सुजता लिम्बु
विराटनगर । ‘दाई ढलेको दश दिन भयो, अझै शव घर ल्याउन सकेका छैनौ ।’ पदम लिम्बू (लाजेहाङ) की जेठि बहिनी पवित्रा लिम्बू लामो स्वास फेर्दै सुनाउछिन्–राज्यले सहिद घोषणा नगरेसम्म दाई शव नउठाउने परिवारको अडान छ ।
लामो समयदेखि पहिचानको मुद्दा बोकेर हिँडेको र पहिचानको पक्षमा लड्ने क्रममा बलिदानी गरेकाले दाईलाई राज्यको तर्फबाट सहिद घोषणा नगरेसम्म दाहसंस्कार नगर्ने उनी बताउछिन् । गत चैत्र ५ गते कोशी प्रदेश नाम खारेजीको माग राख्दै विराटनगरमा भएको आन्दोलनमा पदम घाइते भएका थिए । उनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत्र १० गते उपचारको क्रममा मृत्यु भएको थियो ।
घरको जेठा छोरा कहिल्यै नफर्किने बाटो जाँदै गर्दा, यता परिवारको जिम्मेवारीको बलियो खम्बा ढलेको छ । परिवारको रेखदेख, जिम्मेवारी सबै पदमको काँधमा रहेछ, उनको मृत्यु भएसँगै परिवारको जिम्मेवारीको गहकिलो भारी बहिनी पवित्राको काँधमा आएको छ ।
आन्दोलनले एउटा योद्धा मात्रै गुमाएन परिवारले एक्लो छोरा, चारजना चेलीले एक्लो माइती गुमाउन परेको पवित्रा सुनाउछिन् । ‘कान्छि आमाको दुईजना मात्रै बहिनी हामी दुई दिदीबहिनी र दाई मात्रै हो,’ उनले भनिन्,‘परिवारको जिम्मेवारी दाईको काँधमा थियो, अहिले म सम्हाल्दैछु, हामीले एक्लो माइती गुमाएका छाँै ।’
दाईको मृत शरिर घर ल्याउने सन्दर्भमा उनी आफ्नो दाईको कोशी खारेजी मागको आन्दोलनमा ज्यान गुमाएको कारण पार्टीको धारणा र राज्यको घोषणाले निर्धारित गर्ने उनी बताउछिन् ।
‘गुमेको पहिचानको लागि दाईले आन्दोलनको क्रममा ज्यान गुमाएको हो, दाईको इच्छाको कुरा पनि रहन्छ र पार्टीको धारणा पनि आउनु पर्ने हुन्छ,’ उनी सुनाउछिन्,‘जबसम्म राज्यले सहिद घोषणा गर्दैन हामी उहाँको लास उठाउदैनौ’ यतिका दिनसम्म एक्लो माइतीको मृत शरिर ‘शव गृह’को आइसमा राख्ने रहर भन्दा पनि बाध्यता रहेको बताउने उनी राज्यको सकारात्मक घोषणाको पर्खाइमा रहेको सुनाउछिन् । उनको परिवारको अनुसार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रिय सह–कमान्डर रहेका मोरङ बेलबारी लालभित्तिका ४२ वर्षिय लिम्बू झण्डै दुई दशक देखि यही पार्टीमा आवद्ध छन् ।
्,‘दाईको करिब २० वर्षको उर्जाशिल उमेर र बचेको समय यही पार्टीमा लगानी भएको छ, उहाँको मृत्यु आन्दोलनकै क्रममा भयो रहर कसलाई हुन्छ एक्लो मइतीको लास घरको न घाटको बनाउने ? उनले भननिन्,‘पार्टीले हामी छौँ भनेका छन्, अब सरकारको सकारात्मक घोषणाको पर्खाइमा छौँ, त्यसपछि हाम्रो संस्कार, संस्कृति अनुसार सदगद गर्छौँ ।’
त्यसो त कोशी प्रदेश सरकारले लिम्बूको परिवालाई तीन लाख राहत दिने निर्णय गरेको पनि छ । मुुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा १३ गते बसेको बैठकले तत्कालका लागि तीन लाख दिने घोषणा गरेको छ । तर प्रदेश सरकारको निर्णय प्रति उनको परिवारले असन्तुष्टि व्यक्त गरेका छन् ।
उमेरले नेटो काटीसकेको बुवाआमा हुर्किदै गरेको चेलीहरुलाई एक्लो बनाएर पहिचानको लागि कहिल्यै नउठ्ने गरी ढल्दै गर्दा दाईको मूल्य तीन लाख मात्रै नभएको पवित्राले दुखेसो सुनाइन् । दाईको वियोगले विक्षिप्त बनेकी उनी आफू सम्हालिदै र परिवारलाई समेट्दै घरीघरी राज्य प्रति आक्रोश व्यक्त गर्दै प्रश्न गर्छिन् ‘मेरो दाई कुखुराको चल्ला हो र ? दाईको तीन लाखको ज्यान हो ? चल्लाको पनि बजारमा महंगो भाउ छ, मेरो दाईले त अधिकारको युद्धमा ज्यान गुमाएको हो ।’
आफूहरु सरकारको निर्णय प्रति असमहति रहेको बताउदै उनी कि दाईको ज्यान फिर्ता दिनुप¥यो या सहिद घोषणा गर्नुेपर्नेमा जोड दिन्छिन् । उनले सरकारले त्यहि आन्दोलनमा मृत्यु भएका व्यक्तिको परिवारलाई राहत दिने निर्णय गरेर आन्दोलन स्वीकार गरेपनि एजेण्डा अस्वीकार गरिरहेको बताएकी छिन् ।