सुजता लिम्बु
विराटनगर । झण्डै एकदशकपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसलाई स्ववियु निर्वाचनको माहोलले छोपेको छ । यसै क्रममा स्ववियुको नेतृत्व हाँक्नका लागि पार्टीले टिकट दिएर कसलाई नेतृत्व पंक्तिमा उभ्यिाउने हो भन्ने चर्चा पनि उत्तिकै चुलिएको छ ।
सभापतिको आकांक्षीमा अधिकांश पुरुषको चर्चा चलिरहँदा दावी गर्ने महिला नेृतत्व भने छैन । नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा महिला सहभागिता अनिवार्य वा ३३ प्रतिशत सुनिश्चित गरेको छ । यहि आधारलाई केन्द्रमा राखेर मोरङ क्याम्पसमा नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियूले भने ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने माग राखेका छन् ।
महिलाहरुको समान सहभागिता भन्दा पनि ३३ प्रतिशतमा अटाउनुपर्ने बाध्यताले उप, कोषाध्यक्ष या त समानुपातिकमा नै चित्त बुझाउनुपर्ने अवस्था रहेको छ । जसको कारण महिलाहरु प्रमुख पदमा पुग्नै पाउँदैनन् । शिर्ष नेताहरुले पनि महिलाको नेतृत्व क्षमतालाई नजरअन्दाज गर्ने हुँदा स्ववियु निर्वाचनको सभापतिमा महिलाले आफूलाई उभ्याउन नचाहेको अखिल क्रान्तिकारी महेन्द्र मोरङ बहुमुखी क्याम्पस कमिटी अध्यक्ष आशिका लम्साल बताउँछिन् ।
उनी स्ववियु निर्वाचनमा सचिव पदको दाबेदार हुन् । त्यसो त महेन्द्र मोरङ क्याम्पसमा स्ववियुको इतिहास देशका शिर्ष नेताहरुसँग गएर जोडिन्छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको महेन्द्र मोरङ क्याम्पससँगको सम्बन्ध विद्यार्थी राजनीतिसँग जोडिएको छ । विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा सकृय रहेकी राष्ट्रपति भण्डारी २०३७ मा महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरको स्ववियू कोषाध्यक्ष निर्वाचित भएकी थिइन् । उनले पनि त्यो समय कोषध्यक्ष पदमा नै चित्त बुझाउनुपरेको थियो । जुन प्रवृत्ति अहिले पनि परिवर्तन हुन नसकेको लम्सालको भनाई छ । महिलालाई नेतृत्व गर्न सक्दैन भन्ने सोँचलाई अबको पुस्ताले चिर्नुपर्ने आवश्यकता रहेको उनको तर्कछ ।
नेतृत्वको बाधक ‘आर्थिक’
क्याम्पसको राजनीतिमा नै पैसा भए चुनाव जित्न सकिन्छ भन्ने सोँच हावी भएको बताउने आशिका आर्थिक विपन्नताका कारण पनि महिलाहरु सभापतिमा आफूलाई उभ्याउन नसक्ने बताउछिन् । अझै पनि पितृसत्तात्मक विचारको अन्त्य भइनसकेको तर्क राख्दै उनी भन्छिन्,‘शिर्ष नेताहरुले पनि प्रमुख जिम्मेवारीमा पुरुषलाई नै प्राथमिकतामा राख्ने गरेको छ भने आर्थिक पाटो पनि अर्को कमजोरी हो ।’ महिला भएकै कारणले पनि कतिपय अवसरहरुबाट बञ्चित हुनुपर्ने गरेको उनले बताइन् ।
नेपाल विद्यार्थी संघ क्याम्पस इकाइ कमिटी सह–सचिव बन्दना कामत महिला नेतृत्वमा आफूलाई दाबी दिन नसक्नु आर्थिक प्रमुख कारक रहेको र पुरुषलाई भन्दा पनि महिलालाई नेतृत्वमा कमजोर ठान्ने हुँदा अवसरहरु चुकाउनुपर्ने बाध्यता भएको बताउछिन् । मोरङ क्याम्पसमा २०५७ सालमा नेबिसंघबाट पुजा कोइराला सभापतिको आकांक्षी थिइन् । उनी पराजित भईन् ।
स्ववियु निर्वाचन विद्यार्थीहरुको हक, हित र अधिकारका लागि सम्बोधन गर्न सक्ने एउटा नेतृत्व चुन्ने अवसरको रुपमा रहेको बताउने उनी विद्यार्थी राजनीतिमा नै पैसा हाबी हुन थालेपछि महिला नेतृत्वमा उभिन असमर्थ हुने गरेको बताउछिन् । उनी भन्छिन्,‘ अर्को कारण पार्टीको शिर्ष नेताहरुले पनि टिकट दिने समय महिलालाई भन्दा बढी पुरुषलाई प्राथमिकतामा राख्ने हुँदा हामी पछी हट्न बाध्य हुनुपर्छ ।’ उनले कुनै कदापी टिकट पाएपनि मुख्य पदमा जित्न नसक्ने बताईन् । कोइराला उप–सभापति निर्वाचित भएपनि सभापतिमा निर्वाचित हुन नसकेको स्मरण गर्दै कामतले विद्यार्थी मतदाताले विद्यार्थी महिला नेतृत्व समेत नपत्याउने बताउँछिन् ।