सुजता लिम्बू
विराटनगर । प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेशमा अशान्ति छाएको छ ।
प्रदेश १ पुनःनामाकरण संयुक्त संघर्ष समितिले विरोधका विभिन्न कार्यक्रमहरु आयोजना गरिहेका छन् । आन्दोलन र विरोधकै कार्यक्रम अन्तर्गत चैत्र ५ गते आइतबार विशाल विरोध प्रदर्शन भयो । सोही दिन स्थानीय प्रशासनले ६ बजेदेखि नै निषेधाज्ञा जारी समेत गरेको थियो । त्यसका बीच पनि कोशी नामको विरोधमा उर्लिएको जनसागर निषेधाज्ञा तोड्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय तर्फ अगाडी बढ्न सुरु गर्यो । सोही क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप पर्न सुरु भएको थियो । झडपमा दुवै पक्ष घाइते समेत भए जसमध्ये संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सह-कमाण्डर पदम लिम्बू (लाजेहाङ) को शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भयो । उनलाई प्रहरीले प्रहार गरेको अश्रुग्यासले टाउकोमा लागेर समान्य घाइते भएका थिए । टाउकोको असर दुई दिन पछि मात्रै देखिएको जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले बताए ।
उनी घटनाको प्रत्यक्षदर्शी समेत हुन् । ‘प्रहरीको लठ्ठीले भन्दा पनि उनीहरुले प्रहार गरेको अश्रुग्यासले भाईको टाउकोमा लागको थियो, ब्याट्री जस्तो हुने रहेछ त्यसले लागेर फोका उठेको थियो,‘उनले भने,‘सामान्य होला भनेर यतिकै आन्दोलनमा सरिहक भइयो तर पछि गाह्रो भएर अस्पताल जाँदा भित्र चोट परेको रहेछ ब्लड जमेको रहेछ ।’
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् लिम्बूको शुक्रबार बिहान करिब साढे २ बजे मृत्यु भएको हो।
उनलाई हेलिकप्टर चार्टर्ड गरी मेडिसिटी अस्पताल लैजाने तयारी भईरहेका बेला मृत्यु भएको किराँत याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष प्रेम याक्तेनले जानकारी दिए ।
लिम्बूको मृत्युपछि किराँत याक्थुङ चुम्लुङ, आदिवासी जनजाति महासंघ, पहिचानसहितको प्रदेश १ पुनः नामाकरण अभियान समिति, किराँत राई यायोक्खा र नेपाल शेर्पा संघले विज्ञप्ति जारी गर्दै थप आन्दोलनलाई तिव्रता दिने समेत जनाएको छ । मृतक लिम्बूलाई सहिद घोषणा गर्नुपर्ने र घटनाको जिम्मेवारी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रदेशका सांसद तथा मन्त्रीहरुलाई सुरक्षा ‘थ्रेड’
पहिचानवादी संघसंस्थाको आन्दोलनले फरकरुप लिँदै गएपछि यतिबेला कोशी प्रदेशका सांसद तथा मन्त्रीहरुलाई ‘सुरक्षा थ्रेड’ बढको छ । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलनमा उत्रिएका पहिचानवादी आन्दोलनकारी हिंसात्मक बन्दै गएका छन् । सोही कारण सांसदहरु आफ्नो निर्वाचन क्षेत्र जान डराएका हुने । प्रदेशसभा गठन भएको ५ वर्ष वितिसक्दा पनि पहिलो कार्यकालमा प्रदेशले नाम पाउन सकेको थिएन । दोस्रो कार्यकालको सुरुवाती यात्रामा नै प्रदेशको नाम राख्न सफल भए पनि दैनिक जस्तो हुने आन्दोलनले तनाव थपिएको छ।
आफूहरुको मागलाई बेवास्ता गर्दै छापामार शैलीमा प्रदेशको नाम राख्नु खेद जनक रहेको र यो आन्दोलन र यसबाट हुने क्षती मुख्यमन्त्रीसहित ८२ जना सांसदले जिम्मा लिनुपर्ने संयुक्त संघर्ष समितिका प्रतिनिधिहरुको भनाई छ ।
पहिचानको पक्षमा मत नदिएकै कारण प्रदेशले पहिचान विरोधी नाम पाएको सांसदहरुको तर्कको कुनै तुक नरहेको समेत बताउदै उनीहरु भन्छन्,‘राजनीतिक दलहरुले आफूहरुको आन्दोलनलाई कम्जोर सम्झेर अगाडी बढ्नु नै गलत हो ।’
दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम ‘कोशी’ राख्न सफल प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरू मुख्यमन्त्री कार्की र पूर्व आर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई भएको आक्रमणले पनि आफ्नो जिल्ला टेक्न सकस भएको हो ।
मुख्यमन्त्रीको अभिव्यक्तिले चर्किएको आन्दोलन
आइतबार विराटनगरको सडकमा आन्दोलनकारी र प्रहरीबीच झडपको अवस्थामा पुग्दा मुख्यमन्त्री कार्कीले ओखलंढुंगामा पुगेर नामकरणको विषयमा छलफलसमेत नहुने अभिव्यक्ति दिएका थिए । जनु अभिव्यक्ति कै कारण आक्रोशित आन्दोलनकारीले सोमबार मुख्यमन्त्री कार्कीलाई ओखलढुङ्गामा कालो झण्डा देखाएका थिए । प्रदेश सभाका ९० प्रतिशत सांसदको समर्थनमा ‘कोशी’ नामकरण भएको भन्दै अब त्यसबारे कुनै छलफलसमेत नहुने बताएका थिए । भने मंगलबार ताप्लेजुङ पार्टीको कर्यक्रममा पुगेका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई ज्यान मार्ने धक्दी दिँदै आक्रमणको प्रयास गरेका थिए ।
नामाकरणपछि निर्वाचन क्षेत्रमा जान असहज बनेको सांसदहरु नै बताउछन् ।