लिम्बू समुदायको संस्कार पढ्न सकिने पुस्तक हो ‘जारी’

<span class='c1'>लिम्बू समुदायको संस्कार पढ्न</span> <span class='c2'>सकिने पुस्तक हो ‘जारी’</span>

सुजता लिम्बू
विराटनगर । ‘जारी’ शब्द म बाल्यअवस्थामा हुँदा बुवाआमा गफिदा सुनेको बाहेक मैले यथार्थमा देखेकी थिइन । बाआमाले नजिकबाट देखेका जारीका कथनहरु खुबै गर्नुहुन्थ्यो तर चासोका साथ मैले कहिल्यै सोध्ने चेस्टा गरिन । जब कवि एवम् लेखक उपेन्द्र सुब्बाद्धारा निर्देशित चलचित्र जारी हेरर अनुमान लगाए यो केबल चलचित्र मात्रै होइन हामी जस्ता लिम्बू संस्कार र संस्कृति नजान्नेहरुका लागि एउटा पुस्तक हो ।

बुवा लिम्बू र आमा याख्खा दुई समुदायबीचको अन्तरघुलन भएर पनि मैले र मेरो भाईले दुवै तिरको संस्कार सिक्ने अवसर पाएनौँ । बुवा संखुवासभा जिल्लाको चैनपुरमा मिश्रित समुदायमा हुर्किनुभयो हामी सदरमुकाम खाँदबारी नेवारको बाहुल्यता भएको ठाँउमा हुर्किएका हाँै । मेरो परिवारका सबै सदस्य आफ्नो भाषा र संस्कारबाट टाढा नै छन् । त्यसैले पनि जारी मेरो लागि एउटा विद्यालयमा समावेश गरिएको पुस्तक झैँ महुशस भएको हुनुपर्छ । मौलिकतालाई टपक्क टिपेर चलचित्र मार्फत लिम्बू समुदायको संस्कारलाई समावेश गर्नु उपेन्द्र सुब्बाको खुबी बढो गज्जब लाग्यो ।

त्यसैमा प्रेम, घृणा, अपमान, सम्मान त्याग र समर्पण साथै विश्वासलाई जोडेर एक दम्पतिको विछोड र मिलनको कथालाई सरल तरिकाले जोड्नु अहिलेको पुस्ताका लागि प्रेमको परिभाषा पनि बुझाउन खोजिएको जस्तो अनुभूति भयो । धान नाच, त्यसमा पनि पालम गाएर जितेर आफ्नो बनाउनुपर्दा जारी तिर्नुपर्ने बाध्यता र बिग्रिएको सम्बन्धलाई चलचित्रमा देखाइएको छ । कथाका पात्र र त्यो अनुसारको ठाँउ, भेसभुषा र संवादले पर्दामा हेरिएको चलचित्र भन्दा पनि पूर्वी पहाडी जिल्ला पाँचथरको कुनै भेगमा बसेर समाजलाइ नियालिरहेको झैँ महसुस गराउन सक्नु उपेन्द्र सुब्बाको निर्देशन यात्रामा डेब्यु हो भन्ने लाग्दैन ।

कथा सुरु हुँदा देखि कहिले हाँसेर त कहिले रोएर चलचित्र हेर्दै गर्दा कथामा समावेश भएका प्रत्येक घटनाले मन एकतमासले तानि नै रहयो । अब के होला ? भन्ने प्रश्नका तिरले मनमा प्रहार नगरेको पनि होइन । त्यसो त लिम्बू समुदायमा जारी विद्रोहको एउटा रुपमा पनि लिन सकिन्छ । विवाह हुँदा लिम्बू चेलीलाई सिन्दुर र पोतेको बन्धनमा बाँधिदिने चलन छैन । लगन गर्दा लिम्बू समुदायको महिलाले ओडेको घुम्टोमा युप्पारुङ (पैसा जस्तो सिक्का) बाँधिदिइने चलन छ । युप्पारुङ महिलाहरुलाई दिइने स्वतन्त्रताको अधिकार रहेको भन्ने बुझिन्छ । आफूलाई श्रीमानसँग चित्त नबुझे या बस्न मन नपरे युप्पारुङ श्रीमानको निधारमा फालेर आत्मनिणर्य लिन सक्ने अधिकार दिइएको हुन्छ । नामसाङ(दयाहाङ) र हाङ्मा ( मेरुना मगर) को विवाह भएको पाँच वर्षसम्ममा पनि बच्चा नहुँदा उत्पन्न भएको विवाद नै झगडाको मुख्य कारण चलचित्रमा देखिएको छ । श्रीमानश्रीमतीको विवाद मात्रैले भन्दा हाङमा माथि नामसाङले उठाएको लात्तिले दर्शकको मनमा श्रीमान प्रति आर्कोश श्रीमती प्रति दयाको भाव उत्पन्न हुन्छ । त्यही झगडाकै कारण श्रीमानको निधारमा युप्पारुङ फालेर माइत जाँदाको दृष्य आफूमाथि भएको अन्याय विरुद्धको विद्रोह आदिवासी महिलाहरुले गर्न सक्छन भन्ने विषय कथामा समावेश गर्न खोजिएको छ ।

