नयाँ सरकारलाई १९ अर्ब ५० करोड दायित्व : तीनजना मुख्यमन्त्री, नाम बिनै ओगटे कुर्सी

<span class='c1'>नयाँ सरकारलाई १९ अर्ब ५० करोड दायित्व</span> <span class='c2'>: तीनजना मुख्यमन्त्री, नाम बिनै ओगटे कुर्सी</span>

विराटनगर । नाम बिनाको प्रदेश १ सरकारले पहिलो ५ वर्षे कार्यकाल सकाएर नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदैन । आउँदो साता नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदैन । नयाँ सरकार गठन हुँदा नयाँ मुख्यमन्त्रीलाई १९ अर्ब ५० करोडको दायित्व समेत सँगै सरेर आउँदैछ ।
१ खर्ब ९ अर्ब ५६ करोड ९३ लाख ७९ हजार बजेट खर्चेको प्रदेश सरकारको विदाई र नयाँ सरकार गठनको प्रक्रिया प्रदेश प्रमुख पर्शुराम खापुङले आउँदो साता सुरु गर्नेछन् ।

प्रदेश सरकारको पहिलो कार्यकालमा तीन मुख्यमन्त्री भए । यस प्रदेशका संस्थापक मुख्यमन्त्री एमालेका शेरधन राईले पहिलो प्रदेश सरकारको नेतृत्व साढे तीन वर्षसम्म सम्हालेका थिए । त्यसपछिका दुई महिना एमालेकै भीमप्रसाद आचार्य र पछि ५ दलीय गठबन्धनको समर्थनमा नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रकुमार राई हालसम्म छन् ।

प्रदेश १ सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत प्रदेश गौरवको एक मात्र आयोजना विराटचोक–पुष्पलाल चोक चार लेन सडकको काम निर्माणाधीन छ । प्रदेश सरकारले २२.१९ किलोमिटर लम्बाइ भएको उक्त सडक पूर्वाधार विकास कार्यालय मोरङमार्फत तीन प्याकेजमा निर्माणका लागि आर्थिक वर्ष २०७५÷७६ ठेक्का लगाएर काम भइरहेको छ । उक्त सडक निर्माणका लागि श्रेष्ठ–रमण–एपेक्स जेभिले विराटचोक–नेताचोक र नेताचोक–मिलनचोक गरी दुइटा प्याकेजको १ अर्ब ३७ करोड ६६ लाख ६२ हजारमा र मिलन चोक–पुष्पलाल चोकसम्म २.१९ किलोमिटर सडक र सिंघीया खोलाको पुल निर्माणका लागि लामा–बानियाँ जेभीले ०७७ असार २९ मा ३८ करोड ३५ लाखमा निर्माण ठेक्का सम्झौता गरेर काम अघि बढाएको थियो ।

तीन वटै प्याकेजको गत आर्थिक वर्षसम्ममा १ अर्ब ४६ करोड ६६ लाख ५३ हजार भुक्तानी भएको अन्य भुक्तानी हुन बाँकी रहेको भौतिक पूर्वाधार विकास कार्यालय मोरङको तथ्यांकमा उल्लेख छ । यस मन्त्रालयअन्तर्गत उक्त सडकसहित ६३ वटा सडक, ७७ वटा मोटरेबल पुल, ३२ वटा झोलुङ्गे पुल र ५२ वटा सहरी विकास तथा भवनतर्फको आयोजनाको काम ठेक्का लागेर निर्माणाधिन छ ।

यस्तै, खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयअन्तर्गत नदी नियन्त्रणको ८, ताप्लेजुङमा एउटा पहिरो नियन्त्रण, १ सय ३ वटा सिँचाइ आयोजना र ४७ वटा भूमिगत सिँचाइ आयोजनाको काम भइरहेको छ । पर्यटन तथा संस्कृति मन्त्रालयअन्तर्गत ६८ करोड २६ लाख ६१ हजारको लागत इस्टिमेटको रंगेली नगरपालिकास्थित पर्यटकीय धार्मिक स्थल संसारी माई स्थानमा भौतिक पूर्वाधार निर्माण, विराटनगरमा मुस्लिम सामुदायिक भवन, सुनसरीको कोसी नगरपालिकामा मत्स्यगन्धा फनी पार्क र पाँचथरको फिदिम र फाल्गुनानन्द नगरपालिकामा महागुरु फाल्गुनानन्द पार्क निर्माणका लागि ५८ करोड ३४ लाख ६ हजारमा ठेक्का लागेको छ । ठेक्का सम्झौता रकममध्ये २४ करोड ५७ लाख ११ हजार भुक्तानी भएको र ४० करोड १६ लाख ९७ हजारको काम भएर भुक्तानी दिन बाँकी रहेको छ ।

सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतको २ सय २४ वटा योजनाका ३३ अर्ब ६० करोड १५ लाख ८३ हजारको ठेक्का सम्झौता भएर गत आर्थिक वर्षसम्ममा १८ अर्ब २१ करोड ६६ लाख ४९ हजार भुक्तानी भइसकेको र १५ अर्ब ३३ करोड ७९ लाख २९ हजार भुक्तानी गर्नुपर्ने दायित्व रहेको छ । उक्त योजनाका लागि चालु आवमा ४ अर्ब ९३ करोड ५४ लाख २० बजेट विनियोजन गरिएको छ ।

यस्तै, खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयअन्तर्गतको १ सय ५९ वटा योजनाको ३ अर्ब ६२ करोड २७ लाख ९६ हजारको ठेक्का सम्झौता भई गत आव सम्ममा २ अर्ब ८७ करोड ६ लाख ७२ हजार भुक्तानी भइसकेको छ । उक्त योजनाहरुको ७५ करोड २१ लाख २४ हजार दायित्व रहेकोमा चालु आवमा ४७ करोड ७२ लाख ७८ हजार बजेट विनियोजन गरिएको छ । यी तीनवटै मन्त्रालयको दायित्व रकम कन्टिजेन्सी, मूल्य समायोजन र भौतिक कन्टिजेन्सी बाहेकको ठेक्का सम्झौता रकम भएकाले कन्टिजेन्सी र मूल्य समायोजनका लागि थप १८ प्रतिशत दायित्व थप भएर कूल दायित्व रकम १९ अर्ब ५० करोडभन्दा बढी रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन र अहिलेका मुख्यमन्त्री राजेन्द्रले आ–आफ्ना काम र योजना देखाउने राजनीतिका कारण यति धेरै दायित्व नयाँ सरकारको काँधमा जाने अवस्था निर्माण भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका एक अधिकृतले बताए । मुख्यमन्त्रीहरुले बजेट विनियोजन दक्षताको अभावमा राजनीतिक स्वार्थपूर्तिका लागि जथाभावी योजना ल्याएर दायित्व थुपारेको उनले गुनासो पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्