस्कुस, काँक्रा, बिँई र कोभीले ढकमक्क ढाकिएको छ । कोरिया जानु अगाडी माध्यमिक तहका कक्षामा अँग्रेजीका शिक्षक तामाङले मेजर इङ्लिस लिएर ब्याचलर सकाउनु भएको छ । सानैदेखि निजी विद्यालयमा अध्ययनरत तामाङ अहिले पनि स्नातकोत्तर तहको विद्यार्थी समेत हुनुहुन्छ ।
गतवर्ष तामाङले १० रोपनी जग्गामा अलैंची र रुद्राक्षको विरुवा रोप्नु भएको थियो । अम्सिलो उजाडेर खेतियोग्य जमिन बनाउनदेखि तरकारी खेति रोपेर फलाउने अवधीसम्म पन्ध्रलाख रुपिँया लगानी भईसक्यो, ३६ वर्षीय तामाङले भन्नुभयो–आफ्नो लगानीको पहिलो उत्पादन बजार पठाउने तयारीमा छु । पाखो बारीको भिरालो जमिनलाई मल्चिङ विधिबाट ढपक्क छोपेर सुरु गरिएको खेतिबाट आशा लाग्दो उपार्जन हुनेमा उहाँको विश्वास छ ।
गत फागुनमा रोपेको ५०० बोट अबकरे खोर्सानीमा लटरम्बै लागेको ढिँडीले मनको खुशीलाई थामिनसक्नु बनाउँछ, तामाङले भन्नुभयो–चिया बगानमा मजदुरी गरिरहनु भएका बुबाआमा समेत अहिले आफ्नै खेतिबारीमा रमाउँनु भएको छ । तामाङले सात हजार ५०० झ्याङ्ग अकबरेको विरुवा हुर्काउनु भएको छ भने एक हजार ५०० झ्याङ बिँईको विरुवा ।
अर्गानिक खेति प्रणाली अपनाउनु भएका तामाङले गाईमलको प्रयोग गरेको सुनाउनुभयो । झण्डै एककरोड कमाएर फर्केको थिएँ, घर बनाउनु भन्दा जग्गा किनेर खेति गर्नतिर लागेको छु तामाङको भनाई छ । अहिले बारीमा फलिरहेको स्क्यास फर्सी धेरैका लागि आकर्षक बनेको छ । तराईमा मात्रै रमाउने यो विकासे जातको फर्सिको फलाई धेरैका लागि रमिता जस्तै बनेको हो ।
पढ्दापढ्दै शिक्षक बन्ने अवसर पाँए, आठवर्षको अनुभवन छोडेर कोरिया गएँ, फर्केर खेतिमा लागेको भिन्नै आनन्द महसुश भईरहेको छ, तामाङले विगतका अनुभूति सुनाउँदै भन्नुभयो–जहाँ आनन्द मिल्छ त्यहिं सुख हुनेरहेछ ।
इलामको पर्यटकीय क्षेत्र कन्यामको आसपासमा खुलेका होटललाई तरकारी बिक्री गर्ने लक्ष्य तामाङले राख्नु भएको छ । त्यस बाहेक चिया बगान क्षेत्रमा खुलेका होम–स्टेमा समेत तरकारी खपत हुने विश्वास तामाङले लिनु भएको छ । माग धान्न सक्ने गरि उत्पादन गर्ने लक्ष्य हो, अपुग भए अरुलाई समेत हौसला दिएर जोड्छु, बढी भए बहुउपयोगी प्रयोगमा जान्छु, तामाङले आगामी दिनका योजनाको बारेमा सुनाउनुभयो–स्थानीय उत्पादन स्थानीयस्तरमै खपत गराउने योजना छ ।
अर्गानिक तरकारी खेतिमा लाग्नु भएका तामाङले दुई रोपनी क्षेत्रफल पोखरी खनेर माछा समेत पाल्नु भएको छ । कमन र ग्रासकार्प माछा पाल्नु भएको हो । यतिका खर्च गरेर खेति गरिरहेको छु, तर सरकारले दिने सुविधासँग जोडिन सकिरहेको छैन, तामाङको गुनासो थियो–मैले गरिरहेको खेति मेरा लागि मात्रै हुन्न, मजस्तै धेरै युवाहरुको सिकाई समेत हुनेछ भन्ने कुरा सरकारले विचार पु¥याउनुपर्छ ।