धनी र गरिब बीचको खाल्डोमा माइतीले तिर्न नसकेको जारी रकम र पुनः आफ्नै पूर्वपतिको घरमा गोठालो बस्नुपर्दाको बाध्यतालाई कथाले बगाएको नदीको धारमा एकतमासले बगेको छ । जारी तिर्न नसकेर गोठालो बस्न आएको हाङ्माको सहनशिलता र मौनताले विस्तारै सुमधुर हुँदै गरेको सम्बन्धले जात भित्रको संस्कार मात्रै नभएर प्रेम निभाउने संस्कार पनि चलचित्रले देखाउन खोजेको छ । नामसाङ(दयाहाङ) को कठोर मनलाई हाङ्मा (मेरुना मगर) को मौनता भित्रको प्रेम र साथले विस्तारै सम्बन्धमा लागेको कालो दाग मेटाउन सफल भएको दृष्यले मन यसै तानिरहयो । झुक्न सके सम्बन्धको ठूलो खाडल पनि पुर्न सकिने रहेछ भन्ने चलचित्रले देखाउन खोजेको छ ।

लिम्बूको छोरा हुँ भन्दै आफूलाई परिचित गराउन सकस भएको मंगलसिंह (विजय बराल) को त्यो दृश्य घरिघरि धक खोलेर हसाउन सक्ने खुबी गजब लाग्यो । जात अनुसार नमिलेकोे अनुहारमा आफ्नो पहिचान खुलाउन उनलाई निक्कै सकस परिरहँदाको क्षण र आफू लिम्बू जस्तो नदेखिदा बिहे नै हुन नसकेको दृष्य त छँदै छ उनको कबड्डीको बिके बाट लिम्बूको छोरा घिमिरेको भान्जा पात्रले पनि बहुत सुहाएको छ । उनको अभिनयको विषयमा वयान गर्न शब्द खोज्न निक्कै समय लाग्छ । त्यसो त जारीमा अभिनय गर्ने कुनै कलाकारको कहीँ खोट लगाउने ठाँउ छैन । चलचित्रमा समावेश भएका पात्रहरुको कला र अभिनय एउटा पाटो छँदै छ यसमा विशेष सुन्दर बनाउने भूमिकामा ध्वनी पनि रहेको छ । सेकेण्ड, सेकेण्डमा पृष्ठभूमिमा बज्ने संगितले चलचित्रको सुरु देखि अन्तिमसम्म मिठास छाएको छ । झुमा लिम्बू र गंगा थापाको संगितले चलचित्रलाई एउटा जिवन्त राख्ने महत्वपूणर् भूमिका खेलेको छ ।
हाङ्माको दोश्रो पति रोय श्रेष्ठको अन्तिम दृष्य अलिक हातारमा भए झैँ लाग्यो ।

चलचित्रको कथाको सुरुवात नै पालमबाट हुन्छ । हाङ्माले पालम (वचनमा) हारेर, अर्को पक्ष अर्थात उनको दोश्रो श्रीमानको जित पछि चलचित्रको कथा सुरु हुन्छ । पालममा जितेर आफ्नो बनाइएको श्रीमतीलाई त्यही पालममा हारेर चुपचाप फर्किनु कथाको माग थियो या जित्ने कोसिस नै नगरी हार बेहोरेको भन्ने दृष्य खड्किने विषय रहयो । कविता मार्फत सशक्त प्रस्तुत हुने उपेन्द्र सब्बा पहिलो पटक चलचित्र मार्फत दमदार ढंगले प्रस्तुत भएको छन् । चलचित्र मार्फत लिम्बू समुदयाको संस्कार, संस्कृति र भाषालाई दस्तावेजीकरण गर्ने जमर्को गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्