सडक नबनेपछि विराटनगर आए बराहक्षेत्रका स्थानीय

<span class='c1'>सडक नबनेपछि विराटनगर</span> <span class='c2'>आए बराहक्षेत्रका स्थानीय</span>

विराटनगर । दुईवर्षमा निर्माण सम्पन्न हुनुपर्ने गरि सम्झौता भएको सडकको काम रोकिएपछि ठेकेदारलाई कारवाही माग गर्दै सुनसरीको बराह क्षेत्रका स्थानीयले प्रदेश १ को सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

बराह क्षेत्रको महेन्द्रनगर र धरान जोड्ने १३.७ किलोमिटर सडक २०७८ भदौ १२ गते सम्पन्न हुनुपर्ने थियो । आर्थिक वर्ष २०७५-२०७६ को बजेट अन्तर्गत २०७६ भदौ १२ गतेदेखि निर्माण सुरु गर्ने सम्झौता ठेकेदार कम्पनीसँग भएको थियो । लुम्बिनी गजुरमुखी जेभीले ३७ करोड २३ लाखमा ठेक्का पाएको सडकको काम सुस्त भएको भन्दै स्थानीयले मंगलबार मन्त्रालयको ध्यानाकर्षण गराउँदै कारवाहीको माग गरेका हुन् ।
बराह क्षेत्र नगरपालिका अन्तर्गत महेन्द्रनगर, बाङ्गे, हर्दिया, कालाबन्जार, तिनकुने, भलुवाचौरी हुँदै धरानसम्मको दुरी निर्माणाधिन सडकले तय गर्दछ । ठेकेदारसँग सम्झौता हुँदा दुईवर्षमा निर्माण सम्पन्न गर्ने भनिएपनि कोभिड–१९ संक्रमणका कारण सरकारले एकवर्ष म्याद थप गरेको थियो । सार्वजानिक खरिद नियमावलीको बाह्रौं संशोधनपछि सडक निर्माणको म्याद २०८० असार १२ गतेसम्म थपिएको छ ।

म्याद थप भएको अवधीमा समेत सडक निर्माण संभावना नदेखिएपछि आजित भएका स्थानीयले मन्त्रालयको ध्यानाकर्षण गराउन बराह क्षेत्रबाट गाडी नै रिजर्भ लिएर विराटनगरका आएका थिए । बराह क्षेत्र नगरपालिका ५ का कालिदास रेग्मीले सम्झौता अनुसार काम नगर्ने ठेकेदारलाई कारवाही नगर्ने सरकारी संयन्त्रको समेत मिलेमतो देखिएको आरोप लगाउनुभयो । उहाँले सरकारसँग भएको सम्झौता पालना नगर्ने कम्पनीका प्रोपाइटर दिपक गौतमको प्रभावमा इन्जिनियर, मन्त्रालयका सचिव र मन्त्री समेत परेको दावी गर्नुभयो ।
यसैगरी अर्का स्थानीय देवेन्द्र विष्टका अनुसार सम्झौता अनुसारको १३ किलोमिटरमध्ये ६ किलोमिटर दुरीमा ड्रेन, पर्खाल, सडक बेसको काम गरिएको छ । त्यस बाहेक ७ किलोमिटर दुरीको काम थालिएको छैन । ६ किलोमिटर दुरीमा प्रारम्भिक चरणको काम सकेपछि असार यता ठेकेदार पुनः फर्केका छैनन् ।

सडक सेवा क्षेत्रका नागरिकले मन्त्रालयका सचिव असोककुमार साहलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझाएका छन् । सचिव साहले बारम्बार ठेकेदारलाई पत्राचार गर्दा समेत नटेरेकोले अब कालोसूचिमा राख्ने प्रक्रिया थाल्ने आवश्वासन दिनु भएको छ । सम्झौता भएका ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ प्रक्रियाको थालनी गर्दा उक्त सडकको काम सुरु हुन छ महिना बढी लाग्नेछ ।

सडकको सेवा क्षेत्र भित्र ६ वटा विद्यालय रहेका छन् । सरकारी र निजी विद्यालयमा आउजाउ गर्ने विद्यार्थीले दैनिक धुलो भित्र रुमलिनु पर्ने अवस्थाले कष्टकर अवस्था भोग्नु परेको गुनासो छ । बराह क्षेत्र १ घर भई जडेजा माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी दिनेश खत्रीले सरकारी बजेटमा निर्माण भईरहेको सडकको काममा ठेकेदार हावी भएको देख्दा आफैंलाई छक्क लागेको बताउनुभयो । उहाँले सर्वसाधारणले सास्ती पाईरहेको देख्दादेख्दै ठेकेदारले काम नगरेकोले तत्काल कारवाही गरेर नयाँ प्रक्रियाको थालनी गर्नुपर्ने बताउनुभयो ।
प्राविधिक लागत अनुसार सडकको केन्द्रभाग ५ दशमलव ५ मिटर चौडाई पर्ने गरि कालोपत्रे गर्नुपर्ने छ । सडकको दुवैतर्फ १ दशमलव १ मिटर ‘सेटब्याक’ छोड्नुपर्ने हुन्छ । सडकको कालोपत्रे ४० एमएम, बेस २० सिएम र ग्राभेल २० सिएम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्