वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता छ। गाउँघरमा वर्षमा एकपटक भए पनि दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ। विशेषगरी दसैँको बेलामा पिङको छुट्टै महत्व हुन्छ।
विगतका वर्षहरुमा दमौली सदरमुकाममा पनि पिङ हाल्ने प्रचलन थियो। दसैँ मनाउन गाउँ गएकाहरुले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे। तर विस्तारै पिङ हाल्ने प्रचलन हराउँदै गएको छ। आजभोलि ग्रामीण भेगमा पनि निकै कमैमात्र पिङ देख्न सकिन्छ।
पहिला पहिला दसैँ आउनुअगावै पिङ हालेर रमाइलो हुने भए पनि आजभोलि त्यस्तो प्रचलन हराउँदै आएको व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठले बताए। ‘दसैँमा पिङ खेल्ने, रमाउने परम्परा हराउँदै गयो, आधुनिकताका कारण यी सबै इतिहासमा सीमित हुने हो कि भन्ने चिन्ता छ’, उनले भने, ‘आजभोलि त पिङ पनि देख्न छाडियो।’
भिमाद नगरपालिका–९ का शिवकुमार आलेले गाउँघरमा पिङ हाल्ने प्रचलन घट्दै गएको बताए। विगतका वर्षहरुमा प्रत्येक गाउँमा पिङ देख्ने गरिए पनि आजभोलि फाट्टफुट्टमात्रै पिङ देखिने उनले बताए। ‘पहिला पहिला जताततै पिङ देखिन्थ्यो, पिङ खेल्न पालो कुर्नुपथ्र्यो, आजभोलि विस्तारै घट्दै छ’, उनले भने।
यस वर्ष भने दसैँमा गाउँघरमा मानिसको चहलपहल बढेको उनले बताए। ‘यो वर्ष खोप लगाएको हुनाले सहर सुनसान, गाउँ रमाइलो भएको छ’, उनले भने, ‘दसैँ मान्न सहरबाट गाउँ फर्किनेको चहलपहल राम्रो छ।’
व्यास नगरपालिकाले विगत दुई वर्षमा खुला मैदानमा रोटे पिङ हालेको थियो। गत वर्ष कोरोना कहरका कारण पिङ हालिएन। रोटे पिङ संरक्षणका लागि व्यासले ३१ वर्षपछि दमौलीमा उक्त पिङ हालेको थियो। तर यस वर्ष दमौलीमा पिङ देखिएको छैन।
केही ठाउँमा भने संस्कृति र परम्पराका लागि भन्दै स्थानीयवासीले पिङ हालेका छन्। बन्दीपुरस्थित टुँडिखेलमा स्थानीय व्यवसायीले पिङ हालेको होटल व्यवसायी किसान प्रधानले जानकारी दिए। ‘दसैँमा पिङ खेल्ने परम्परालाई बचाउन यो वर्ष टुँडिखेलमा पिङ बनाएका छौं’, प्रधानले भने।
व्यास नगरपालिका–५ भुपटोलका कृष्णकुमार श्रेष्ठले पनि व्यक्तिगत लगानीमा पिङ निर्माण गरेका छन्। पछिल्लो समय लोप हुँदै गएको पिङको संरक्षण र यसको महत्वलाई उजागर गर्नका लागि व्यक्तिगत लगानीमा पिङ हालेको उनले जानकारी दिए। ‘आधुनिकतासँगै यस्तो पिङ आजभोलि देख्न पाइँदैन’, उनले भने, ‘यसको संरक्षणका लागि पनि पिङ बनाएको हुँ।’
पिङ निर्माणका लागि डेढ लाख खर्च भएको छ। नेपालीहरुको महान चाडमा चङ्खे पिङ हालेर सस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासी प्रेमकुमार श्रेष्ठले बताए।