सुजता लिम्बू
विराटनगर । किराँतहरुको महान पर्व चासोक तङनाम अर्थात ‘न्वागी पूजा’ विराटनगरमा धुमधाम साथ मनाएका छन् ।
आफ्नो थातथलो छोडेर विराटनगर बसोबास गर्दै आएर संगठित भएका किराँत राई यायोक्खा, याक्खा छुम्मा र किराँत याक्थुङ चुम्लुङले विभिन्न कार्यक्रमको आयोजना गरि उधौली पर्व अर्थात चासोक तङनाम मनाएका हुन् ।
विषेश गरेर पूर्वी पहाडी जिल्लामा बसोबास गर्ने राई, लिम्वू, सुनुवार र याक्खा जातिले मंसिर पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने प्रचलन रहेको छ ।
विराटनगरमा रहेका चुम्लुङ हिम ( चुम्लुङ भवन) किराँत मन्दिरहरुमा पूजा गर्ने साथै सांस्कृतिक नृत्य लिम्बू जातिको धान नाच, केलाङ नाच, राईको साकेला साथै याक्खा जातीको डोकेनी नाच पनि नाचिएको थियो ।
प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दूहरुले धान्य पूर्णिमा, किराँत याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उधौली पर्वका रुपमा मनाउने गर्छन् ।
बिशेषतः यो पर्व किराँतहरुको वाहुल्यता रहेका ताप्लेजङ, पाँचथर, इलाम धनकुटा, तेहथुम, संखुवसभा, झापा, मोरङ र सुनसरी तथा काठमाडौं उपत्यकामा भव्यताका साथ मनाउने गरिएको छ ।